काठमाडौँ : कप्तान केलिएन एमबाप्पेको शानदार प्रदर्शनमा साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। अमेरिकाको न्यूयोर्क–न्यु जर्सी रंगशालामा सम्पन्न समूह ‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
फ्रान्सको जितमा कप्तान एमबाप्पेले दुई गोल गरे भने ब्राडली बारकोलाले एक गोल थपे। सेनेगलका इब्राहिम म्बायेले सान्त्वना गोल फर्काए।
पहिलो हाफमा सेनेगलले उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसको सदुपयोग गर्न सकेन। निकोलस ज्याक्सन र इस्माइला सारले गोल गर्ने सुनौलो अवसर खेर फाल्दा फ्रान्स दबाबबाट उम्किएको थियो।
दोस्रो हाफमा भने फ्रान्सले आफ्नो अनुभव र आक्रमण क्षमता प्रदर्शन गर्यो। खेलको ६६औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा बारकोलाले गोल थप्दै अग्रता दोब्बर बनाए।
इन्जुरी समयको सुरुआतमै इब्राहिम म्बायेले गोल गर्दै सेनेगललाई खेलमा फर्काउने संकेत दिएका थिए। तर त्यसको केही मिनेटमै एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–१ को जित पक्का गरे।
यो जितसँगै फ्रान्सले समूह ‘आई’ मा तीन अंक जोडेको छ। समान तीन अंक रहेको नर्वे गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो स्थानमा छ। सेनेगल र इराक भने पहिलो खेलपछि अंकविहीन छन्।
२४ वर्षअघिको हारको बदला
यस जितसँगै फ्रान्सले सेनेगलसँगको पुरानो हिसाब पनि बराबर गरेको छ। सन् २००२ को विश्वकपको उद्घाटन खेलमा सेनेगलले तत्कालीन साविक विजेता फ्रान्सलाई १–० ले स्तब्ध बनाएको थियो। २४ वर्षपछि फ्रान्सले विश्वकपकै मञ्चमा सेनेगललाई हराउँदै त्यो हारको बदला लिएको हो।
एमबाप्पेको नयाँ कीर्तिमान
सेनेगलविरुद्ध दुई गोल गरेसँगै एमबाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या १४ पुर्याएका छन्। उनले सन् २०१८ को विश्वकपमा चार तथा २०२२ को विश्वकपमा आठ गोल गरेका थिए।
१४ गोलसहित उनले फ्रान्सकै महान् स्ट्राइकर जस्ट फोन्टेनको १३ गोलको कीर्तिमानलाई पछि पारेका छन्। विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा एमबाप्पे जर्मनीका गर्ड मुलरसँग संयुक्त रूपमा तेस्रो स्थानमा पुगेका छन्। अब उनी सर्वाधिक १६ गोल गरेका जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानभन्दा मात्र दुई गोलले पछि छन्।
यस्तै, एमबाप्पेले फ्रान्सका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनले ५८ अन्तर्राष्ट्रिय गोल पूरा गर्दै ओलिभिए जिरुडको ५७ गोलको पुरानो कीर्तिमानलाई उछिनेका हुन्।
विश्वकपको सुरुवाती खेलमै कप्तानको प्रेरणादायी प्रदर्शनसँगै फ्रान्सले उपाधि यात्राको स्पष्ट संकेत दिएको छ भने एमबाप्पे व्यक्तिगत रूपमा पनि इतिहास रच्ने अभियानमा तीव्र गतिमा अघि बढिरहेका छन्।