काठमाडौं । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुक नै रोज्ने गरेको डरलाग्दो तथ्यांक बाहिरिएको छ ।
नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै दुई हजारको संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ । त्यतिकै संख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको राससले जनाएको छ ।
काउन्सिलमा सन् २०२५ मा दुई हजार एक सय २२ जनाले चिकित्सककोे दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका थिए । सोही वर्ष दुई हजार तीन सय ९० जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस वर्ष लाइसेन्स लिएकाले भन्दा दुई सय ६८ जना बढी चिकित्सक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले सन् २०२० यता १३ हजार एक सय ४० चिकित्सकले लाइसेन्स लिएका र ११ हजार ६८ चिकित्सक बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको राससलाई बताए ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले विगत १० वर्षदेखि चिकित्सकहरू राम्रो सेवा सुविधाका लागि विदेश जाने गरेको बताउँछन् । विदेशमा आकर्षक तलव, सेवा सुविधाका कारणले चिकित्सक जाने गरेका छन् । उनका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, वेलायत, माल्दिभ्स, सयुक्त अरब इमिरेट, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मन जाने गर्छन् । नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने गर्दछ । त्यसैले स्नातकोत्तर तह पढ्दै र अस्पतालमा काम गर्न असल चारित्रिक प्रमाण पत्र लिने गरेको निमित्त रजिष्ट्रार डा. पाण्डेले बताए ।
काउन्सिलको तथ्यांकअनुसार अमेरिकामा सन् २०२० यता वर्षमा दुई हजार नौ सय ९५ जना चिकित्सक गएका छन् । अमेरिकापछि बेलायतमा दुई हजार छ सय ३७ जना, माल्दिभ्समा दुई हजार दुई सय ४१ जना, अस्टे«लिया आठ सय ४८ जना, संयुक्त अरब इमिरेटसमा सात सय २० जना, क्यानडामा एक सय ४८ जना, जर्मनमा ९२ जना चिकित्सक गएका तथ्यांकमा देखिएको छ । छिमेकी मुलुक भारतमा पनि नौ सय १८ जना चिकित्सक गएको तथ्यांक छ । काउन्सिलका अनुसार चिकित्सक विभिन्न २३ मुलुक जाने गरेका छन् ।
सन् २०२० मा आठ सय ६९ जना चिकित्सक मुलुकबाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस्तै सन् २०२१ मा एक हजार तीन सय २७ जना, सन् २०२२ मा एक हजार नौ सय ५४ जना, सन् २०२३ मा दुई हजार तीन सय १८ जना, सन् २०२४ मा दुई हजार दुई सय १० जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
यस्तै सन् २०२० मा दुई हजार एक सय ३१ जना चिकित्सकले दर्ता प्रमाणपत्र लिएका छन् । सन् २०२१ मा एक हजार सात सय १६ जना, सन् २०२२ मा दुई हजार ८५ जना, सन् २०२३ मा दुई हजार छ सय ९२ जना, सन् २०२४ मा दुई हजार तीन सय ९४ जना चिकित्सकले काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका छन् ।
नेपालमा सेवा सुविधा कम भएको कारणले चिकित्सक रोजगारीका लागि विदेश जाने गरेका छन् । काउन्सिलमा अहिलेसम्म ३९ हजार चार सय ८६ जना चिकित्सकले लाइसेन्स लिइसकेका छन् ।