अहिले मानिस बदलिएको छ । धेरै मानिसहरूले आफ्नै नैतिकता र इमान्दारीता गुमाउँदै गएका छन् । कसरी धनी हुन सकिन्छ भन्ने एक प्रकारको प्रतिस्पर्धा हुने गरेको छ । सबैको ध्यान धन सम्पत्तिमा केन्द्रित भएको छ । यसो भनिरहँदा असल मान्छेलाई अन्याय हुनेछ । यद्यपि, यहाँ मैले उजागर गर्न खोजेको त्यस्ता व्यक्तिहरू हुन् जो जसरी भए पनि सम्पत्ति आर्जन गर्न चाहेको हुन्छन् । तर, यहाँ एउटा यस्ता असल पात्रको बारेमा मैले केही उल्लेख गर्न चाहेको छु ती हुन् उदय चन्द्रकान्त गोर ।
उनी पेशाले प्राध्यापक हुन् भारतको गुजरातका । लामो समयसम्म अंग्रेजी भाषाका एसोसिएटेड प्रोफेसर भएका हुनाले उनीमा विद्वताको खानी नै रहेछ । सामान्यतया अंग्रेजी भाषा हामी सबैलाई कठिन नै हुन्छ । यद्यपि, उदयले भने अंग्रेजी भाषामा नै विद्यावारिधी गरेका रहेछन् । उनी यति सरल र मृदुभाषी रहेछन् कि यो सानो आलेखमा समेट्न नै सकिँदैन ।
अनायास बाटोमा उनीसँग मेरो भेट भयो । बाटोमा हिँड्दै गर्दा सबैसँग कुरा गर्न संभव पनि हुँदैन । तर, उदय यस्ता मानिस रहेछन् सकभर सबैसँग सम्बन्ध राख्न चाहने । बाटोमा हिँडी रहँदा धेरै मानिससँग भेट हुने गर्दछ । तर, हामी सिष्टता देखाउँदैनौँ । हामी यतिसम्म गर्दछौँ कि जो कोहीसँग सम्पर्क गर्नैै चाहँदैनौ र देखे पनि नदेखेझै गर्दछौँ । उनले मलाई देख्नासाथ हँसिलो अनुहार बनाएर ‘हँ भाई जी प्रणाम’ भनी हाले । मलाई भने उनको त्यो आदरार्थी शब्दले लज्जित बनायो । चीनजान र परिचित भएको भए मलाई बोली मिसाउन सजिलो हुने थियो । नचिनेका सडकमा हिँडीरहेको मानिसले मलाई सम्मानपूर्वक ‘प्रणाम‘ भन्दा मलाई अनौठो लाग्यो । एक मनले सोँचे व्यंग्य हो । नचिनेको भए पनि मैले सिष्टता देखाउनु नै थियो र ‘प्रणाम’ भनेर मैले पनि सिष्टता देखाएँ ।
यसपछि कुराकानीबाट हाम्रो सामीप्यता बढ्दै गयो । उनी भारत निवासी म नेपाल निवासी र छिमेकी देश पनि । धेरै कुरामा समानता । समानताभित्र पनि अन्तरर्निहीत धेरै विषयहरू एक आपसमा अन्तर्र्निर्भरता । यसले गर्दा हामीबीच धेरै कुरा उजागर हुँदै गए । पहिलो भेटमा नै उनीदेखि म धेरै प्रभावित भएँ । उनका विचार यति गहकिला थिए कि मेरो मन नै परिवर्तन गरिदिए । एकै छिनको भेटले पनि मानिसको विचार परिवर्तन हुन्छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्दछ । तर, विश्वास गर्नुपर्ने पनि हुँदो रहेछ । यसको उदाहरण म स्वयम हुँ ।
पहिलो भेटपछि नियमित रुपले हाम्रो भेट हुँदै गयो । उनीबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । जुन सिकाइ मेरो जीवनको लागि मार्ग दर्शन नै भयो ।
उदयमा ज्ञान, विद्वता, वुद्धि, क्षमताजस्ता गुणहरूको सीमा नै रहेनछन् । केही दिनको संगतबाट मलाई धेरै कुरा सिक्ने र जान्ने अवसर मिल्यो ।
उनले भनेका थिए– जीवनलाई सुखमय बनाउने मूलतः सकारात्मक र सन्तुष्ट हुने दुई पक्ष छन् । सकारात्मक विचार कसैले तयार पारेर दिने होइन । आफैँले निर्माण गर्ने कुरो हो । मानिसको विचार राम्रो भयो भने त्यसले निर्माण गर्ने हरेक कुरा राम्रा हुन्छन् । राम्रा कुराको प्रतिफल पनि राम्रै हुन्छन् । त्यसैले मानिस जहिले पनि सकारात्मक हुनुपर्दछ ।
अर्को पक्ष भनेको सन्तुष्टि हो र सन्तुष्ट हुन सकियो भने मानिसमा नकारात्मक कुरा आउनै सक्दैनन् । सन्तुष्टिले नकारात्मक कुराहरूलाई उम्रनै दिँदैन । सधैँ र सबै कुरालाई राम्रो दृष्टिकोणबाट हेर्दा मानिसको जीवन सफल हुनु स्वाभाविक नै हुन्छ । उनले यो पनि भने कि सन्तुष्ट हुनुपर्दछ भन्दैमा अकर्मन्य भने हुनुहुँदैन । कर्म नगर्ने हो भने कसरी जीवन चलाउन सकिन्छ र ! अहँ, सकिँदैन । त्यसकारण कर्म गर्दै जाने हो फलको आशा भने गर्नु हुँदैन गीतामा भनिए जस्तो ।
साधारण जीवन बिताउन चाहने ती गोर वास्तवमा विचारवान र असाधारण व्यक्तित्व रहेछन् । भरखर परिचित भएका एक अपरिचित व्यक्तिसँग यति खुलेर कुरा गर्ने मानिस सायदै हुन सक्दछन् ।
उनका दुई छोरी रहेछन् । दुबै चिकित्सा विज्ञानका डाक्टर । अहिले उनलाई माया दिने यिनै दुई छोरी । श्रीमती ज्योतिषशास्त्री । प्रसंगवस उनले भने कि सन्तानमा कुनै भेदभाव गर्नुहुन्न । सबै बराबर हुन् भन्ने चेतना समाजमा दिनुपर्दछ । समाजमा रहेका कतिपय कुरीतिहरूलाई नहटाउने हो भने समाजमा कहिले पनि परिवर्तन आउन सक्दैन । त्यसैले समाजलाई रुपान्तरण गर्नु जरुरी छ । मलाई लाग्यो– एउटा विद्वान् मानिसले भन्ने यही नै हो ।
पटक–पटक उनीसँग मेरो भेट भई नै रहन्थ्यो किनभने उनीसँग म लोभिई सकेको थिएँ र प्रभावित पनि । भेटमा जहिले पनि उनी भन्दथे– राम्रो मान्छे हुन केही गर्नै पर्दैन । केवल राम्रो बोली बचन गरे पनि पुगिहाल्छ । राम्रो मान्छे भन्दा पनि असल हुन सिक्नु पर्दछ । अर्को कुरा सबै राम्रा मान्छे असल हुन्छन् भन्न पनि सकिँदैन तर सबै असल मान्छे राम्रा भने हुन सक्दछन् । त्यसकारण एउटा चेतनशील मानिस जहिले पनि असल हुनुपर्दछ ।
उनीसँग मेरो केमेस्ट्री यसरी मिल्दै गयो कि प्रायः सधैँ नै हाम्रो भेट हुन्थ्यो । भेटमा जहिले पनि जीवनलाई सार्थक बनाउने कुरा मात्र गर्दथे । पराजुली जी ! जीवनमा आफ्नो र पराइ भन्ने केही हुँदैन । बनाउन सकियो भने सबै मानिस आफ्ना हुन सक्दछन् । यदि बनाउन सकिएन भने कतिपय अवस्थामा तपाइँका आफ्नै मान्छे, एउटै कोख पनि आफ्ना नहुन सक्दछन् । तर, धेरै परका अपरिचीत मानिस पनि एउटै कोखका सन्तान जस्ता हुन सक्दछन् । यस्ता कुराहरू मानिसको विचार, विवेक र व्यवहारबाट उत्सर्जन हुने हुन् ।
उनका यस्ता यस्तै कुराहरूले म प्रभावित भएको छु र उनीप्रति म सधैँ नै कृतज्ञ हुनेछु ।
उनी र म छिमेकी मुलुक भए पनि धेरै टाढाका भारतको गुजरात र नेपालको लमजुङ्ग । तर संयोग नै भन्नुपर्छ अमेरिकामा भेट हुनु । त्यसकारण जिन्दगीमा कहिले–कहिले यस्तो अवसर जुर्दो रहेछ भनेर आश्चर्य लागेर पनि आउँछ ।
अहिले उनी र म छोटो समयको लागि अमेरिकामा छौँ । केही समयको बसाइ पछि उनी भारत फर्किनेछन् भने म नेपाल । दुई बटुवा पाटीमा भेट भए जस्तो । छोटो समयमा पनि धेरै कुरा प्राप्त गर्न सकिँदो रहेछ जस्तो लाग्दछ । उनी विद्वताले खारिएको भए पनि हामी दुईबीच मित्रताको कसिले गाँठो निर्माण भई सकेको छ । यो गाँठो कहिल्यै फुस्कने छैन ।
मलाई लाग्छ– मानिस सुखी र खुसी हुन धेरै कुराको आवश्यकता पर्दैन । भावना, विचार, व्यवहारजस्ता अवयवहरूलाई सकारात्मक रुपमा लिन सकियो भने जीवनको सार्थकता हुनेछ ।