Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिटमाटरको उचित मूल्य नपाउँदा किसान मर्कामा

टमाटरको उचित मूल्य नपाउँदा किसान मर्कामा


आशिष बहादुर सिंह
बझाड. ।
थलारा गाउँपालिका–४ मोयलका किसानले बारीभरि टमाटर फलाएका छन् । तर, उनीहरू आफूले उत्पादन गरेको टमाटरले उचित मूल्य नपाएपछि चिन्तित हुन थालेका छन् । सदरमुकाम चैनपुरलगायतका स्थानीय बजारहरूमा आयातित टमाटर सस्तो हुन थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन् ।

प्रतिस्पर्धा गर्न नसक्दा घाटा खाएरै व्यापार गर्नुपरेको किसानहरूको गुनासो छ । बजारमा आयातित टमाटर प्रतिकिलो एक सय ५० रूपैयाँमा बिक्री भइरहेको छ । तर, स्थानीय किसानहरूले उत्पादन गरेको टमाटर अहिले प्रतिकिलो मुस्किलले एक सय २० रूपैयाँमा मात्रै बिक्री गर्नुपर्ने बाध्यता छ । किसानहरू चिन्तित हुँदै भन्छन्, ‘यहाँका व्यापारीले सस्तो माल आयो भने बाहिरकै किन्छन्, अर्गानिक समान चिन्दैनन् ।’

उत्पादन बढी, जिल्लाबाहिरका बजारमा निकासीको समस्या, बाहिरबाट आयातित टमाटर स्थानीय बजारमा भित्रिनु, कच्चा पदार्थको रूपमा प्रयोग गर्न नसक्नु तथा मूल्य श्रृखंलाका कार्य गर्न नसक्दा टमाटरमा व्यापक समस्या आएको छ । मिहिनेतअनुसार बजारमूल्य नपाउँदा टमाटर खेती गर्ने किसानहरू मर्कामा परेका छन् । बाहिरबाट आएको टमाटर बजारमा प्रतिकेजी एक सय ५० मा बिक्री भइरहँदा मोयलमा उत्पादन भएको टमाटर व्यापारीले मुस्किलले एक सय २० रूपैयाँ दिने गरेको थलारा गाउँपालिका–४ मोयलका स्थानीय कृषक पदम विष्टले बताए ।

‘बारीमा लटरम्म टमाटर फलेका छन् । धेरै दिन राख्दा कुहिने डर हुन्छ । बजार लियो मूल्य पाइँदैन । बजार टाढा भएकाले घरमै किन्न कोही आउँदैनन् । बिक्रीवितरणमा असहज भएपछि टमाटर बारीमै कुहियो । स्थानीय सरकारले बजार व्यवस्थापन गरिदिए राम्रो हुने थियो,’ अर्का किसान गजेन्द्रबहादुर ओलीले भने, ‘यहाँका किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरूले बजारमूल्य पाउनै समस्या भएको छ ।’ उनले व्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया