फिफा विश्वकप २०२६ मा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ। दोस्रो हाफमा १४ मिनेटको अन्तरमा दुई गोल गर्दै दक्षिण कोरियाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
मेक्सिकोको ग्वाडालजारा रंगशालामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा चेक रिपब्लिकले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नुपर्यो।
खेलको ५९औं मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई १–० को अग्रता दिलाएका थिए। तर, दक्षिण कोरियाले दबाब कायम राख्दै आठ मिनेटपछि खेलमा फर्कियो। ६७औं मिनेटमा ह्वाङ इन–बियोमले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याए।
चेक रिपब्लिकले ७७औं मिनेटमा पुनः अग्रता लिएको जस्तो देखिए पनि थोमस सुसेकको गोल अफसाइडका कारण मान्य भएन। फ्रिकिकबाट आएको बललाई उनले हेडमार्फत जाली चुमाए पनि भिडियो सहायक रेफ्री (भिएआर) को परीक्षणपछि गोल रद्द गरिएको थियो।
त्यसको तीन मिनेटपछि दक्षिण कोरियाले निर्णायक प्रहार गर्यो। ८०औं मिनेटमा ओह ह्योङ–युले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक सुरक्षित गर्यो।
यो दक्षिण कोरियाको चेक रिपब्लिकविरुद्ध विश्वकप इतिहासमै पहिलो जित हो। साथै, १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले उद्घाटन खेलमा जित निकालेको यो चौथो अवसर पनि हो।
यस जितसँगै समूह ‘ए’ मा दक्षिण कोरियाले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। समान तीन अंक भए पनि गोलअन्तरका आधारमा मेक्सिको शीर्ष स्थानमा रहेको छ।
चेक रिपब्लिक र दक्षिण अफ्रिका भने पहिलो खेलपछि अंकविहीन रहेका छन्। चेक रिपब्लिक तेस्रो स्थानमा छ भने दक्षिण अफ्रिका समूहको पुछारमा रहेको छ।