काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ढुलमुले नीतिको कारण सेयरबजारमा लगानी गर्नेहरू थप निराश भएका छन् । झण्डै दुई तिहाइको स्थिर सरकार गठन भएपछि सेयरबजारमा सुधार आउने अपेक्षा गरिए पनि नआएपछि लगानीकर्ताहरू निराश देखिएका हुन् ।
जेठ १५ गतेको बजेटपछिका अधिकांश दिन सेयरबजार घटिरहेको छ । बजेटअघि पनि सेयरबजार घटेको थियो । तर बजेटपछि बढ्छ भनेर अनुमान लगाउनेहरू अब मौद्रिक नीतिपछि बजार बढ्छ भन्ने आकलन गरेर बसेका छन् । तर, सरकारको नीति स्पष्ट नभएको कारण बजार निराशाजनक अवस्थामा छ ।
बिहीबार पनि सेयर बजार परिसूचक पुनः खुम्चिएको छ । बुधबार शून्य दशमलव शून्य आठ अंकले उकालो लागेको नेप्से बिहीबार पाँच दशमलव शून्य छ अंकले ओरालो लागेर २७ सय दशमलव ४७ विन्दुमा खुम्चिएको छ । यस दिन तीन सय ४७ वटा सेयर ४१ हजार एक सय चार पटक कारोबार हुँदा कुल तीन अर्ब ४१ करोडको किनबेच भएको छ ।
यस दिन पाँच समुहह बढे पनि बाँकी घटेका छन् । वाणिज्य बैंक, फाइनान्स, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समूह बढे भने बिकास बैंक, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक र अन्य घटेका छन् । यस दिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा एपोलो हाइड्रोपावर कम्पनी लिमिटेड परेकोमा गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा प्रभु बैंकको ऋणपत्र २०८४ परेको छ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड भने यस दिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको छ ।