रामधुलाइ पछि विदेश पलायन भएका शेरबहादुर देउवा (नेपाल सरकारबाट रेडकर्नर नोटिस जारी) नेपाली कांग्रेसको चौधौं महाधीवेशनबाट दोस्रोपटक सभापतिमा निर्वाचित हुनुअघिको कुरो हो यो । संयोगले यो साप्ताहिक स्तम्भ प्रारम्भ भएको असार ०८२ बाट ०८३ असारमा एक वर्ष पूरा भएकोमा कुरो उही देहोर्याउन सान्दर्भिक हुन पुगेको छ । शायद यस्तै संयोगलाई दूरदृष्टि भन्ने गरिन्छ ।
त्यसबखत जननायक बीपी कोइरालाका कान्छा पुत्र मेडिकल डाक्टर शशांक कोइराला र गिरिजा सत्ता चकाचौध कालखण्डमा पछि देउवा कालखण्डकी आरजु देउवालाई उछिन्ने शैलीमा सत्तामा डाडु पन्यु चलाएकी गिरिजाकी भाउजु नोना कोइरालाका छोरा मेडिकल डाक्टर नै शेखर कोइराला यी दुई उधुम मच्याउने शैलीमा ‘भावी समाभतिको आफू उम्मेदवार’ भन्दै देश दौडाहामा निस्केका थिए । दुवैको दाबी शेरबहादुर देउवालाई आफूले मात्र हराउन सक्ने हुन्थ्यो । आम कांग्रेसजन (कमारा कमारी) चाहिं दुवै मिलेर मात्र हराउन सक्छौ भन्दथे । त्यस्तैमा पोखराका भेट्रान कांग्रेस नेतृत्व शुक्रराज शर्मा (प्रतिबन्धकालमा १६ वर्ष कास्की कांग्रेसका अध्यक्ष, हाल गण्डकी प्रदेश अध्यक्ष)ले शशांक कोइरालालाई प्रमुख अतिथि मलाइ र प्रा.डा. सुरेन्द्र केसीलाई वक्ता बनाएर आफ्नो ‘कांग्रेसमा समर्पित ५२ वर्ष’ पुस्तक चर्चा कार्यक्रम राख्नुभएको थियो । शशांक—शेखर कोइराला बारे त्यहाँ मैले बोलेका कुरा हालै विराटनगर (उनीहरूको जन्मस्थल)मा दुवैको दुर्दिन सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सुन्दा देख्दा अहिले अक्षरस प्रमाणित भएको छ । त्यहाँ शशांक कोइराला भन्दै थिए ‘विराटनगरमा त धेरै घरहरू बनिसकेछन्’ उनको यस वक्तव्यबाट राजनीतिको अर्कै धरातलमा उनी पुगिसकेका अर्थ लाग्छ । कोरोनाकालको अवैध व्यापारको गोदाम फेला परेर २४ भाद्रमा शेखर कोइरालाको घरलाई विराटनगरवासीले खरानी तुल्याइ दिएपछि उनी डाक्टर साहेब के के बरबराउदै हिँड्छन् कांग्रेस भित्रका मुठ्ठीभर कमारा कमारीबाहेक कसैलाई कुनै अर्थ राख्ने कुरै भएन । यसैलाई मैले ‘दुर्दिन’ भनेको हुँ र कारण बताउन अग्रसर हुँदैछु ।
पोखरा त्यहाँ मैले तत्कालीन समयका कांग्रेस महामन्त्री शशांक कोइरालालाई सम्बोधन गर्दै बोलेको थिएँ ‘जुन समय शशांक कोइरालालाई बनारस सारनाथमा भीमबहादुर तामाङ औँलो समाएर स्कुल लाने ल्याउने गर्नुहुन्थ्यो त्यो समय म गंगाको किनार बालुवाको ढिस्कोले छेलिएर सहिद क्याप्टन यज्ञबहादुर थापा र गोपाल राइबाट बम बन्दुक पड्काउन प्रशिक्षित भइरहेको थिएँ । अहिले मेरो नेता हुन आइपुगेका शशांक मलाई चिन्दैनन् । त्यसमा मेरो कुनै गुनासो छैन । कहिलेदेखि शशांक डाक्टर पेशा छोडेर कांग्रेस भए ? त्यो आफूलाई थाहा नभएकोमा पनि कुनै प्रश्न छैन । शुक्रराज शर्मा, हामीहरू प्रजातन्त्र प्राप्तिको संघर्षको मैदानमा ज्यान हत्केलामा राखेर कांग्रेस भइरहेका बखत शशांक डाक्टरी पढिरहेका थिए । (एउटा नेपालीलाई डाक्टरी पढ्न कति महँगो सबैलाई थाहै छ) पार्टी इतिहास, सिद्धान्त, आदर्श, विवेक, विधानका हिसाबले हाम्रा (शुक्रराज आदि इत्यादि) अगाडि सभापतिमा शशांकको हक दाबी पुग्दैन । तर वंशवादको यो समस्या हाम्रो मात्र नभएर एसिया, अफ्रिका, युरोपसम्म फैलिएको हुँदा भोट दिने हिसाबले नै साथ पनि दिउँला । तपाइँ कांग्रेसको महामन्त्री त हुनुभएको छ तर कांग्रेस विनाश र पतनको जुन खाल्डोमा जाकिएको छ त्यो तपाइँलाई अन्दाज छैन । रामचन्द्र पौडेलको भर परेर सभापतिमा शेरबहादुर देउवालाई पक्का हराउने जुन दाबी तपाइँ अहिले गरिरहनुभएको छ । गोल्छे सार्कीको पञ्जाछाप गालामा बोकेका रामचन्द्र पौडेललाई तपाइँले चिन्नुभएको छैन । ‘निष्ठाका सगरमाथा गणेशमान सिंह’ २०५४मा बजारमा आएको मेरो पुस्तक पढ्नुहोस् आंशिक परिचय पाउनुहुन्छ । लेखेर राख्नुहोस् अन्त्यमा रामचन्द्रले शेरबहादुरलाई नै साथ दिन्छन् र जिन्दगीमा तपाइँ कहिले पनि कांग्रेसको सभापति बन्न पाउनु हुने छैन । तर मेरो एउटा सल्लाह मान्नुभयो भने कांग्रेसको सर्वमान्य नेता हुने सम्भावना चाहिं छ । तर त्यसका लागि तपाइँले आजैका मितिदेखि कांग्रेस महामन्त्रीका हैसियतले एउटा निर्णय गर्नुपर्छ । त्यो भनेको अक्षर नचिनेको पिछडिएको अनकन्टार गाउँको पनि पकाएर खाने स्त्री पुरुष सबैले छर्लङ्ग हुने गरी बुझीसकेको तथ्य के हो भने कुनै पनि हालत र अवस्थामा चालू संघीय संरचना नेपालले धान्न सक्दैन नेपाल आमाले थेग्न सक्नुहुन्न । तपाइँ यही मञ्चबाट ‘प्रदेश खारेजी’ को सत्याग्रह आह्वान गर्नुहोस् । देउवा, रामचन्द्र, शेखर के गर्छन् त्यता तिर वास्ता नगरेर अगाडि बढ्नुहोस् ।’
यति कुरा पक्का के भन्न सकिन्छ भने यदि शशांक कोइरालाले मेरो माथि उल्लिखित सम्बोधनको सल्लाह त्यतिखेर मानिदिएका भए अरु केही नभए पनि यतिखेर उनी कांग्रेसको सर्वमान्य नेता भने भइसकेका हुन्थे । किनभने उनीसँग बीपीको लिगेसी थियो र देश बेचेको मानिस बेचेको कुनै अवगाल थिएन । शशांकका अगाडि रामचन्द्र शेरबहादुरहरूको चुँ गर्ने हैसियत हुन्नथ्यो । उनीहरूको महाकाली सन्धी गरेर लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्शाभित्र पुर्याएको राष्ट्रघात आमा बेचेको अपराध जनअदालतमा दर्ता भइसकेको थियो । राष्ट्रघातको अपराध सात पुस्तासम्म अभिशाप रहिरहने स्वामी विवेकानन्दले लेख्नु बोल्नुभएको छ । यो पृष्ठभूमिमा शशांकको ‘प्रदेश खारेजी’को झण्डा चारतारेको आधिकारिक माग स्थापित हुन्थ्यो । तर दुर्गति दुर्दिन मैले सल्लाह दिएको त्यस्तै ५÷६ वर्षको अवधिमा त पजेरो, भ्यान, नोटले भरिएका ब्रिफकेसहरू कांग्रेसको टिकट बेचेको मूल्य घर भित्र्याइरहेका प्रत्यक्ष दृश्य पो सामाजिक सञ्जालमा भाइरल भएको पाइयो । कांग्रेस सकिएको थाहा पाएर मनमनै अमिलो धिक्कार भनें ।
माथि अलिकति गिरिजा लिगेसीको कुरो आएको छ । यो पाठ्यक्रम गुगलमा पनि उपलब्ध छ । माओवादीलाई भित्र्याएर मुलुकमा शान्ती ल्याएका भनेर पशुपति आर्यघाटमा विशाल मलामी देखिएका थिए । गिरिजाकी छोरी सुजाता कोइराला उपप्रधानमन्त्री, परराष्ट्रमन्त्रीसमेत भएर कांग्रेसमा कसलाई सभापति बनाउने, गगन थापालाई के गर्ने ? हैसियत ठान्ने देउवा सत्ता चकाचौधकालकी आरजु देउवा जस्तै शक्तिशाली । बुवाको मृत्यु भएको दुई तीन वर्ष कति भएको थियो सुजातालाई बुवा (गिरिजा)को सालिक आफ्नै घर अगाडिको सरकारी जग्गामा ठड्याउने ख्याल आयो । सुजाताको एक इशारामा सबै काम फत्ते गरिदिने प्रा.डा. जमातको एउटा भीड हरदम तयार रहन्थ्यो । नोट भएपछि एक हप्तामै विशाल कदको सालिकसहित ईँटा, सिमेन्टी, छडलगायत सबै आवश्यक सामान जुटिहाल्यो । तर यसबीच गिरिजाले माओवादी भित्र्याएर शान्ति ल्याएका भनिएको त्यो त नेपाल सक्ने ढोका पो खोलेका रहेछन् भन्ने जनजनका मोबाइलसम्म छर्लङ्ग भइसकेको थियो । जब मजदुर जम्मा भएर काम थाल्न सुरु गरे त वस्ती भित्रका गाउँलेहरू चारैतर्फबाट मजदुरको भेषमा हुल बाँधेर आए र ‘यो भ्रष्टाचारी, राष्ट्रघाती, जनतामारा गिरिजाको यहाँ के को सालिक ?’ भन्दै ईँटा, सिमेन्ट, रड सबै छरपस्ट गर्दै डाँडा कटाइदिए र सालिकलाई पनि धुजा धुजा पारिदिए । विचरा सुजाता (आरजु)को शक्ति त्यतिखेर केही लागेन । छक्क परेर टोलाइ मात्र रहिन् । फोनको वटन थिच्न नपाउँदै आँखा झिमिक्क गरेको शैलीमा पाँच मिनटमै काम फत्ते गरेर भिड गायव भयो । पुलिसमा उजुरी गर्न जाउँ लाजको पसारो ‘राष्ट्रघाति, भ्रष्टाचारी, जनतामारा’ भनेका व्यहोरा उजुरीमा उल्लेख गनुपथ्र्यो । जुन एकदम सत्य हो भन्ने सुजाताले बाहिर नाटक गरे पनि अन्तर्यमा थाहा थियो । त्यै राष्ट्रघात, भ्रष्टाचार, जनतामाराको परिणाम अहिलेको उनको रजगज थियो । सुजाताले उजुरी गर्ने कुरै थिएन । धन्न कान्तिपुरले कताबाट अग्रीम सूचना पाएछ र सचित्र वर्णण कान्तिपुरको फ्रन्ट व्यानर समाचार प्रकाशित गरिदिएर भावी पुस्तालाई ‘सवक’को यो पाठ्यक्रम उपलब्ध हुन सम्भव भयो ।
‘सवक’ पाठ्यक्रम भनेको यो शेर बहादुर देउवा एमसीसी संसद्बाट पास गरेर बुढानीलकण्ठ घर (जुन २४ भाद्रमा खरानी भयो) जाँदा पुग्दावखतको घटना हो । पाँचपटक प्रधानमन्त्री भएको व्यक्ति आफ्नो टोलमा बसोबास गर्न आइपुगेको पाउँदा स्थानीयबासीहरूले सम्मानस्वरूप देउवा घरतर्फ मोडिने चोकलाई ‘देउवा चोक’ नामकरण गरिदिएका थिए । चोक वरिपरिका सयकडौं पसलहरूमा ‘देउवा चोक’ नामका साइनबोर्डहरू शोभायमान थिए । देउवा चोक बस्तीका सारा जनता सडकमा आएर राष्ट्रघातीको अवगाल देउवा चोक नाम गरेका सबै साइनबोर्डहरू सडकमा फालेर पछि घरलाई जस्तै खरानी बनाइदिए र पुरानै सरस्वती बस्ती कायम राखियो । देउवाले यो घटनाबाट ‘सवक’ लिएर सुध्रेर देश, जनता, प्रणाली भनेका भए मात्र पनि आजको रामधुलाई पछि विदेश पलायन सकस अवगाल झेल्नु पर्दैन थियो कि भन्ने पंक्तिकारको अनुमान मात्र हो । हुन त पापको श्राप र धर्मको आशीर्वाद अनिवार्य भन्ने गीतावचन नै छ ।
नेपाली कांग्रेस गिरिजा लिगेसी देउवा कांग्रेसका एआई उत्तराधिकारहरू पूर्णबहादुर खड्का, गगन थापा, शेखर कोइराला, कृष्ण सिटौला आदि इत्यादि गुट गिरोहका कथित विराटनगर भेला जस्ता उछलकुद अरन्यरोदनको २१ फागुन ०८२को चुनाव यताको पृष्ठभूमिमा हर्क साम्पाङ, महावीर पुन, कुलमान घिसिङको जति पनि औचित्य र उपयोगिता छैन । सबै पाठ्यक्रम गुगलमा पर्याप्त उपलब्ध छ । यहाँनेरि कांग्रेसलाई पुनर्जागरणका लागि मैले दिने सल्लाह एउटै रहन्छ कि कोइरालाको विर्ता, देउवाको जमिन्दारी, रामचन्द्रको प्राइभेट लिमिटेड र गगन थापाको जागिरबाट माथि नउठी अर्को विकल्प छैन । अन्यथा सत्र हजार बढी नेपाल आमाका सपूतहरूको प्रेतात्माले रातभरि सपनामा कपाल लुछिरहने र दिनभरि विपनामा तीन करोड नेपालीले धारेहात लगाएर सरापिरहने पक्का छ । अस्तु ।