काठमाडौं । नेपालमा पहिलो पटक आयोजित ‘स्टेप्सटुवाक फुट एन्ड एंकल डिफर्मिटी करेक्सन कोर्ष’ सफलतापूर्वक सम्पन्न भएको छ । चारदिने अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममार्फत आठ जना जटिल खुट्टा तथा गोलीगाँठो (फुट एन्ड एंकल) विकृतिबाट प्रभावित बिरामीले निःशुल्क शल्यक्रिया तथा उपचार सेवा प्राप्त गरेका छन् ।
नेपाल मेडिसिटी अस्पतालको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था स्टेप्सटुवाकको आयोजनामा जेठ २० देखि २३ सम्म सो कार्यक्रम सञ्चालन गरिएको थियो । फुट एन्ड एंकल विशेषज्ञ डा. दमन झाको नेतृत्व र समन्वयमा नेपालमै पहिलो पटक यस्तो अन्तर्राष्ट्रियस्तरको कोर्ष आयोजना गरिएको हो । कार्यक्रममा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटी उपचार केन्द्र मात्र नभई निरन्तर सिकाइ, व्यावसायिक विकास र ज्ञान आदान–प्रदानको प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको बताए । उनले स्वास्थ्य क्षेत्रको दिगो प्रगति पूर्वाधार र प्रविधिसँगै ज्ञान साझेदारी, सहकार्य तथा दक्ष जनशक्ति विकासमा निर्भर रहने उल्लेख गरे । यस पहलले नेपालको फुट एन्ड एंकल उपचार क्षमतामा दीर्घकालीन प्रभाव पार्ने उनको विश्वास छ ।
कार्यक्रममा विश्वप्रसिद्ध फुट एन्ड एंकल विशेषज्ञहरू डा. क्रिस्टियन ओर्टिज, डा. राजेश साइमोन, डा. म्यानुअल साउसा तथा डा. नरेन गुर्बानीले प्रशिक्षण तथा शल्यक्रियामा सहभागिता जनाएका थिए । स्टेप्सटुवाकसँग आबद्ध अन्तर्राष्ट्रिय प्रशिक्षार्थी चिकित्सकहरू पनि कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा देशभरका विभिन्न अस्पतालका अर्थोपेडिक तथा फुट एन्ड एंकल क्षेत्रमा रुचि राख्ने चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । फुट एन्ड एंकल सर्जन डा. दमन झाले नेपालमा पहिलो पटक आयोजित यस विशेष कोर्षले युवा चिकित्सकहरूलाई विश्वस्तरीय विशेषज्ञहरूसँग प्रत्यक्ष सिक्ने अवसर प्रदान गरेको बताए ।
अनुसार कार्यक्रमअन्तर्गत बालबालिकादेखि वृद्धवृद्धासम्मका ८ जना जटिल खुट्टा विकृतिबाट प्रभावित बिरामीको निःशुल्क शल्यक्रिया तथा उपचार गरिएको छ । नेपाल मेडिसिटीले यस कार्यक्रमलाई उपचार सेवा मात्र नभई ज्ञान हस्तान्तरण, सीप विकास तथा नेपालको फुट एन्ड एंकल उपचार क्षमताको दीर्घकालीन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । अस्पतालका अनुसार यस्ता पहलले भविष्यमा नेपालमै जटिल फुट एन्ड एंकल विकृतिको विशेषज्ञ उपचार सहज र प्रभावकारी रूपमा उपलब्ध गराउन मद्दत पुग्नेछ ।