काठमाडौँ : एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान सम्पन्न समूह ‘आई’ अन्तर्गतको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।
नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गरे भने लियो ओस्टिगार्डले एक गोल थपे। नर्वेले एक गोल आत्मघाती उपहारका रूपमा प्राप्त गर्यो। इराकका आयमन हुसेनले टोलीका लागि एकमात्र सान्त्वना गोल गरे।
खेलको २९औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाए। तर त्यसको १० मिनेटपछि आयमन हुसेनले गोल फर्काउँदै इराकलाई १–१ को बराबरीमा ल्याए।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा, अर्थात् ४३औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा नर्वेले खेलमाथि पकड जमायो। ७६औँ मिनेटमा लियो ओस्टिगार्डले हेडमार्फत गोल गर्दै अग्रता ३–१ मा पुर्याए।
इन्जुरी समयको छैटौँ मिनेटमा इराकका खेलाडीले क्लियर गर्ने क्रममा बल आफ्नै पोस्टमा छिराएपछि नर्वेले अर्को गोल उपहारस्वरूप पायो र खेल ४–१ ले आफ्नो पक्षमा टुंग्यायो।
यो जितसँगै नर्वेले तीन अंक जोड्दै समूह ‘आई’ को शीर्ष स्थान कब्जा गरेको छ। समान तीन अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा पराजित भएका सेनेगल र इराक भने अंकविहीन छन्।
नर्वेले यसअघि पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो। फ्रान्समा आयोजित उक्त विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको नर्वे त्यसयता लगातार छनोट हुन असफल हुँदै आएको थियो। २८ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किएको नर्वेले भने यसपटक दमदार जितसहित आफ्नो उपस्थितिलाई स्मरणीय बनाएको छ।
हालान्डको दुई गोलले नर्वे समर्थकमा नयाँ आशा जगाएको छ भने टोलीले यस विश्वकपमा आफूलाई ‘डार्क हर्स’ का रूपमा प्रस्तुत गर्ने संकेत दिएको छ।