विश्वमा हालसम्म मान्यता पाएका ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेका छन् भने, विश्व जगतले अझै पनि मान्यता दिन बाँकी रहेका ८ हजार मिटरभन्दा माथिका अरु ६ वटा हिमाल छन् । ती ६ वटा ८ हजार मिटरभन्दा मिटर अग्ला हिमालले पनि निकट भविश्यमै ८ हजार मिटरभन्दा माथिको हिमाल भनी मान्यता पाउँदै छन् । संयोगले गर्दा ती ६ वटै नयाँ ८ हजार मिटरभन्दा माथिका हिमाल हाम्रो देश नेपालमै रहेका छन् । हुन पनि अहिलेसम्म विश्वमा मान्यता प्राप्त भएका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिम पर्वतहरूमध्ये ८ वटा त नेपालमै रहेका छन् । नेपालमा रहेका ती ८ हजार मिटरभन्दा माथिका हिम पर्वतहरू नेपालको पर्वतारोहण पर्यटन एवं नेपाल सरकार र, नेपाली पर्यटन व्यवसायीहरूका लागि मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । जुन हिम पर्वतहरू हामी नेपालीलाई प्राकृतिले निःशुल्क रूपमै उपलब्ध गराएकी छिन् भन्दा फरक पर्दैन ।
हामीले देखेका, सुनेका अनि पढेका छौ कि, विश्वका अधिकांश देशहरूले आफ्नो देशमा विश्वभरिका पर्यटकलाई आकर्षित गर्नका लागि अनेक खालका विभिन्न कृतिम सुन्दरता र पर्यटकीय आकषर्णका चिजबिचहरू कृतिम रूपमा निर्माण गरेर आफ्नो देशमा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने र टेवा दिने काम गरिरहेका छन् । हाम्रो देश नेपाल त्यस्तो होइन । किनभने, नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, क्यानोइङ, बन्जी जप्पिङ, जिप फ्लाइङ, हट एयर बालुनिङ, साइक्लिङ, स्काइ डाइभ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, वाल क्लाइम्बिङ, कायाकिङ आदिका लागि उत्कृष्ट गन्तव्य हो । त्यसैले गर्दा हामीले विश्वका अधिकांश देशले जस्तो विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि कृतिम अथवा भनौं न मानव निर्मित पर्यटकीय आकर्षणका चिजबिच निर्माणमा खासै लगानी गर्नु परिरहेको छैन । बरु हामीसँग भएका सयौं नयाँ अर्थात् भर्जिन हिम पर्वतहरूलाई सक्दो छिटो खुल्ला गर्दै र निजी क्षेत्रका पर्यटन व्यवसायीले आकर्षक प्याकेजहरू बनाएर पर्वतारोहण वा हिमाल आरोहणमा धेरै भन्दा धेरै विदेशी पर्वतारोहीलाई आकर्षित गर्न छिटोभन्दा छिटो कदम चाल्नुपर्ने देखिन्छ । यसमा नेपाल सरकारले सरकारीस्तरमा परिणाम दिने गरी कदम चालिहाल्नुपर्ने देखिन्छ । त्यसका साथै प्रचारप्रसारमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
नेपालमा हिमरेखाभन्दा माथि लगभग १७ सयवटा हिम पर्वतहरू रहेका छन् भने ती मध्ये पनि नेपाल सरकारले पटकपटक गरेर ४ सय ७६ वटा (५,५५० मिटर अग्लो छुकुङ–री देखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा लगायतका हिमाल पर्वतारोहणका लागि खुल्ला गरेको छ । त्यसमध्ये धेरै अघिदेखि तत्कालीन श्री ५ को सरकारले ३३ वटा स–साना हिमाललाई ‘ट्रेकिङ पिक’को रूपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघ (एनएमए)लाई रेखदेख गर्ने, ती स–साना हिमाल चढ्न चाहने आरोहीलाई परमिट दिने, उनीहरूबाट आरोहण शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर सुम्पेको छ । त्यस्तै पर्वतारोहणका लागि खुल्ला गरिएका बाँकी हिमालहरू भने नेपाल सरकारको मातहतमा छ । हुनत नेपालमा रहेका हिमाल नेपालका लागि मात्रै नभईकन भारत, पाकिस्तान, बंगलादेशलगायत छिमेकी देशका लागि स्वच्छ खानेपानी, सिँचाइ, बिजुली बत्ती, जल विहार आदिका लागि मुहान अर्थात् मुख्य श्रोतको रूपमा पनि रहेको छ, रहेने छ । पछिल्लो समयमा विश्वभरि नै आएको जलवायु परिवर्तन र त्यसका कारण हुने बेसमी वा भनौं कु–बेलामा अचानक हुने मौसम परिवर्तनको समस्यका कारण त्यही स्वच्छ खानेपानी, सिँचाइ, पैनी, बिजुली बत्ती, जल विहार आदिका लागि मुख्य श्रोतको रूपमा रहेको हिमाल पग्लेर हाम्रा लागि वरदान होइन, अभिशाप एवं दुःखको श्रोत बन्दै जाने स्थिति पनि विद्यमान अवस्थामा टरिसकेको छैन, टर्ने सम्भावना पनि छैन । निश्चय नै यसमा निर्दोष, निश्चल र अटल ती हिमाल र हिम नदीहरू दोषी नभएर हामी मान्छेहरू दोषको मुख्य भागीदारी हौं भन्नेमा दुईमत छैन । त्यसमा पनि विकसित देश र ती देशका सरकारहरू मुख्य दोषी छन् भन्ने त विभिन्न समयमा विभिन्न देशका वैज्ञानिक, अध्ययनकर्ता, अनुसन्धानकर्ता एवं विषय विज्ञहरूले गर्ने गरेको अध्ययनपछि निकालेको प्रतिवेदनहरूले बताउने गरेको छ ।
अब लागौं, विश्वमा रहेका १४ वटा ८ हजार मिटरभन्दा अग्लो हिम पर्वतमध्ये नेपालमा रहेका ८ वटा ८ हजार मिटरभन्दा अग्लो हिम पर्वतबारे छोटकरीमा चर्चा गर्नेतर्फ । विश्वकै अग्लो हिम पर्वत हो ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ । जुन हिमालको उचाइ ८,८४८.८६ मिटर रहेको छ । यो हिमाल खासमा चीन–नेपाल सिमानामा रहेको छ । तर, पानी ढलोको आधारमा यसलाई नेपालको मान्ने सहमति चीन सरकारसँग भएको थियो । त्यस्तै विश्वका १४ वटा ८ मिटरभन्दा माथिको हिम पर्वतमा सबैभन्दा कम उचाइ अर्थात् ८,०१३ मिटर अग्लो सिसा–पाङमालाई चीनको मान्ने भनी अर्को सहमति भएको थियो । खसामा सो हिमाल नेपालको लाङटाङ क्षेत्रमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमाको भित्री भागसम्म पुगे तापनि नेपाल सरकार र चीन सरकारबीच सो हिमाललाई चीनको मान्ने गरिएको थियो, ऊ वेला ।
उता कञ्चनजंघा हिम पर्वतले त तीन देशहरू नेपाल र भारतको सिक्किम/सुखिम राज्लाई छुन्छ । त्यस्तै गरेर ल्होत्से, मकालु र चो ओयु हिम पर्वतले चाहिँ नेपाल र चीनलाई छुन्छ । धौलागिरी र मनास्लु हिमाल भने, विशुद्ध रूपमा नेपाल भूमिमा अवस्थित हिमाल हुन् । विश्वका बाँकी ५ वटा ८ हजार मिटरभन्दा अग्लो हिमाल भने १ पाकिस्तानमा र अरु ४ वटा चाहिँ पाकिस्तान र चीनको सीमामा रहेको छ । ती हुन्, ८,६११ मिटर अग्लो के–टु (काराकोरम–२) । ८,१२५ मिटर नांगा पर्वत । ८,०६८ मिटर अग्लो गासेर बु्रम–१ । ८,०५६ मिटर अग्लो ब्रोड पिक । र ८,०३४ मिटर अग्लो गासेर ब्रुम–२ । माथि उल्लेखित हिमाल विश्वका पर्वतारोहीले आरोह गर्दा लाग्ने सलामी शुल्क नेपालको दाँजोमा ज्यादै कम रहेको छ । त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीले नेपालका कुनै पनि स–साना हिमालदेखि लिएर ठूला हिमाल चढ्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर घटाउनुपर्ने र अन्य अफिसियल झन्झटहरू हटाउनेतर्फ सोच्नैपर्ने देखिन्छ । यसो भनी रहँदा गत वर्षदेखि विश्वकै अग्लो हिमाल ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ को आरोहण शुल्क अर्थात् सलामी दस्तुर प्रति व्यक्ति ११,००० अमेरिकी डलरबाट बढाएर १५,००० हजार अमेरिकी डलर पु¥याएको छ । तथापि पनि यही वर्ष अर्थात् सन् २०२६ मा ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ आरोहण इतिहासमा सबैभन्दा धेरै सङ्ख्यामा पर्वतारोहीले आरोहण अनुमति लिए, ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ आरोहणका लागि ।
हुनतः पर्वतारोहीले जुनसुकै हिमाल चढ्दा लाग्ने सलामी दस्तुर अर्थात् शुल्कको कुरो गर्दा नेपालको सुदूरपश्चिम क्षेत्रमा रहेका केही हिमाल नेपाल सरकारले विगत लामो समयदेखि निःशुल्क अनि केही हिमाल चाहिँ पचास प्रतिशतसम्म छुट दिएर हिम पर्वतारोहीलाई प्रोत्साहित गरेको छ । तर अचम्म के भने, ती निःशुल्क चढ्न पाइने केही हिमाल चढ्न पाऊँ भनेर धेरै कम पर्वतारोहीले मात्रै अनुमति लिनका लागि विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्वतारोहण शाखामा निवेदन हालेको देखिन्छ । भनाइको मतलब हो, अपेक्षाअनुसार पश्चिमका ती निःशुल्क आरोहण गर्न भनेर खुला गरिएका ती हिमाल आरोहण गर्न अहिलेसम्म विदेशी तथा स्वदेशी (नेपाली) पर्वतारोहीहरू खासै गएका छैनन् ।