एक दशकअघिको कुरा हो । एकदिन म कार्यालय समय सकेर घर फर्कनका लागि रत्नपार्कमा गाडी चढ्न सिंहदरबारबाट निस्किएँ । अघिल्लो दिन परेको बर्सादको पानीका कारण सिंहदरबारभित्रका बाटोका खाल्डाखुल्डी वा छेउँछाउँको होचो सतहमा जमेको पानी देखिएको थियो । म त्यहीँ सडकको फुटपाथबाट हिँड्दैथिएँ, रातो नम्बर प्लेटको एउटा रातो रङकै कारले मलाई त्यो जमेको फोहोर पानीले छ्यापेको थियो । मैले लगाएको सफारी सुटमा दाग बस्ने गरी सडक छेउँको पानी छ्यापेपछि मलाई असैह्य भयो, यदि त्यहाँ कुनै ढुंगा भेटिएको भए मैले त्यो कारमाथि प्रहार गर्थेँहोला । रिसले आफैलाई खान्छ भन्ने कुरा मनन गर्दै र सहँदै दक्षिणगेटमा पुग्दासम्म मेरो रिस तातोबाट बिस्तारै चिसोमा परिणत हुँदै गयो । सिंहदरभारभित्र यसरी निजी नम्बर प्लेटका गाडीहरूलाई पूर्णतया रोक लगाइनुपर्छ । कुनै कुनै निकायका पदाधिकारीहरूले सरकारी नम्बर प्लेटको सट्टा रातो प्लेटको प्रयोग गरेर चलाउने प्रचलन तत्काल बन्द गरिनुपर्छ ।
हाम्रो देशमा सजिलोका लागि नियम कानुन छल्ने र छल्न लगाउने प्रवृत्ति छ, कर छल्नेहरूलाई सम्मान गर्ने गलत परम्परा पनि छ । अपराधीलाई माथिमाथि मिलेर चोख्याउने कामहरू भइरहँदा कोही–कोही भन्ने गर्छन्, ‘सतिले सरापेको देश’, ‘नेपालको कानुन दैवले जानून् ।’ कुनै अपराधीका विरुद्धमा उजुरी दिएमा आफै उल्लु भइने र धम्की खेप्नुपर्ने अनि अपराधीका विरुद्धमा लेख्दा पनि डराउनुपर्ने अवस्था छ ।
एकजनासँग पन्ध्र/सोह्रवटा पासः
एकपटक म कामविशेषले एउटा कन्सल्टेन्सीमा गएको थिएँ र त्यहाँका मुख्य मान्छे आइनपुगेकाले म एउटा स्टुलमा बसेर समय कटाउँदै थिएँ । त्यहाँका एकजना स्टाफले फोनमा कसैलाई भनेको आवाज मेरो कानमा ठोक्कियो– ‘सिंहदरबार प्रवेश पास मसँग पन्ध्र÷सोह्रवटा छन्, किन चिन्ता गर्छौ?’ उनका यी शब्दहरू सुन्दा सिंहदरबारको सुरक्षा कस्तो छ त भनेर आफैँले आफैंलाई भित्रभित्रै प्रश्न गर्न मन लाग्यो । सर्वसाधारण सिंहदरबार अवलोकन गर्न सक्कली नागरिकता देखाएर भित्रबाट पास माग्दा अनेक हण्डर खानुपर्छ र प्रवेश गर्दा पनि निकै कडाइ गरिन्छ । तर ठग, फटाहा, लुच्चा मान्छेहरू चाहिँ निर्धक्कसँग नक्कली पास देखाएर सिंहदरबार प्रवेश गर्नेगरेका हुन्छन् । २०७८–७९ मा म कार्यरत मन्त्रालयका मन्त्रीका स्वकीय सचिवले एकैपटक पन्द्रजनाको पास पठाइदिएपछि त्यो समूह आएर एक मन्त्रालयका मन्त्रीमाथि हातपात गरेका थिए । ती दुई मन्त्री भने अलग–अलग पार्टीका थिए ।
आफ्नै लेखको प्रभावः
‘सिंहदरबारको सुरक्षामाथि सधैँ प्रश्न’ शीर्षकको मेरो एक लेख यसै पत्रिकामा प्रकाशन भएपछि भोलीपल्टै सिंहदरबारभित्र सुरक्षासम्बन्धी व्यापक सुधार भएको देखिएको थियो । जुन यो लेखकले आफ्नो कलमको शक्ति मापन गरेको थियो । त्यसपछि राष्ट्रियस्तरमै अरु पनि सुधारका कामहरू भएको देख्दा आफूलाई अधिक सन्तोष मिलेको थियो । अझै पनि कतिपय मान्छेहरू लेखेर के हुन्छ र? भनेर प्रश्न तेर्स्याउछन्, जसलाई अज्ञानता भनेर भन्न सकिन्छ । मैले कतिपय लेखहरू लेख्ने गरेको छु– ‘बरु मेरो पेन्सन रोकियोस् म लेख्न छाड्दिनँ ।’ ‘मलाई सम्मान र पुरस्कार पुग्यो’ भन्ने शीर्षकको मेरो लेख पनि धेरैले रुचाएको पाइएको छ । कतिपय ठूलाबडा भनिने स्रष्टाहरू सम्मान र पुरस्कारको भोको बनेका धेरै उदाहरणहरू पाइन्छ । त्यसलाई चिरफार गरिएको छ मेरो सो चेतनामूलक लेखमा ।
सिंहदरबारभित्र चुल्ठे–मुन्द्रेहरूको प्रवेशः
राष्ट्रसेवकहरूबाहेक सिंहदरबारभित्र प्रवेश गर्ने अन्यहरूमा नाजायत फाइदा लिने, मन्त्रीहरूसँग हिमचिम बढाउने, राजनीतिको आडमा आर्थिक लाभ लिने, छट्टु प्रवृत्तिका मान्छेहरूका साथै चुल्ठे–मुन्द्रेहरूको पनि प्रवेश हुन्छ । सुकिलामुकला, मोटाघाटा, व्यक्तिहरू सिंहदरबारभित्र छिरेर मन्त्रीको निजी सचिवालयमा सलबलाएर, भित्र बाहिर गरेर फाइदा लिने गर्छन् भने दूरदराजमा रहेका सामान्य किसानहरू अब देशमा केही होला कि भन्दै सिंहदरबारको आश गर्दै जीवन गुजार्दै आएका हुन्छन् । तर यहाँ त्यसको ठीक उल्टो भइरहेको छ– माफियासँग, तस्करसँग र अन्य आपराधिक गतिविधिमा संलग्नहरूसँग नेताहरूले साँठगाँठ गरिरहँदा नेताहरूप्रति जनतामा वितृष्णा बढ्दै गइरहेको छ ।
वायुप्रदूषण र ध्वनिप्रदूषणः
सिंहदरबारभित्रको वायुप्रदूषण पनि त्यहाँ वरपरको मूलसडक छेउँछाउँको भन्दा कम छैन । किन कि त्यहाँ भित्र निजी नम्बर प्लेटका सवारी साधनहरू बग्रेल्ती देख्न सकिन्छ । सिंहदरबाभित्रका जेब्रा क्रसिङ पार गर्न पनि कुर्नुपर्ने अवस्था छ । सिंहदरबारभित्र निजी नम्बर प्लेटका गाडीहरू देखिनु असुरक्षाको एउटा कारण पनि हो ।
अव्यवस्थित क्यान्टिनहरूः
देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका निकायहरूमा सञ्चालित क्यान्टिन व्यवस्थित छैनन् र स्वस्थकर किसिमले खाने पिउने अवस्था छैन । कतिपय निकायमा रहेका क्यान्टिन नाम मात्रका छन्, भाँडा माझ्ने व्यवस्थित ठाउँ छैन । कतिले जुठो खानुपर्ने र साबुन नख्रिएको भाँडामा खानुपर्ने र पिउनुपर्ने अवस्था छ । सिंहदरबारभित्र कुकुरहरूको संख्या धेरै नै छ, ती कुकुरहरूको आश्रय भनेकै त्यहाँ रहेका क्यान्टिनहरू हुन् । जहाँबाट विसर्जन गरिने हड्डी, भातलगायतका खानेकुराहरूमा निर्भर छन् ती कुकुरहरू । त्यहाँ रहेको एक कुकुरले एक अधिकृतलाई टोकेपछि कुकुरहरू हटाउन महानगरसँग समन्वय गर्ने कुरा अगाडि बढेकोमा सो कुरा चलिरहँदा एक्कासी सो कार्य रोकिएको छ । पशु अधिकारकर्मीहरूले यो निर्णय अमानवीय, अव्यवहारिक र कानुनविपरित भएको भन्दै विरोध जनाएपछि सो कदम रोकिएको थियो । सो कदमको सट्टा मानवीय व्यवस्थापन गर्ने कुरा आएको छ ।
भोटबैंकका संरक्षक नेताहरू र प्रशासकहरूः
भारतमा झैँ चुनावताका भोटबैंकको रुपमा रहने आध्यात्मिक वा धार्मिक संस्थाहरूले धर्मको आडमा मनग्यै आर्थिक कारोबार गरिरहेको पाइन्छ । भक्तहरूलाई बाहिर–बाहिर सामान्य किसिमले सदस्य बनाइन्छ भने भित्रभित्रै उनीहरूलाई विभिन्न सामानहरू बिकाइन्छ । भक्तहरूले जन्तरमन्तर लगायतका कैयन सामग्रीहरू नाइनास्ती गर्दै किन्नैपर्ने हुन्छ । सामग्रीहरू नकिन्दा गुरु वा बाबाको श्राप लाग्छ, पाप लाग्छ भनेर डराउँदै उनीहरूले ती सामग्रीहरू किन्न हिचकिचाउदैनन्, यसलाई अन्धभक्ति नै भन्नसकिन्छ । अहिले नेपालमा पनि नक्कली बाबा वा गुरुहरूको बिगबिगी छ । ब्रेनवास र हिप्नोसिसको माध्यमबाट उपचारको नाममा फसाउने अनि तन–मन–धन लुट्ने धेरै देखिन्छन् यहाँ । ज्यानमारा र बलात्कारी बाबा वा गुरुलाई उन्मुक्ति पाउनु सामान्य कुरा भइसकेको छ । किनकि उनीहरूको सिधा सम्पर्क र सम्बन्ध नेता÷प्रशासकहरूसँग रहँदैआएको छ । भोट बैंकका गल्तीहरू औल्याउन नेताहरू चाहँदैनन्, यो निकै घातक र जटिल समस्या हो मुलुकका लागि । हाम्रा गुरुले छुँदाबित्तिके रोग निको हुन्छ भन्ने भ्रममा अन्धभक्तहरू फस्ने गर्छन् त्यस्ता अखडा अर्थात् आश्रम वा धाममा ।
कुर्सीमा कोट लट्काएर हाकिम बेपत्ताः
नेपालमा रहेको प्रशासनिक विकृतिहरूमध्ये एउटा हो कुर्सीमा कोट लट्काएर हाकिम दिन भरजसो हराउनु । टेबुलमा फाइल मपेन्डिङ राखेर सेवाग्राहीहरूलाई घरिघरि आउने वातावरण यस्तै हाकिमहरूले हो । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ देखिने यस्ता प्रवृत्तिलाई न्यूनिकरण गर्न तत्काल यसतर्फ सुधार हुनु जरुरी छ ।
मन्त्रीमा उनै नेताहरू दोहोरिनुका कारणः
विगतमा हुने राजनीतिक विकृतिमा उनै व्यक्तिहरू घरिघरि दोहोरिएर नियुक्त भएका धेरै थिए । एजना त उन्नाइस पटक मन्त्री बनेका थिए, जो यसपालीको निर्वाचनमा पराजित भए । यसरी दोहोरिएर मन्त्री बन्नेहरूमा काममा अनुभवी तथा खप्पिस त होलान् तर भ्रष्टाचार कसरी गर्ने कसरी आफ्ना सन्ततिको भविष्य उज्ज्वल पार्ने भन्नेतिर पनि खप्पिस नहुने कुरै छैन । अनुभवी चोर बन्नका लागि ऊ चोरी काममा खप्पिस हुन्छ ।
बेबकुफ बनाएर लुट्ने धन्धाः
पछिल्लो समयमा टिकटकको माध्यमबाट विज्ञापन गरेर झारफुकको नाममा मान्छेहरूबाट धन लुट्ने काम भइरहेको छ । ‘मलाई उहाँले झारफुक गरेर नसुन्ने कान सुन्ने बनाइदिनुभो, नदेख्ने आँखा देख्ने गराइदिनुभो, बोली नफुटेकोलाई बोल्ने गराइदिनुभो’ कसैलाई भन्न लगाएर बेवकुफ बनाएर दुनियाँबाट नगद लुट्ने काम भइरहेको छ । यदि धामी झाँक्रीले झारफुक गरेर जुनसुकै रोग निको पार्ने भए किन साठी–पैँसठ्ठी लाख खर्चेर डाक्टर पढ्नुपर्यो? विशेषज्ञ चिकित्सक बन्नका लागि किन एमडी र डीएम पढ्नुपर्यो? यी सब ठगी खाने भाँडा हुन् । ‘मलाई फलानो उपचार केन्द्रमा गएपछि सबै समस्या समाधान भयो, रोग निको भयो’ भन्न लगाएर अरुअरुलाई तान्ने र जाल हान्ने गरेको पनि पाइन्छ । यस्ता विकृतिहरू पनि सरकारले नियन्त्रण गर्नुपर्ने हुन्छ ।
अनुगमन फितलोः
ग्यास अभावले उपभोक्ताहरू आक्रान्त बनेका छन्, भौँतारिएका छन् भने ग्यास वितरकहरू ग्यास लुकाएर भित्रभित्रै महंगोमा बिक्री भइरहेको तथ्य फेला परेपछि कारबाही सुरु गरिएको कुरा छापाहरूमा आए पनि अझ धेरै कति छन् कति त्यस्ता उपभोक्ताघाती व्यापारीहरू? यसतर्फ पनि सरकारले कडाइका साथ कदम चाल्नु जरुरी छ ।
सरकारी उद्योगहरू ब्युँताउने कहिलेः
धरासायी बनेका सरकारी उद्योगहरूमा पुगेर मन्त्रीहरूले भत्ता खाए, हवाजजहाज चढे, आखिरमा केही पनि भएन । जनताको भावनामाथि कुठाराघात गर्नेमा नेपालका नेताहरू खप्पिस नै छन् भन्नुमा दुईमत छैन ।
अन्त्यमा, सिंहदरबार यति शक्तिशाली हुनु जरुरी छ कि देशको हितमा भन्दा पनि अहितमा जसले काम गर्छ उसलाई तत्काल कारबाही गर्नेतर्फ सिंहदरबार तात्नैपर्छ र सो कारबाहीको जानकारी सञ्चार माध्यमहरूमार्फत जनतालाई जानकारी गराउनुपर्छ । किनकि सिंहदरबार भनेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र हो । त्यसैले समग्रमा भन्नुपर्दा सिंहदरबार सिंह जस्तै गर्जिनुपर्छ, स्यालजस्तो लुरुक्क पन्छिन मिल्दैन । अब अख्तियारमा विगतमा झैँ महाभ्रष्टलाई नेतृत्व गर्न दिनुहुँदैन । विगतमा महाभ्रष्टहरू अख्तियारको नेतृत्व सम्हालिसकेका छन् । यी कुरा सर्वसाधारणहरूलाई थाहा हुँदैन, यस्ता कुराको जानकारी सचेत नागरिकहरूमा मात्र हुन्छ । सिंहदरबारभित्र हुनेगरेका नाटक र खेलहरूबाट मुलुक थिलथिलो भइसको छ । अब आईसीयू वा सीसीयूमा पुगिसकेको मुलुकलाई जतिसक्दो चाँडो डिस्चार्ज गर्नु आवश्यक छ । विदेशी शक्तिको चंगुलमा परेर देशलाई पुनः बर्वादी गर्नु हुँदैन ।