स्वास्थ्य भन्ने शब्द मानिस जन्मेदेखि नमरेसम्म जीवनको हरेक पक्षसँग सम्बन्धित छ । स्वास्थ्यका खराब र असल दुवै पक्ष हुन्छन् । असल पक्ष भन्नाले व्यक्ति शारीरिक रूपले तन्दुरुस्त, मानसिकरूपले सचेत, कुनै प्रकारको रोग नलागेको, स्वस्थ रहनका लागि वैज्ञानिक स्वास्थ्य आचरण अपनाउनुलाई जनाउँदछ । मानिसको जीवनमा प्राप्त हुने सम्पूर्ण उपलब्धीहरूको प्रमुख स्रोत नै असल स्वास्थ्य हो । असल स्वास्थ्यले नै व्यक्तिको सुन्दर भविष्यको निर्माण गर्नसक्दछ । विश्व स्वास्थ्य संगठनका नारा ‘हेल्थ इज वेल्थ’ले पनि प्रष्ट गर्दछ– मानिसको सबैभन्दा बहुमूल्य सम्पत्ति नै स्वास्थ्य हो । स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको, समुदाय र राष्ट्रका लागि केही गर्नसक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ । हरेक मानिसको जीवनमा स्वास्थ्यले ठूलो महत्व राख्दछ । स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्दछ । त्यसकारण स्वास्थ्य नै धन हो भन्ने कुरामा कसैको पनि दुईमत हुँदैन । कुनै समयमा विभिन्न आपद–विपदबाट मुक्त अवस्थालाई स्वास्थ्यको रूपमा लिएको पाइन्छ । कुनै समयमा दीर्घायु जीवनलाई स्वास्थ्यको रूपमा लिएको पाइन्छ भने कुनै समयमा रोगबाट मुक्त रहेको अवस्थालाई लिइएको पाइन्छ । यसरी बदलिंदो समयअनुसार स्वास्थ्यको अर्थ फरक–फरक रूपमा आएको देखिए पनि स्वास्थ्यलाई रोगबाट मुक्त भएको अवसरको रूपमा स्वीकार्ने व्यक्तिहरू अहिलेको समयमा पनि धेरै छन् । ‘स्वास्थ्य’ भन्ने शब्दको विकासात्मक इतिहासलाई केलाएर हेर्दा यसले ‘सम्पूणर्ता’ लाई लक्षित गरेको पाइन्छ । यहाँ सम्पूर्णताको अर्थ एउटा सिङ्गो व्यक्तिलाई लक्षित गरेको पाइन्छ । यसले व्यक्तिको सम्पूर्ण शारीरिक अंग प्रत्यंगहरूको स्वस्थ्यतालाई निर्देशित गर्दछ अर्थात् व्यक्तिको सम्पूर्णता नै स्वास्थ्य हो । अंग्रेजी शब्दकोषमा स्वास्थ्यलाई एउटा यस्तो अवस्थाको रूपमा परिभाषित गरिएको छ जसमा व्यक्ति कुन शारीरिक दुरावस्था, रोग र कष्टबाट मुक्त हुन्छ र उसको शरीर, मन र आत्मा पनि स्वच्छ र स्वस्थ हुन्छ ।
नेपालको संविधान, २०७२ अनुसार हरेक नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गरिएको छ । यसका लागि सरकारले विभिन्न स्वास्थ्य सेवा कार्यक्रमहरू संचालनमा ल्याएको छ । मातृ शिशु स्वास्थ्य सुधारका लागि सुरक्षित मातृत्व कार्यक्रम, खोप अभियान र पोषण सुधार कार्यक्रम प्रभावकारी मानिन्छन् । ग्रामीण क्षेत्रका लागि ‘गाउँगाउँमा स्वास्थ्यकर्मी, प्रत्येक घरमा स्वास्थ्य सेवा’ नाराका साथ स्वास्थ्य चौकीहरू स्थापना गरिएको छ ।
नेपालमा प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य र सरुवा रोग नियन्त्रणमा महत्वपूर्ण प्रगति भएको छ । उदाहरणका लागि, पोलियो उन्मूलन, कालाजार नियन्त्रण र खोप अभियानले सरुवा रोगहरूलाई कम गर्न सहयोग पु¥याएको छ । मातृ मृत्यु दर र शिशु मृत्यु दरमा पनि केही हदसम्म सुधार भएको छ । सरकारले स्वास्थ्य बीमालाई प्राथमिकता दिँदै नागरिकहरूलाई न्यूनतम शुल्कमा सेवा दिने व्यवस्था गरेको छ । ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य चौकीहरूले सामान्य रोगहरूको उपचारका साथै गर्भवती महिलालाई निःशुल्क सल्लाह र औषधि प्रदान गरिरहेका छन् ।
हरेक वर्ष विश्वभरका १३ देखि १५ वर्ष उमेरका चार करोड युवाले कुनै एक किसिमको सुर्ती सेवन गर्छन् । सुर्ती सेवन गर्न सिकेका १५ देखि २४ वर्षका ५८ प्रतिशत युवाले विद्युतीय सुर्ती (प) सेवन गर्छन् । विश्वका झन्डै ८० लाख व्यक्तिको सुर्ती सेवनका कारणले मृत्यु हुने गरेको छ भने तीमध्ये एक लाख ३० हजार जतिको अरूले सेवन गर्दाको धुवाँ सेवन (सेकेन्ड ह्यान्ड स्मोक) बाट मृत्यु हुने गरेको छ । विश्वभरका करिब एक करोड ३० लाख सेवनकर्ता कम तथा मध्यमस्तरको आम्दानी हुने मुलुकका छन् । सन् २०३० सम्ममा एक करोडभन्दा बढी सुर्ती सेवनकर्ताको सुर्ती सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्यावाट मृत्यु हुने अनुमान गरिएको छ। नेपालको जनसंख्याको ५७ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्छन्, तीमध्ये ३० हजारभन्दा बढी सेवनकर्ताको सुर्ती सेवनकै कारणले मृत्यु हुने गरेको छ । वर्तमान अवस्थामा सुर्तीजन्य पदार्थ सेवन धेरै प्रकारका क्यान्सरको मुख्य कारण बनेको छ । सन् २०२४ को विश्वव्यापी प्रतिवेदन अनुसार नेपालका ६८ हजारभन्दा बढी व्यक्ति सुर्ती सेवनकै कारण क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ । सबै खालको सुर्ती सेवन त्याग गर्दा धेरै फाइदा हुन्छ । २० मिनेटसम्म सुर्ती सेवन छोड्दा मुटुको गति र उच्च रक्तचाप घट्छ, १२ घण्टासम्म छोड्दा रगतमा कार्बनमोनोक्साइड स्तर घटेर सामान्य अवस्थामा आउँछ । दुईदेखि १२ हप्ता छोड्दा रक्तसञ्चारमा सुधार हुन्छ र फोक्सोको कार्य बढ्छ, एकदेखि नौ महिनासम्म छोड्दा खोकी र श्वासप्रश्वासमा कठिनाइ घट्छ । एक वर्षसम्म छोड्दा मुटुको समस्या ५० प्रतिशतसम्म घट्छ, पाँच वर्षसम्म छोड्दा सेवन गर्नेभन्दा सेवन नगर्नेमा मस्तिष्कघातको जोखिम पाँचदेखि १५ वर्षसम्म घट्छ । १० वर्षसम्म छोड्दा फोक्सोको क्यान्सरको सम्भावना ५० प्रतिशत र मुख, घाँटी, खाना नली, पिसाबको थैली, पाठेघर र प्याङ्क्रियाजमा हुने क्यान्सरको जोखिम घट्छ । सुर्ती छोडेको १५ वर्षमा मुटुसम्बन्धी समस्या (कोरोनरी हर्ट डिजिज)बाट बच्न सकिन्छ भने सेवन नगर्नेको अवस्थामा पुगिन्छ ।
सुर्तीजन्य पदार्थ सेवन नगर्न आफैँले अठोट गर्ने, सुर्ती सेवन छोडेर खेलकुद र मनोरञ्जनात्मक काममा लाग्ने, आफ्नो जीवनशैलीमा सुधार (बिहानको नित्यकर्मपछि पानी पिउने, समयमै खाने, सुत्ने एवं शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्ने, बेलुका खाना खाएपछि एक माइल जति हिँड्ने), सुर्तीजन्य पदार्थको तलतल लागेमा फलफूल, पानी खाने, निकोटिन प्रतिस्थापन औषधीजन्य पदार्थ (सिन्काउलीको स्वादका चुइङ्गम चुस्ने पदार्थ, प्याच) को प्रयोग गर्ने, सुर्ती त्याग गर्न विभिन्न सञ्चार माध्यमका सन्देशमूलक जानकारी राख्ने र स्वस्थकर बानीव्यवहार अपनाउने गरियो भने सुर्तीजन्य पदार्थ त्याग्न सकिन्छ । आम जनचेतना तथा शिक्षा शैक्षिक अभियानका माध्यमबाट आम सञ्चार माध्यम तथा विद्युतीय साधनलाई परिचालन गरी सुर्ती एवं विद्युतीय चुरोट (भेप) सेवन गर्दाको जोखिमबारे प्रकाश पार्नु पर्छ । सबै खाले सुर्तीजन्य पदार्थ त्याग गर्न प्रोत्साहन गर्नु पर्छ । विद्यालयस्तरीय युवा कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न विभिन्न जटिल रोगको जोखिमबारे स्वास्थ्य शिक्षाका माध्यमबाट उनीहरूको व्यवहार परिवर्तनमा सघाउ पुर्याउँदै पैरवी गर्ने सिप सिकाउनुपर्छ । सामुदायिक सुदृढीकरण : धुवाँरहित वातावरण बनाउन सार्वजनिक स्थल, कार्यस्थल, सार्वजनिक यातायात आदिलाई सुर्तीजन्य पदार्थमुक्त वातावरण बनाई सुर्ती सेवन नगर्नेका लागि शतप्रतिशत धुवाँरहित वातावरण बनाउन पैरवी गर्नुपर्छ । समुदायस्तरबाट बहस पैरवी गरी खासगरेर सुर्तीजन्य पदार्थ उत्पादन तथा बिक्री गर्न रोक लगाउन स्थानीय सामुदायिक नेतालाई परिचालन गर्नुपर्छ । सुर्तीजन्य पदार्थ सेवन त्याग सेवामा पहुँच ः समुदायस्तरसम्मका स्वास्थ्य सेवाप्रदायकलाई आवश्यक तालिम प्रदान गरी सुर्ती सेवनकर्ताको नियमित स्वास्थ्य परीक्षणमा संक्षिप्त सुर्ती सेवन त्याग कार्यक्रम (सोधपुछ, सल्लाह, पहुँच, सहयोग, व्यवस्थापन) सञ्चालन गर्नुपर्छ। संरचनागत सहयोगमा आवश्यक निर्देशिका, विद्युतीय सन्देशमा आर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गरी २८/३० दिनभित्र सुर्ती त्याग गर्न सघाउ पुर्याउनुपर्छ ।
विश्व स्वास्थ्य संगठन तथा टोवाको एटलासका पछिल्ला तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब २८ हजारभन्दा बढी मानिसको मृत्यु धूम्रपान तथा तमाखु सेवनका कारण हुने गरेको छ। तमाखु सेवनका कारण फोक्सो, मुख, घाँटी र खाना नलीको क्यान्सर, मुटुरोग, पक्षघात तथा श्वासप्रश्वाससम्बन्धी रोग तीव्र रूपमा बढिरहेका छन् । नेपालमा विशेषगरी मुख तथा फोक्सोको क्यान्सरका धेरै घटना सुर्तीजन्य पदार्थ सेवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित देखिएका छन् । अध्ययनहरूले नेपालमा तमाखुजन्य पदार्थका कारण हुने मृत्यु र रोगको भार अझै उच्च रहेको देखाएका छन् । ग्लोबल बर्डन अफ डिजिजसम्बन्धी अध्ययनअनुसार तमाखुका कारण हुने रोग तथा अकाल मृत्यु नेपालको प्रमुख जनस्वास्थ्य चुनौतीमध्ये एक बनेको छ। अहिले नै प्रभावकारी नियन्त्रण, कडा कानुनी कार्यान्वयन, विद्यालयस्तरबाट सचेतनो अभियान तथा युवापुस्तालाई लक्षित रोकथाम कार्यक्रम सञ्चालन गर्न सकिएन भने भविष्यमा नेपालले अझ गम्भीर स्वास्थ्य र आर्थिक संकट सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन् । तमाखु सेवनले मानव स्वास्थ्यमा मात्र होइन, वातावरण र अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष करिब ३५ लाख हेक्टर जमिन तमाखु खेतीमा प्रयोग हुने गरेको छ। यसका कारण वन विनाश, माटोको उर्वराशक्ति ह्रास तथा अत्यधिक रासायनिक विषादीको प्रयोग बढिरहेको छ। तमाखु उत्पादन प्रक्रियाले ठूलो मात्रामा पानी र काठको खपत गर्ने भएकाले वातावरणीय सन्तुलनमा समेत नकारात्मक असर परेको छ । (भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) सह–प्राध्यापक, अर्थशास्त्री तथा अधिवक्ता हुन् ।)