बहुचर्चित नवजागरण अभियन्ता पाथीभरा माताका सिपाही दुर्गा प्रशाईं र पश्चिम नेपालमा भलाद्मी छवी बनाएका राप्रपाका वरिष्ठ नेता धवल शमशेर जबरा जोडी मिलेर नयाँ पार्टी खोल्ने समाचार आउँदा अलिकति निराशा ठेस जस्तो सामयिक राजनीतिमा भ्रमित दुर्भाग्यपूर्ण पाठ्यक्रम थाहा हुन्छ । दुर्गा प्रशाईंले आजसम्मको आफ्नो जनघात, राष्ट्रघात, भण्डाफोर नवजागरण अभियान परित्याग गरेर नयाँ पार्टी खोल्न सुर कसेको बताएका छन् । धवल शमशेरले दुर्गासँग मिलेर नयाँ पार्टी खोल्न राप्रपा परित्याग गरेको बताएका छन् ।
धवल शमशेरका बारेमा मेरा पश्चिमाञ्चलका एक कांग्रेसी मित्र विनयध्वज चन्दले बताएका जति भन्दा बढी थाहा छैन । तथापी राष्ट्रियताको स्वाभिमानमा किर्तिमानी (जंगबहादुर, चन्द्रशमशेर) राखेका राणा लिगेसीका आध्यात्मिक चेतनाले ओतपोत भलाद्मी व्यक्तित्व देखेर (मिडियामार्फत) नोटिसमा राख्नेगरेको थिएँ । धवल शमशेरको राजनीतिक शिक्षा दीक्षा, विचारधारा, दृष्टिकोण, भ्रमित पुरातन ग्रस्त मानसिकता, इतिहास चेतको अभाव देखिए पनि देश बेच्ने हदसम्म उनको राजनीति जादैन भन्ने एकखालको विश्वास रहेकाले नै उनका बोली, वचन, क्रियाकलाप थाहा राख्ने गरेको हुँ ।
धवल शमशेर बारे यसभन्दा उता आफ्नो भन्नु केही नभए पनि दुर्गा प्रशाईं बारे भने मलाई भन्नु धेरै छ । लिगेसीको कुरामाथि नै ल्याइसकेको छु । साँच्चै भन्ने हो भने मैले उनका हाउभाउ, बोलिवचन, गतिविधि प्रति चासो राखेर नोटिसमा लिन थालेको नै उनका हजुरबा का हजुरबा राम प्रशाईंले राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट राष्ट्र निर्माण एकीकरण अभियानमा निर्णयक योगदान (सेना पाल्न सेल्टर र ठूलो धनराशी) पुर्याए बापत तक्मा पुरस्कार पाएको लालमोहर प्रमाण देखे भेटेपछि नै हो । राष्ट्र निर्माताका लंगौटिया यार सरह हजुरबाका नातिले अरु जे जे संगत गुनाको फल उटपटाङ प्रचण्ड ओली (सुरुमा कांग्रेस त्यसपछि माओवादी र एमाले कालक्रममा मार्सी चामलको भोज एमाले माओवादी दुवै) शैली देखाए पनि यिनीबाट नेपाल (आमा) बेच्ने काम भने हुँदैन भन्ने मलाई लागेको हो ।
कालक्रमको महेन्द्र राज विक्रम संवत् ०२७/२८ साल आइपुग्दासम्म दुर्गाका हजुरबा पिता धान चामल निर्यात कम्पनी सरकारी साइनबोर्ड तहत मिल खडा गरेर उद्योगी व्यापारी कहलिएर प्रख्यात प्रतिष्ठित थिए । त्यही प्रतिष्ठाको शिकार भएर मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सिपी मैनाली, मनिकुमार गौतम आदि इत्यादिको जमिन्दारको टाउको छिनाल नक्शलाइट (चारु मजुमदार) आतंकमा उनका काका बडाबाका टाउको काटिएका भनेपछि राजनीतिक पीडित परिवारको हिसाबले उनको राजनीतिक पाठ्यक्रम क ख जन्मजात अक्षरज्ञान भएको देखिन्छ । त्यसैकारण आमाले मकैबारीमा बोडी टिप्दा टिप्दै जन्मिएको आफूलाई भूमिपुत्र दावेदार र आठ कक्षा भन्दा उता पढ्न नपाएका दुर्गा प्रशाईंले सामयिक नेपाली राजनीतिको मूल समस्या ओली, देउवा, प्रचण्ड आदि इत्यादिले आँकलन गर्न नसकेका जरासम्म पुगेर हल्लाउन सफल भए । चार वर्ष पहिले उनले बोलेका एउटा कथन अहिले पनि मेरा कानमा गुञ्जिरहन्छ । उनले बोलेका थिए ‘सुकेको दाउराको थुप्रोमा मट्टितेल खनाइएको अवस्थामा पुगेको जनआक्रोश र विद्रोहको जगमा ठडिएको पाँचतारे महलका छतमा उत्तानो परेर तिमीहरू देउवा, प्रचण्ड, ओली आदि इत्यादि आकाशतिर जुन हातखुट्टा उफारिरहेका छौ, कतैबाट एउटा सलाइको काँटी सल्किनासाथ छतबाट मुलगेटसम्म आइपुगेर भाग्ने अवसर पनि पाउँने छैनौ’ नभन्दै चारवर्ष अघिको दुर्गाको यो कथन गत भाद्र २४ गते देउवा, ओली, प्रचण्डका हकमा अक्षरसः हुबहु चरितार्थ भयो । दुरदर्शीता उपलब्ध हुन डिग्रीका चाङ र इतिहासका भारी काम लाग्दैन । राजनेता हुनका लागि उसको अन्तर्य र नियत चोखो र निस्वार्थी (व्यक्तिगत) हुनैपर्छ ।
दुर्गा प्रशाईंको राजनीतिक इतिहास या डिग्री जे भने पनि ०४६ सालको आन्दोलनमा गणेशमानको रक्षक भएर निर्दलीयताका अन्तिम प्रधानमन्त्री द्वय मरिचमान सिंह र लोकेन्द्र बहादुर चन्दका गाडीमा ढुङ्गा हान्न पुगेका । बाबुराम प्रचण्डका दश वर्षे हिंसात्मक रगतपच्छे दुर्भाग्य कालखण्डमा भारतीय सैनिक गुप्तचरसंस्था ‘रअ’ द्वारा नेपाललाई भुटान हुँदै सिक्किम पु¥याउने माओवादी हिंसा नबुझेर माओवादी बन्दुके ठानिएर सैनिक हिरासत झेलेका हर्कतलाई पनि उनको राजनीतिक प्रशिक्षण नवचेतना विकास नै ठान्नुपर्ने हुन्छ ।
दुर्गाले आफ्नो भुइँमान्छे नवजागरण अभियानको सुरुवात बडो शानदार ढंगले गरे । दाइमाराको प्रायोजित अवगाल झेल्दै पशुपतिनाथको शरणमा न्यायको गुहार माग्दै दिन काटिरहेका राजा ज्ञानेन्द्रलाई आम जनसभाको भव्य मञ्चमा उभ्याएर परेवा उडाउन लगाइ अभियानको उद्घाटन गरे । यसरी चौतार्फी दुत्कारेर आरामको स्वास फेर्न पनि सकसमा पुर्याएर एक्ल्याइएका राजा ज्ञानेन्द्रलाई शीरमा राखेर नेपाल बचाऊ नवजारण अभियानमा हामफालेका दुर्गालाई सुरुका दिनहरूमा कांग्रेस, एमाले, माओवादीका नारा र भाष्य निर्माता प्रा.डा. जमात र १२ भाइका नामले चिनारी पाएका परचक्री फन्डीङका रिक्रुट पत्रकारजगतले आठ कक्षा पढेको दुर्गाले के लछारपाटो लाउँछ भनेर खुब खिल्ली उडाउने उछितो काढ्ने काम गरे । तर आफ्नो पुर्खौली इतिहासलाई साक्षी राखेर पाथीभरा मातालाई क्यानसर पिडित आफ्नो ज्यान जिम्मा लगाएर राजसंस्था फर्काएर हिन्दु राष्ट्र कायम गर्ने धर्म संस्कृति, स्वाभिमान सार्वभौमिकता जोगाउने नवजागरण क्रान्तिमा होमिएका दुर्गाको दूरदृष्टि देश बेचेका मानव तस्करीमा संलग्न कांग्रेस, एमाले, माओवादी, राप्रपा आदि इत्यादि दलहरूका परचक्री प्यादाहरूलाई अन्दाज हुने कुरै भएन । उनलाई भने दुइ तीन वर्ष अघि नै २३/२४ भदौ ०८२ को जनआक्रोश र विद्रोह विस्फोटको पूर्व संकेत भइसकेको थियो ।
धवल शमशेरको प्रोभोकमा परेर दुर्गा प्रशाईंले आफ्नो राजा (राजसंस्था) बाट उद्घाटन भएको पुरानो अभियान त्यागेर नयाँ पार्टी खोल्ने सुरसार गर्न लागेका समाचार सुन्दा देख्दा उनीबारे यति विवरण चासोको खास कारण प्रष्ट पार्छु । यो तथ्यमा स्वयं दुर्गा प्रशाईंको दूरदृष्टि पुग्न नसक्नु उनको निजी पाथीभरा मातासँग वचन भंग या पालनाको कुरो भयो । तर दुर्गा प्रशाईंको दूरदृष्टि पुग्न सकेन भनेर तथ्य परिणाम झूठो हुने भन्ने त हुन्न । टड्कारो र एकदम अकाट्य प्रमाणित तथ्य के हो भने अहिले प्रधानमन्त्री बालेन शाह सरकारको बागडोर सम्हालेर चाँहदा खेरी देश जनता र प्रणालीको हितमा काम गर्न (पृथ्वीपथ) सक्ने जुन ठाउँमा पुगेका छन् यस गन्तव्यको मूल बाटो दुर्गा प्रशाईंले नै खोलिदिएका र खनिदिएका हुन् । दुर्गाले विजारोपण गरिदिएको नवजागरणको बिउ उम्रेर फूलेर फक्रेर अहिले ‘बालेन फल’ उपलब्ध हुन सफलता मिलेको हो । यसमा अमेरिकामा बसोबास गर्दै आएका नेपालभक्त प्रखर पत्रकार टंक दाहालको योगदान अतुलनीय छ ।
दुर्गा त्यहाँ नेरी चिप्लिए जुन उनको लक्षित गन्तव्यमा पुग्न सबै पाइलाहरू उक्लिइसकेर एउटा पाइला मात्र बाँकी थियो । यहाँ नेरी आइपुग्दा सोझा दुर्गालाई पुराना कांग्रेस राप्रपाका भागवण्डा मिलेर खाउँ भाले लोकतन्त्र प्रतिस्पर्धामा पछारिएका लोकप्रिय विचौलियाहरूको धेरै घेराउमा परेर पनि आफ्नो दुरदृष्टि उघार्न नपाएका हुन सक्छ । २५ फागुन ०८१ को पोखराबाट राजा ज्ञानेन्द्र राजधानी आउँदा काठमाडौंका सडकमा उर्लिएको जनसागर गतिशील स्थापित भइसकेपछि र सारा विश्वले चकित परेर ‘मान्यौं अब’ मान्यता ओइरो लागिरहेको पृष्ठभूमिमा तत्काल १५ चैतको हुंकार आवश्यक थिएन । अहिले नयाँ पार्टी खोल्छु भनेर फेरि चिप्लिन खोजेजस्तै १५ चैतको हुंकारले उनी चिप्लिएका हुन् । कालक्रममा पाथीभरा माताले काख थापिदिनुभएको पनि हुनसक्छ कि दुर्गाको त्यही चिप्लाइ बालेनको अहिलेको उदय हुन पुगेको छ । त्यही १५ चैत दुर्गा हुंकारमा ओली सरकारको निरंकुश, निर्मम दमन हत्या प्रकरण क्रियाको प्रतिक्रिया नै भाद्र २३/२४ (२०८२) को विष्फोट भएर बालेन शाहको आजको पोजिसन उपलब्ध भएको हो । यहाँनेरि प्रधानमन्त्री बालेन शाहप्रति दुर्गा प्रशाईंको भूमिका अभिभावकीय मार्गदर्शकको हुनुपर्छ न कि हर्क साम्पाङको मुर्खता जस्तो । बालेनको अन्तर्य स्वार्थी र खोटो भेटिए (२०७२ को संविधान अन्त्येष्ठीमा ढिलाइ गरे) त्यसको हिसाब छिनोफानो पाथीभरा माताबाट हुने उदाहरण देउवा, ओली, प्रचण्ड प्रत्यक्ष सामने छँदै छन् ।
दुर्गा प्रसाईं धवल शमशेरबाट कुरो थालेर उहाँहरू जस्ता केशर बहादुर विष्ट, जगमान गुरुङ नयाँ पुस्ताका स्वागत नेपाल, मनोज सापकोटा आदि इत्यादि ठूलो जमातका जति पनि ‘पृथ्वीपथ’का आकांक्षी अनुयायीहरू हुनुहुन्छ बालेन शाहलाई नचिनेका दिनसम्म अवरोध नपुर्याएर काम गर्न दिनुपर्छ । परम्परागत हनिमुन डेको सयदिन पनि पुरा हुन नपाउँदै प्रधानमन्त्री बालेन शाहबाट बीपी कोइराला (सम्भावना) र त्यस पछिका एकजना कीर्तिनिधि विष्ट (जसका पछाडि महेन्द्र राजा थिए) बाहेक २००७ साल यताका अरू कुनै पनि प्रधानमन्त्रीहरूबाट हुन नसकेको काम हुन पुगेको छ । सीमा विवादमा वार्ताबाट निकासाको प्रस्ताव लग्यो कि हुत्याइदिने प्रधानमन्त्री नै फेरिदिने गरेको भारत अहिले आफैं वार्ताको टेबुलमा आइपुगेको छ । ‘हामीलाई नेपाल भारत सीमा विवादमा तेस्रो पक्ष साक्षी मान्य छैन’ भन्ने भारत सरकारको पछिल्लो अडान वक्तव्य वार्ता प्रारम्भ भएको प्रमाण हो । यसमा विगतमा कोटा र भागवण्डामा भारतका राजदूत भएका लोकराज बराल, निलाम्बर आचार्य, दिपकुमार उपाध्याय, शंकर शर्मा आदि इत्यादिले लाज पचाएर दाँत ङिच्चाउनुको कुनै अर्थ छैन । बल्ल अब सन् ५० को सन्धी यताका सबै असमान सन्धी सम्झौताहरूमा भारत नेपाल सौहार्दपूर्ण वार्ताको ढोका खुलेको छ । ३५ वर्षभन्दा बढी बन्दभएको वार्ताको ढोका खुल्नु एउटा अनिवार्य हुनै पर्ने काम भएको छ ।
अन्त्यमा ‘भारतको जमिन नेपालले मिचेको छ’ प्रधानमन्त्री बालेन शाहको संसद्को रोस्टमबाट जुन उद्घोष आयो त्यो उनलाई नै थाहा नभएर जिब्रोमा पाथीभरा माता बसिदिनुभएर आयो कि क्याल्कुलेटेड थियो ? त्यो त म भन्न सक्दिन, तर बालेनको त्यस्तो बोलीको ‘हाम्रो मिचेको जमिन फिर्ता आएन भने चीन, बेलायत, रुस, अमेरिका गुहारेर भए पनि मिचेर नै फिर्ता ल्याउँछौं’ भन्ने कुटनीतिक अर्थ लाग्दो रहेछ । त्यसैले सारा विश्वले बालेनको उदाहरण पाठ्यक्रम बनाएका रहेछन् । अस्तु ।