काठमाडौँ, फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
अमेरिकाको ह्युस्टनस्थित रंगशालामा सम्पन्न खेलमा जर्मनीले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि दबाब बनाएको थियो। जर्मनीका लागि काई हाभार्ट्जले दुई गोल गर्दा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नाथानिएल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे।
खेलको छैटौँ मिनेटमै एनमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर २१औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै ३८औँ मिनेटमा स्लोटरबेक र पहिलो हाफको अतिरिक्त समयमा हाभार्ट्जको पेनाल्टी गोलमार्फत ३–१ को अग्रता बनायो।
दोस्रो हाफमा जर्मनी झन् आक्रामक बन्यो। मुसियालाले ४७औँ मिनेटमा गोल गरे भने ब्राउनले ६८औँ मिनेटमा अर्को गोल थपे। त्यसपछि उन्डाभले ७८औँ मिनेटमा गोल गर्दा हाभार्ट्जले ८८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको शानदार जित पक्का गरे।
यस जितसँगै जर्मनीले समूह चरणमा महत्वपूर्ण तीन अङ्क जोड्दै विश्वकप यात्राको उत्कृष्ट सुरुआत गरेको छ। उता, कुरासाओ भने पहिलो खेलमै पराजित हुन पुगेको छ।