२०४६ सालपछि बनेका सबै सरकारहरूबाट वाक्क र दिक्क भइसकेका जनतामा निराशा अझै हट्न सकेको छैन । पञ्चायतकालमा राम्रा–राम्रा मन्त्रालय सम्हालेका एक नेताले बहुदलीय व्यवस्थामा पनि राम्रै मन्त्रालयहरू सम्हाले । अहिले चौरासी पूजा गर्ने बेलामा बर्बराउँदै भन्छन्, ‘अब भ्रष्टाचार छानबीन गरौँ’ जनतालाई दिग्भ्रमित हुनेखालका अभिव्यक्ति दिने यस्ता नेताहरू उनी मात्र होइनन् । उनी त एक प्रतिनिधि पात्रमात्र हुन् । पदमा रहँदा सत्ताको दुरुपयोग गर्दै पुस्तौँ पुग्नेगरी कमाएको धनसम्पत्ति ठेगान लगाउने अनि अहिले आएर नौटंकी गर्ने नेताहरूबाट जनता बेलैमा सजग हुनु जरुरी छ ।
यता कृषि अनुसन्धान परिषदको भव्य भवन, उता खेतबारी बाँझो:
कृषकहरूको भलो हुने, उनीहरूलाई सुविधा दिने उद्देश्यले गठन भएको कृषि मन्त्रालयको आँखा गाउँ–गाउँमा रहेका बाँझो खेतबारीतर्फ गएको देखिँदैन । मन्त्रालयअन्तर्गतको कृषि विभाग छुट्टै छ भने जिल्ला–जिल्लामा कृषि ज्ञान केन्द्रहरू छन् । यता सिंहदरबार अगाडि कृषि अनुसन्धान परिषदको भव्य भवन बनिसकेको देखिन्छ । देश पछिल्लो समयमा कृषि प्रधान देश होइन कि कुर्सीप्रधान देश भइसकेको आभास पाइन्छ । कृषि उपजको कारोबारमा बिचौलियाहरूको बिगबिगी, व्यापारीहरूमाथि आरोप एकातिर देखिन्छ र उपभोक्ताहरूले व्यहोर्नुपर्ने महंगीको समस्यातर्फ कृषि निकायहरूको आँखा खुलेको छैन । तरकारी–फलफूल संकलन र बिक्री वितरण असन्तुलित अवस्थामा छ, ‘जसले जे गरे हुने’ भइरहेको छ यहाँ ।
स्वास्थ्य मन्त्रालयको ढोकैमा फोहोरैफोहोर :
जेन–जीले आगजनी गर्नुभन्दा केही महिना अघि एक दिन काम विशेषले यो लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवेश गरेको थियो । त्यहाँ प्रवेश गर्नुभन्दा पहिले ढोका छेउँमा रहेको फोहोरमाथि मेरो नजर ठोक्किएको थियो । जनस्वास्थ्यसँग सरोकार रहेको एउटा निकाय अर्थात् मन्त्रालयको ढोकैमा अशोभनीय अवस्था देख्दा देशको हालत झल्किएको थियो । प्रवेशद्वारको बायाँपट्टी पुराना बोतल, झारहरू, अन्य फोहोर वस्तुहरू देखिने लगायत अन्य घिनलाग्दा दृश्य देखिएको थियो । मन्त्रीको कार्यकक्ष बाहिरको सचिवालयमा भने सुकिलामुकिला मान्छेहरूको ओहोरदोहोर भइरहेको देखिन्थ्यो । सायद कमाउ अड्डामा जान हाकिमहरूको तछाडमछाड भइरहेको थियो । साथै ठेक्कापट्टा हात पार्नेहरूको जत्था थियो भनेर अन्दाज गर्न सकिन्थ्यो त्यहाँ । स्वकीय सचिवको मोबाइलले एकछिन पनि फुर्सद पाएको देखिदैनथ्यो । सचिवालयमा मन्त्रीका विश्वासपात्रको रुपमा काम गर्ने म्यादी कर्मचारीको चर्तिकलाहरू बेग्लै देखिन्थ्यो । निजामती स्थायी कर्मचारीहरूको केही लाग्दैन मन्त्रालयका मन्त्रीको सचिवालयमा । पार्टीको निर्देशन नेताका दबाबका कारण नेपालको प्रशासन क्षेत्र वा कर्मचारीतन्त्र नै धरापमा छ ।
विदेशीको देखासिकी :
हाम्रो समाजमा विगत सदियौँदेखि कायम रहेका कतिपय संस्कृति, परम्परा लोप हुन जाने अवस्था छ । वर्थडेमा केक नकाट्दैमा केही पनि हुँदैन, यसो भन्दैमा जन्मदिनमा केक नकाट्नु भनेको चाहिँ होइन । स्वतन्त्रता सबैलाई चाहिन्छ । विवाहमा फजुल खर्च र गहना प्रदर्शनको प्रतिस्पर्धा चल्दा हुनेखानेलाई खासै असर नगर्ला तर मध्यमवर्गीय र निम्नवर्गीयहरूलाई भने असर पर्न जान्छ । ऋण काढेर फजुल खर्च गर्ने र गहना प्रदर्शन गर्ने काम चाहिँ सामाजिक रुपमा उचित होइन । औकात वा क्षमता हेरेर खर्च र पहिरन गर्दा नै ठीक हुन्छ । पाँच रुपियाँको सिन्दुरले बिहे गर्नेहरूका बारेमा कहिँ कतैबाट पनि टिकाटिप्पणी हुनेगरेको कसैलाई पनि थाहा छैन । तडकभडक देखाउँदैमा कसैले पनि स्यावासी दिँदैन, उल्टै रिस गर्नेहरू हुन्छन् ।
भड्खालोमा पर्दै मुलुक :
परनिर्भर हुनु नै देश आर्थिक रुपमा डावाडोल हुनु हो । जिरा, मरिच, सुकुमेल, ल्वाङ, काजु, किसमिस जस्ता महंगा खालका मसलाहरू स्वदेशमा उत्पादन नै हुन नसक्ने देखिन्छ । यस्ता वस्तुहरूको उत्पादन गर्न सकिने बारे सम्बन्धित निकायले चासो दिएर अध्ययन, अनुसन्धान गरेमा र कृषकहरूलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था गरिएमा पक्कै पनि आयात गर्नुपर्ने अवस्था आउने थिएन । मकै, कोदो जस्ता अनाजहरू विदेशबाट आयात हुनु हामी नेपालीहरूका लागि अत्यन्तै दुःखको कुरा हो । पिछडिएको क्षेत्र कर्णालीको नाम भजाएर डलर खेती गर्नेहरूको संख्या त कति छन् कति यहाँ । तर कर्णालीका उपजहरूले खासै बजार नपाउनु र उतैका जनताले तीन दिन हिँडेर पाँच किलो चामल प्राप्त गर्नु एक किसिमको गलत सोचाइ बाहेक अरु केही पनि हुनसक्दैन । पोषणयुक्त स्थानीय उपज उपयोग नगरेर पोषणरहित बासी चामल किन्न जान रकम र समयको बर्वादी बाहेक केही पनि हुन सक्दैन ।
प्रशन्न नेतृत्व निराश जनता :
२०४६ यता विभिन्न सरकारहरू जनताप्रति खासै उत्तरदायी हुनसकेको नपाइएपछि सरकारमा बस्ने नेताहरूप्रति जनताहरूको वितृष्णा जागेर आएको छ । जेन–जी आक्रोसपछि जनताले वैकल्पिक शक्ति खोजे जस्तो भान हुन्छ । यदि पुराना दलका नेताहरू नसच्चिए देशमा अन्यथा हुनसक्ने अवस्था नरहला भन्न सकिन्न ।
काण्डैकाण्डमा नेताहरू :
केही चर्चित काण्डहरूमा प्रभावशाली नेताहरू नै संलग्न रहने गरेको पाइएपछि पुराना पार्टीहरूप्रति जनतामा झनै अविश्वास पैदा भएको छ । जसका कारण जनतालाई निर्वाचनमा भोट दिनसमेत जाँगर नचल्ने अवस्था छ ।
भोटबैंकले बिगारेको हाम्रो राजनीति :
आध्यात्मिक/धार्मिक संस्थामा फसेपछि त्यहाँबाट उम्किन भक्तहरूलाई कठिन हुन्छ । त्यहाँ धर्मका नाममा हुने ठगीका कामहरू पनि हुने गर्छन् भन्ने हेक्का उनीहरूमा हुँदैन । भक्ति नै सत्मार्ग हो भन्नेहरूले त्यहाँ हुने नकारात्मक क्रियाकलाप प्रति ध्यान दिँदैनन् । जसलाई अन्धभक्ति पनि भनिन्छ । अहिले सबैभन्दा बढी आयआर्जन गर्ने व्यवसाय नै आध्यात्मिक/धार्मिक गतिविधि हो । त्यहाँ भक्तहरूमाथि हुने आर्थिक तथा यौन शोषणका विरुद्धमा आवाज उठाउन जो कोही चाहँदैनन् । यदि आवाज उठाइयो र उजुरी परेमा माथिमाथि मिलेर डिसमिस पार्ने गरिन्छ । किन कि त्यस्ता संस्था भनेका चुनावताका भोट बैंकको रुपमा प्रयोग हुन्छन् । धर्म भनेको जनकल्याणा र समाज कल्याण अर्थात् परोपकारी कार्य हो भन्ने कुरा धेरैले बुझेका हुँदैनन् । गरिब र असहायलाई सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म हो भन्नेतिर धेरैको ध्यान जाँदैन । बरु हाम्रा बाबा वा गुरु भगवान्भन्दा माथि हुनुहुन्छ, तेत्तीसकोटी देवीदेवता हाम्रा गुरु वा बाबाको चरणमा बास गर्छन् भन्ने जस्ता पाखण्ड देखाएर भ्रम फैलाएर भक्तहरूबाट तन–मन–धन खिच्ने गर्दा परिवारमा मात्र होइन समाजमा नै त्यस्ता खालका मान्छे बोझको रुपमा रहन्छन् । चाहिने भन्दा नचाहिने धर्म गर्नेतिर लाग्ने अनि खास गर्नुपर्ने कर्मतिर नलाग्नेहरूको जमात समाजमा भएपछि मुलुक कसरी उभो लाग्छ? बेरोजगारहरूको बिचल्ली भएको मुलुकमा धर्मको नाममा ठगीको धन्दा मजाले चलिरहनु दुःखको कुरा हो । यस्ता संस्थाहरूको नारा एउटै हुन्छ, ‘पहिले आफूले आफैलाई चिन्नुस्, आफूभित्र पस्नुस् ........’ यस्तै यस्तै । यस्ता वाइहात कुराहरू बाँडेर ज्ञानको नाममा व्यापार गर्नहरूदेखि बेलैमा सचेत रहनुपर्छ । सिद्धि प्राप्तिको नाममा थैलो रित्तो पार्नु मुर्खता पनि हो भन्नुमा दुईमत छैन ।
ठगैठगको राज, इमानदारलाई छैन कामकाज :
एकदिन सार्वजनिक यातायातको साधनमा यात्रा गरिरहँदा एकजना यात्रुले मोबाइल फोनबाट ठूलो ठूलो स्वरमा ‘त्यो कुरमा म मिलाइहाल्छु नि, किन धन्दा मान्नुहुन्छ? मैले भनेपछि हाकिमले नाई भन्न सक्दैनन्, काम भइहाल्छ, ढुक्क हुनुस् !’ भनेको सुन्दा मलाई लाग्यो– ‘यो देशमा बदमासी गर्नेहरूको राज छ । प्रशासन चलाउनेहरू यस्तै यस्तैको इशारामा चल्छन् ।’ एकदिन कामविशेषले एउटा इञ्जिनियरिङ कन्सल्टैन्सीमा गएको थिएँ । इञ्जिनियर अफिस आइनपुगेकाले म साइडको कुर्सीमा बसिरहँदा त्यहाँका एकजना स्टाफले फोनमा कसैसँग कुरा गर्दै भनेका थिए– ‘सिंहदरबार प्रवेश गर्ने पास मसँग १५।१६ वटा छन्, कतिवटा चाहियो?’ यो सुन्दा मेरो मनमा चिसो पसेर आयो, नक्कली काम गर्नेहरूको जगजगी भएको काठमाडौँमा यो कुनै नौलो कुरा नभएको मैले अनुमान गरेँ ।
आयोग/परिषद्हरूमा सधैँको भाँडभैलो :
राजनीतिक भागबण्डामा नियुक्त हुने पदाधिकारीहरूका लागि विश्रामस्थल जस्ता देखिने आयोग तथा परिषदहरूमा सधैँको किचलो र भाँडभैलो भएको पाइन्छ । एउटा पदाधिकारीले अर्को पदाधिकारीलाई गिराउन खोज्ने, कर्मचारीलाई अनावश्यक दबाव दिने कामहरू भइरहँदा त्यस्ता निकायहरूबाट हुने सेवाप्रवाह प्रभावकारी हुनेमा शंका नै हुन्छ ।
सरकारी संस्थाहरूमा खुइलिएका साइनबोर्ड :
जमलमा दुईतीन वर्षयता एउटा साइन बोर्ड देख्न सकिन्छ, जसमा प्रायजसो भाग खुइलिएर अक्षर भेटाउन मुस्किल पर्छ । बोर्डमा नेपाल सरकारको एउटा मधुरो लोगो बाहेक । केही वर्षअघि ‘नेपाल राष्ट्रिय पुस्तकालय, भवन निर्माण स्थल’ लेखेको देखिने सो साइनबोर्डतर्फ कसैको पनि ध्यान नगएको महसुस हुन्छ । लाजमर्दो अवस्थाको सो साइनबोर्ड कि हटाए हुन्थ्यो कि त हेर्न र पढ्न हुने किसिमले पुनर्लेखन गर्नुपथ्र्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको साइनबोर्ड हेरेमा त्यहाँको प्रशासन ज्यादै कमजोर छ भन्न सकिन्छ । यो लेखकले त्यहाँका सदस्य सचिव तथा प्राज्ञलाई सुझाव दिए पनि उहाँहरूको पदीय म्याद सकिन लागेको हुँदा चासो दिने कुरा पनि भएन ।
गाउँघरमा जोखिमपूर्ण यात्रा : मोफसलमा सार्वजनिक यातायातका साधनहरूमा यात्रा निकै कठिन हुने गर्छ । सही हालतमा नभएका वाहन कुन बेला दुर्घटना भएर यात्रुहरू अंगभंग हुनेहुन् कुनै ठेगान छैन । आफ्नै सहपाठीका दाजुभाइ चढेको एउटा जीप खोल्सामा खस्दा दुवैको मृत्यु भएको र कच्याककुचुक परेको सो जीप अर्को दिन आफ्नै आँखाले देख्दा कति सहज र सुरक्षित छन् त गाउँघरतिरको सवारी साधनहरू ? भन्ने लाग्यो ।
अन्त्यमा, ‘एनि हाउ पैसा कमाउ’ भन्ने उखान एग्लो नेपाली उखान हो, यहाँ अंग्रेजी र नेपाली शब्दको खिचडी बनेको छ । कतिपय मान्छेहरू जसरी भए पनि धन कमाउने ध्याउन्नमा देखिन्छन्, नैतिकताको परिधि बारे उनीहरूमा ज्ञान देखिँदैन । जेमा पनि माफिया र दलालहरूको बिगबिगी छ । मन्त्रीले विदेश भ्रमणमा आसेपासेहरूको जत्था किन लैजानेगरेका हुन्छन् ? ‘राजाको काम कहिले जाला घाम’ भने जस्तै नेपालमा ‘बेथिति ज्यादा चोरलाई खादा’ भन्ने उखानको विकास नहोस् ।