काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा आयोजक संयुक्त राज्य अमेरिका ले पाराग्वे माथि ४–१ को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
अमेरिकाको लस एन्जलसस्थित स्टेडियममा शुक्रबार भएको खेलमा घरेलु टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै पाराग्वेमाथि दबाब बनाएको थियो। खेलको सातौँ मिनेटमै पाराग्वेका डेमियन बोबाडिल्लाको आत्मघाती गोलबाट अमेरिका अग्रता लिन सफल भयो।
स्टन म्याकेनीको प्रहार रोक्ने प्रयासमा बोबाडिल्लाले बल आफ्नै पोस्टमा छिराएपछि अमेरिका १–० ले अघि बढेको थियो।अमेरिकाले ३१औँ मिनेटमा अग्रता दोब्बर बनायो। टोलीका फरवार्ड फोलारिन बालोगुनले सुन्दर गोल गर्दै स्कोर २–० पुर्याए। पहिलो हाफको अतिरिक्त समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने प्रयास गर्दै ७३औँ मिनेटमा मौरिसियोमार्फत एक गोल फर्कायो। तर त्यो गोल केवल सान्त्वनामा सीमित रह्यो।
खेलको अतिरिक्त समयमा जियोभानी रेयनाले अर्को गोल थपेपछि अमेरिका ४–१ को शानदार जित निकाल्न सफल भयो। यस जितसँगै अमेरिका समूह ‘डी’ मा तीन अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।