Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि उत्पादनमा जिल्लामै अब्बल स्थानीय तह बन्दै पाणिनी

कृषि उत्पादनमा जिल्लामै अब्बल स्थानीय तह बन्दै पाणिनी


पोसकान्त पोखरेल
बुटवल, जेठ २९
अर्थतन्त्रको प्रमुख स्रोतको रूपमा चिनिने कृषि क्षेत्रको विकासमा संघीयता आएसँगै धेरैजसो स्थानीय तहहरू सक्रियरूपमा लागेका छन् । कृषि उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्न सके आर्थिक विकासमा ठूलो योगदान पुग्ने स्थानीय अधिकारीहरूको सकारात्मक बुझाइले स्थानीय तहहरू कृषिलाई प्राथमिकता दिन थालेका हुन् । पछिल्लो समयमा कृषि पेसाप्रति आकर्षण बढ्दै जाँदा कृषि उत्पादन पनि वृद्धि हुँदै गएको छ ।

त्यस्तै पाणिनी गाउँपालिका अर्घाखाँची पनि कृषि उत्पादनमा जिल्लामै अब्बल स्थानीय तहको रूपमा चिनिन थालेको छ । तीन नगरपालिका र तीनवटा गाउँपालिका गरी छवटा स्थानीय तह भएको अर्घाखाँचीको पाणिनी गाउँपालिकामा धान, गहुँ, मकै, तरकारी, दूध, मासुमा पूर्णरूपमा आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिए । गौतमका अनुसार तरकारी, सुन्तला, दूध, अण्डा, मासुलगायतका केही कृषि उत्पादनहरू निर्यात भैरहेका छन् ।

सुन्तला र तरकारी सबैभन्दा बढी निर्यात हुन्छ । सुन्तला मात्र वार्षिक छ करोड रूपैयाँभन्दा बढी हुन्छ भने दुई करोड ५० लाखभन्दा बढीको तरकारी वर्षेनी निर्यात हुने गरेको छ । तीव्र गतिमा कृषि उत्पादन र उत्पादकत्व बढाउन गाउँपालिकाले सक्दो प्रयास गरिरहेको बताउँदै अध्यक्ष गौतमले व्यावसायिकरूपमा पशुपालन र कृषि गरिरहेका कृषकहरूलाई विभिन्न प्रोत्साहनका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको बताए । जबसम्म कृषि क्षेत्रको विकास गर्न सकिँदैन तबसम्म आर्थिकरूपमा बलियो बन्न नसकिने बताउँदै उनले उत्पादनमा आधारित अनुदान, बीउबिजन वितरण, सिँचाइको प्रबन्ध, हावापानीअनुकूलको व्यावसायिक खेती प्रणाली, कृषि उपकरण वितरण, गोठ तथा खोर सुधारका कार्यक्रमहरू, कृषिसम्बन्धी तालिमलगायतका उत्पादन र उत्पादकत्व वृद्धिसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको बताए ।

उर्वर जमिन बाँझो राख्नु हुँदैन भन्ने सोचको क्रमशः विकास हुँदै गएको बताउँदै अध्यक्ष गौतमले कृषि उत्पादन वृद्धि हुन नसक्नुमा सरकारको मुख्य कमजोरी रहेको जानकारी दिए । उनले भारतबाट आयातित तरकारी र खाद्यन्नमा सरकारको कमजोर कर नीतिले नेपाली कृषकहरू मर्कामा परेर लागतअनुसारको मूल्य नपाएको बताउँछन् । उनले भने, ‘भारतबाट आउने तरकारीमा सरकारले कर बढाउन नसक्दा नेपाली उत्पादनले आफ्नै देशभित्र राम्रो बजार पाउन सकेका छैनन् । जसकोमा जुन वस्तु सस्तो हुन्छ उपभोक्ता पनि त्यसैका पछाडि लाग्दछन् ।’ भारतबाट आयातित उत्पादनमा भान्सार शुल्क कम हुँदा नेपाली बजारमा नेपाली उत्पादनको भन्दा भारतीय उत्पादनको मूल्य कम छ । लागत मूल्य कम भएपछि बजार मूल्य पनि कम हुने हुँदा नेपाली उत्पादनको हिसाबमा भारतीय उत्पादनको बिक्रीदर बढ्दो भए पनि नेपाली उत्पादनको बिक्रीदर बढ्न सकेको छैन ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया