Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसोलुमा पनि भारतीय तरकारीको प्रभुत्व !

सोलुमा पनि भारतीय तरकारीको प्रभुत्व !


सोलुखुम्बु । सोलुखुम्बु पनि तरकारीमा परनिर्भर बनेको छ । जिल्लामा खपत हुने झण्डै ९० प्रतिशत तरकारी भारत तथा तराईका जिल्लाहरुबाट आयत हुने गरेको पाइएको हो । जिल्ला सदरमुकाम सल्लेरी, नेचासल्यान, थुलुङ दुधकोशी, सोताङ, महाकुलुङ, खुम्बु क्षेत्रका स्थानीय हटिया तथा तरकारी पसलमा बाहिरी जिल्लाबाट आयत गरिएको तरकारीकै बढी प्रभुत्व रहेको छ ।

पछिल्लो समय जिल्लामा तरकारी आयात दोब्बरले बढेको तरकारी व्यवसायी सुरज बस्नेतले बताए । उनले भने, ‘स्थानीय उत्पादन कम छ, तरकारी खाने मान्छेको संख्या बढी छ, बाहिरबाट आयात गर्नुको विकल्प छैन ।’ केही मात्रामा काठमाडौंको कालीमाटीबाट र बढी मात्रामा तराईका जिल्लाबाट अहिले ट्रकका ट्रक तरकारी जिल्ला आउने गरेको व्यापारीहरु बताउँछन् । तराईबाट आउने तरकारीमा जुकुनी, फर्सी, सिमी, टमाटर, प्याजलगायतका रहेको व्यवसायी महेश अधिकारी बताउँछन् । जिल्लामा खेतीयोग्य जमिन बाँझिदै गएको छ भने तरकारी उत्पादनमा परनिर्भर हुने क्रम बढिरहेको स्थानीय बताउँछन् । गाउँघरका पसलमा पहिला स्थानीय उत्पादनले भरिभराउ हुन्थ्यो तर अहिले बाहिरबाट आएका तरकारीहरु बढीमात्रामा बिक्री हुनेगरेको सल्यानकी बबिता कार्कीले बताइन् ।

उनले भनिन्, ‘अहिले तरकारी सबै बाहिरबाट आउँछ, यहाँ बस्ने कर्मचारी कामदार सबैले बाहिरको तरकारी प्रयोग गर्छन् ।’ जिल्लाका धेरैजसो स्थानीय तहले स्थानीय उत्पादनलाई बढवा दिन भन्दै विभिन्न कृषि आयामका काम गरिरहेका छन् । तर प्रतिफल भने सन्तोषजनक नदेखिएको व्यवसायी तिलक राईले गुनासो गरे । ‘कृषिमा अनुदान आउँछ तर झोले किसानले कागजको भरमा खान्छ, उत्पादनशील क्षेत्रमा प्रयोग हुँदैन । यही अवस्था रहिरहे अब सोलुखुम्बुले तरकारी उत्पादनको साख गुमाउने निश्चित छ’, उनले भने । जिल्लाका अधिकांश उर्वर भूमि अहिले बाँझै छन् । काम गर्ने जनशक्ति नहुनु र व्यावसायिकरुपमा तरकारी उत्पादन गर्नेको संख्या न्यून हुनु यसको कारण रहेको व्यवसायी बताउँछन् । स्थानीय तहको प्राथमिकतामा कृषि परे पनि ९० प्रतिशत तरकारी बाहिरबाट आयात हुनु दुःखद पक्ष रहेको स्थानीय सुरेश खड्काले बताए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया