साहित्यमा प्रकृतिको वर्णन गर्नेहरुमध्ये कतिपयमा प्रकृति के हो भन्ने कुराको ज्ञान हुँदैन । प्रकृति सम्बन्धी विषयमा लेखिएका सामग्रीहरु अध्ययन मात्र गर्नेहरुले केवल कल्पनामा प्रकृति बुझेको हुन्छ । यद्यपि उनीहरुको सिर्जनामा प्रकृति चाहिँ झल्केको पाइन्छ । पर्यावरणीय सन्तुलनमा माटोको महत्व कति छ भन्ने कुरा अध्ययन अनुसन्धानमा संलग्न व्यक्तिहरुले मात्र बुझेका हुन्छन् भने कसैकसैले भने स्वविवेकले नै बुझेका हुन्छन् । सहरमा सुविधा सम्पन्न अस्पताल वा प्रसुतिगृहमा शिशु जन्मिन्छन् भने गाउँघरमा बारीको कुनातिर अनि गोठमा पनि जन्मिनुपर्छ । त्यस्तै कोही कोही घरभित्रका कोठा अनि चोटामा पनि जन्मिनुपर्छ । पछिल्लो समयमा भने पालिकापिच्छे स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएकाले सहज रुपमा सन्तानको जन्म दिइन्छ । जन्मेदेखि मृत्युपछि चिहानमा पुग्दासम्म माटोको स्पर्श गरेकाहरुमध्ये कसैकसैले बाँचुञ्जेल प्रकृतिको महत्व बुझेका हुन्छन् भने कतिपयले खासै बुझेका हुँदैनन् । चासो र कौतुहलता वा जिज्ञासा राख्नेहरुले प्रकृतिका बारेमा खोजीनीति गरेमा उसले प्रकृति के हो र संसारमा प्रकृतिको महत्व के छ त भनेर महसुस गर्नसक्छ ।
हामीहरुले बगैचामा सुन्दर फूल फुलेको देख्छौँ र उक्त फूललाई आनन्दका लागि एकछिन हेरिरहन्छौँ, आँखा थाकेपछि मात्र अन्तै मोडिन्छ नजर । भनिन्छ फूल र संगीत मन नपाउनेहरु संसारमा कोही पनि हुँदैन होला । त्यहीँ फूलमा भरिने रङहरु अनि वास्नाको स्रोत माटो नै हो भन्ने हेक्का कमैमा मात्र हुन्छ । त्यस्तै हामीले सेवन गर्ने फलफूल र तरकारीमा हुने विभिन्न स्वादहरुको स्रोत भनेकै माटो नै हो । तितेकरेला तीतो बनाउनका लागि त्यसको लहराको जराले माटोबाट कुन कुन तत्व लिएर फलमा पठाउँछ त भन्ने कुरा वनस्पतिशास्त्रका विद्यार्थी तथा ज्ञाता वा विज्ञहरुलाई थाहा हुन्छ । त्यस्तै पाकेको फर्सी गुलियो बनाउनका लागि पनि त्यसैको लहराको आधार अर्थात् जराले माटोबाट प्राप्त गरेर आवश्यक तत्व लिएर फलसम्म पु¥याउँदछ । करेलामा फर्सीको स्वाद नहुनु र फर्सीमा करेलाको स्वाद नहुनु भनेको पनि प्रकृतिकै नियम हो भनेर बुझ्नुपर्दछ । ती वनस्पतिका जराले आवश्यक तत्वहरु मात्र ग्रहण गरेर फलसम्म पुर्याउँछ भनेर कोहीकोहीले मात्र अन्दाज गर्न सक्छ । कागती अमिलो बनाउने र सुन्तला गुलियो बनाउनका लागि माटोको फरकफरक भूमिका रहन्छ । पछिल्लो समय साहित्यमा माटोको वास्ना, माटोको सुगन्ध, माटोको सिरानी उल्लेख गरेर रचनाहरु सिर्जना गरेको पनि पाइन्छ ।
हामीहरुमध्ये कसैकसैले माटोको महत्व नबुझिकन समग्र पृथ्वीका बारेमा अझ भनौँ भने ब्रह्माण्डका बारेमा सोच्छौँ । ब्रह्माण्डमा प्रकृति, अन्तरीक्ष, समय, पदार्थ, उर्जा, भौतिक नियम र सृष्टि सञ्चालन हुन्छ भनिन्छ । ब्रह्माण्डभित्र सम्पुर्ण आकाशगंगा, तारा, ग्रह, उपग्रह आदि अटाएका छन् । सौर्यमण्डल अन्तर्गतका ग्रहहरुको फरक फरक गति वा चाल पनि प्राकृतिक नियम हो । यी कुराहरु त खगोलशास्त्री तथा सम्बन्धित विषयका ज्ञाताहरुले बताउने कुरा हुन् ।
प्रकृतिले नै पानी, माटो, सौर्य ताप लगायतका आधारहरु दिलाएका कारण हामी जीवको रुपमा पृथ्वीमा जन्मिन पायौँ र हुर्किन पायौँ । आफ्ना दैनिक यावत् गतिविधि वा क्रियाकलाप गरेर जीवन बिताउने भयौँ । कोही सानै उमेरमा निधन हुनु, कोही किशोरावस्था त कोही युवावस्थामा धर्ती छोड्नु आआफ्ना भाग्यका कुरा हुन् । कोही अधबैँसे उमेरमा त कोही वृद्धावस्थामा बित्नु पनि प्राकृतिक नियमभित्र पर्दछ । उपचार सेवा र औषधिको अभावमा अकालमा मृत्यु हुनुपर्ने पनि हुन्छ ।
हामी खोला नदीको तटमा वा बगरमा गएर नियाल्यौ भने त्यहाँ विभिन्न खालका, रङका र आकारका ढुंगाहरु देख्छौँ । नदीमा वर्षेनी आउने बाढीले साना आकारका ढुंगाहरु घच्ट्दै विस्तारै नदीको गन्तव्यतिर लगिरहेको हुन्छ । बगरमा देखिने ढुंगाहरु एकएक गरी नियालेर हेरेमा त्यसमा अनेक प्रकारका धर्सा वा दाग देखिन्छन् । कुनैकुनै ठूलाखालका ढुंगालाई लहराले बेरेर धसेको जस्तो पनि देखिन्छ । सुन–चाँदी झैँ चम्किलो देखिने ढुंगाहरु पनि बगरमा देखिन्छन् । कुनै बखत काठमाडौँमा बगरका ढुंगालाई रङ र बुट्टा भरेर कार्यालयहरुमा पेपरवेटको रुपमा पनि प्रयोग भएको देखिन्थ्यो । त्यसरी रङ लगाएर विक्री गर्ने व्यवसायीले सायद सपरिवार पेट पाल्ने काम पनि भएको थियो होला । २०४० सालअघि यो लेखकले आफ्नो जन्मथलो रोल्पाको खुंग्री भएर बग्ने लुंग्री नदीको बगरमा थुप्रिएको बालुवामा चुम्वक राख्दा चुम्बकमा फलामका ससाना टुक्राहरु र कणहरु टाँसिएको थियो । हामीले त्यो टाँसिएका फलामका टुक्रा र कणहरु देखेर छक्क पथ्र्यौँ । खस्रा खालका ढुंगाका कापमा सुन झैँ पहेँलो देखिने धातु पनि देखेकै हौ । ती ढुंगा हामीहरुले घरमा ल्याएर आउँथ्यौँ । कुनै बखत रोल्पालाई कार्यक्षेत्र बनाएको एक गैरसरकारी संस्थाले रोल्पाको लुंग्री नदीबाट एकदुई किलो सुन जम्मा गरेर लगेको भन्ने समाचार पनि आएको थियो । सो समाचारको सत्यता के हो भनेर यकिन भन्न चाहिँ सकिन्न । गत २०८२ पुस १७ गते मलाई जन्मथलोमा जानैपर्ने भयो । त्यहाँ गएपछि मलाई सबैभन्दा हतार त्यहाँ आफूले बाल्यकाल र किशोरावस्थामा खेलेका र हिँडेका स्थानहरुमा फेरि पनि विचरण गर्न मन लागेपछि म पुस २९ गते घरबाट एक्लै लुंग्री नदीतिर झरेँ । एउटा उद्देश्य चाहिँ त्यहाँको रैथाने बयर टिप्नु पनि थियो । एउटा पोलिथिन व्याग बोकेर झरेँ गौँडा हुँदै लुग्री नदीतिर । पहिले हामीले पानी पिउने गरेको जरुवा पानीको मुल नदेख्दा नमज्जा लाग्यो । बगरमै भूमिगत भएर रसाएको पानीको सानो कुण्डबाट अञ्जुलीको सहायताले मैले पानी पिएर प्यास मेटेँ । नामिद्वाली नामको घाँसेमैदानमा हरेक वर्ष पुस माघमा राताम्मे बयर पाक्ने हुँदा बयर टिप्नका लागि बोटमा पुग्दा दुईचारवटा दाना मात्र देखिए । एकछिन त बयर टिप्न नपाइने हो कि भनेर निराश पनि भएँ । पहिले घट्ट भएकोतिर आँखा डुलाउँदा भने त्यहाँ बोटमा राताम्मे बयर देखेपछि म प्रफुल्ल भएँ र लम्किएँ पोलिथिन व्याग गोजीबाट झिक्दै बयरको बोटतिर ।
बयर टिप्दै जाँदा बोटका हाँगामा रहेका अंकुसे आकारका काँडाले दुःख भने दियो, औँलाबाट रगतै निस्किने गरी घोच्यो पनि । उहिले किशोरावस्थामा काँडाले घोँचेर रगत निस्किनुलाई सामान्य नै ठानिएकाले मैले यसपाली पनि रगत निस्किनुलाई सामान्य नै ठानेँ र पछि आफै रगत थामियो । म एकाग्र भएर पुनः टिप्नथालेँ राताराता बयर । बोटमा बयर आलो कम र सुकेको बढी थियो । मैले बयरको फोटो फेसबुकमा राखेपछि धेरेले “मलाई पनि है!” भनेर कमेन्ट गर्न थाल्नुभयो । काठमाडौँ आइपुगेको त्यो बयर केही शुभचिन्तकहरुको हातमा दिनपाउँदा मलाई हर्ष भएको थियो । रैथाने उपजलाई कसैकसैले मात्र महत्व दिन्छन् ।
मैले बयर टिप्ने उद्देश्यले नदी छेउँको हल्का भिरालोखालको बाँझोतिर गएकोमा बयर टिपिसकेपछि बगरतिर झरेँ । उहिले बगरमा किशोरावस्थाका विभिन्न क्रिडाहरु सम्झिदै गर्दा मेरो नजर साना र डोलो अनि लाम्चो तथा गोलो आकारका ढुंगाहरुमाथि पर्यो र म आनन्दित पनि भएँ । बगरमा प्राकृतिक रुपमै बुट्टेदार देखिएका साना खालका ढुंगाहरुमध्ये मान्छेको टाउको, घाँटी, दुइवटा कान र जिउको बुट्टा भएको एउटा ढुंगा टिपेर गोजीमा राखेँ । ढुंगामा प्रकृतिले कोरेको चित्र आकर्षक ठानेँ र काठमाडौँ ल्याएपछि सो बुट्टेदार ढुंगा मैले आफ्नो अध्ययन कक्षमा सजाएर राखेँ । प्रकृति नै जीव तथा वनस्पतिका लागि पनि महत्वपूर्ण आधार हो भन्ने कुरा कसैले पनि बिर्सनुहुँदैन । कुन मौसममा के फुल्ने, के फल्ने, के पाक्ने भन्ने कुरा प्रकृतिले नै निर्धारण गर्दछ । विश्वभरीका सबै देशहरुमा एकनासको मौसम हुँदैन । कुनै देशमा गर्मीको समयमा अर्को देशमा जाडोको समय हुन्छ र त्यही अनुसार ती देशका मानिसहरुले मौसम अनुसारका खाद्यवस्तु खान पाउँछन् । काठमाडौँमा देशभित्रको वा भारतबाट आयातित आँपको सिजन सकिएपछि चीनबाट आयात गरिएका सुकिलामुकिला खालका र सिन्दुरे रङका आँप पाइन्छ । दुई वर्षअघिसम्म भदौ लागेपछि बजारबाट आँप सकिन्थ्यो भने दुई वर्षयता चीनबाट आयातीत आँप मंसिरसम्म पाइनथालेको देखिन्छ ।
जहाँ खोल्सा वा डाँडाबीचको गहिरो भूभाग देखिन्छ त्यहाँ जरुवा पानीको मूल भेटिन्छ । ती साना खोल्साहरुबाट बगेर सबैभन्दा होचो भूभागमा पुगेपछि खोलो वा नदीको रुप लिएको देखिन्छ । नदीले आफू बग्ने भाग बदल्नसक्छ र बदलिएको पनि देखिन्छ । अघिल्लो वर्ष एक ठाउँमा रहेको रह अर्को वर्ष नरहन पनि सक्छ । नदीले स्वरुप बदल्ने क्रममा एकै ठाउँमा दुई वा दुईभन्दा बढी सोतोहरु बनाएको हुन्छ । पहिले पहिले नदीको जंघार तर्नका लागि छिचरो स्थान रोजिन्थ्यो । पछिल्लो समय पुलको सुविधाले गर्दा जंघार तर्नु नपर्ने हुन्छ । पहिले तुइनबाट पनि खोला वा नदी तर्ने गरिन्थ्यो । जुन जोखिमपूर्ण पनि ठानिन्थ्यो । तुइनबाट खसेर बिगतमा कतिपयको ज्यान पनि गएको छ ।
प्रकृतिसँग सामञ्जस्य राख्न सकिएन भने मानिसमा विभिन्न समस्याहरु आउनसक्छ । त्यसैले सहरमा बस्नेले करेसाबारीमा वा कौसीमा वा गमलामा तरकारी, फलफूल एवम् फूलहरुका बोट बिरुवा रोप्ने गर्नाले आफू प्रकृतिसँग सन्निकट भएको महसुस हुन्छ । कम्पोस्ट मल पनि घरमै तयार गर्न सकिन्छ । भान्साबाट खेर जाने तरकारीका पात, डाँठ, जरा, बोक्रा, गुदी तथा सड्ने गल्ने खालका खेर गएका अन्य वस्तुहरु मिसाएर पनि कम्पोस्ट मल बनाउन सकिन्छ । करेसाबारी वा कौसीमा वा गमलामा फलेको तरकारी वा फलफूल बजारको तुलनामा निश्चय नै सुरक्षित हुन्छ । साथै फुर्सदको समयमा माटोसँग खेल्दा शारीरिक परिश्रम पनि हुनजान्छ । फलतः हाम्रो शरीर प्रकृति विमुख भएको छैन भन्न पनि सकिन्छ । प्रकृति विमुख हुनु भनेको आफैलाई कमजोर बनाउनु हो भनेर बुझ्न सकिन्छ ।