कञ्चनपुर । सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन् ।
कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन् । महाकाली प्रादेशीक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा. अर्जुन भट्टले आपूर्ति केन्द्रबाट रेबिजविरुद्धको खोप नआएपछि समस्या भएको बताए । अस्पतालमा दैनिक ४०/५० जना बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन आउँछन्, हामीसँग खोप उपलब्ध छैन । उनले भने, ‘जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन सकेको छैन ।’ धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ ।
आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिजविरुद्धको खोप उपलब्ध हुन नसकेको बताए । सुदूरपश्चिममा मात्रै नभई अहिले मुलुकभर रेबिजविरुद्धको खोप अभाव छ । उनले भने, ‘कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन भइसकेको छैन ।’ प्रदेश आपूति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा खोप उपलब्ध गराउँदै आएको छ । प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महङ्गो शुल्क तिरेर खोप लगाउन बाध्य हुनुपरेको छ । सरकारी अस्पतालमा खोप पाइएन निजी स्वास्थ्य संस्थाबाट ६४५ रुपैयाँमा खरिद गर्यौं त्यो पनि सहजै पाइएन । खोपका लागि महाकाली अस्पताल पुगेका सेवाग्राही लिलि कुवँरले भनिन्, ‘तीन पटक लगाउनुपर्ने खोप अर्को पटक नपाउने हो कि भन्ने चिन्ता छ ।’