विश्वभर जनसंख्या वृद्धको दर बढ्दै गइरहेको छ । र सन् २०५० सम्म ६० वर्षभन्दा माथिका मानिसहरूको संख्या २० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यो जनसांख्यिकीय परिवर्तनले वृद्धावस्थालाई केवल दीर्घायुको रूपमा मात्र नभई स्वस्थ वृद्धावस्थाको रूपमा परिभाषित गर्ने आवश्यकता देखाउँछ । विश्व स्वास्थ्य संगठनले सन् २०२१–२०३०लाई स्वस्थ वृद्धावस्थाको दशक घोषणा गरी यसलाई प्राथमिकता दिएको छ । यस सन्दर्भमा, योग एक सुरक्षित, अनुकूलनयोग्य, र प्रभावकारी गैर–औषधीय हस्तक्षेपको रूपमा उभिएको छ । योग शब्द संस्कृतको युज धातुबाट आएको हो । जसको अर्थ जोड्नु वा एकीकृत गर्नु हो; अर्थात् शरीर, मन, र आत्माको मिलन पनि हो । यस अर्थले वृद्धावस्थामा योगका शारीरिक, मानसिक, तथा आणविक फाइदाहरूको वैज्ञानिक प्रमाणलाई विश्लेषण गर्दै, यसलाई दैनिक जीवनमा समावेश गर्ने व्यावहारिक उपायहरू एक हो ।
वृद्धावस्था जीवनको स्वाभाविक चरण हो । तर यसलाई स्वस्थ, सक्रिय र सुखमय बनाउन सकिन्छ । आजको आधुनिक जीवनशैलीमा वृद्धहरूले सामना गर्ने स्वास्थ्य समस्याहरू जस्तै जोर्नी दुखाइ, मांसपेशी कमजोरी, सन्तुलनको कमी, उच्च रक्तचाप, मधुमेह, तनाव, चिन्ता र डिप्रेसनलाई योगले प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ । योग प्राचीन भारतीय परम्पराको अभिन्न अंग हो जसले शरीर, मन र आत्माको सन्तुलन कायम राख्छ । योग केवल शारीरिक व्यायाम मात्र नभएर; यो जीवनशैली पनि हो । यसले लचिलोपन, बल, सन्तुलन, श्वासप्रश्वास नियन्त्रण र मानसिक शान्ति प्रदान गर्छ । अनुसन्धानहरूले देखाएका छन् कि नियमित योग अभ्यासले वृद्धावस्थामा कमजोरी कम गर्छ, हिँड्ने गति र खुट्टाको बल बढाउँछ । जसले दीर्घायु र स्वतन्त्र जीवनशैलीलाई सहयोग पु¥याउँछ । हार्वर्डका अध्ययन अनुसार, योगले वृद्धावस्थामा सहयोगको पूर्वानुमानक सुधार गर्छ ।
मानववर्गको उमेर ढल्किँदै जानु प्राकृतिक र अनिवार्य प्रक्रिया हो । वृद्धावस्था जीवनको एउटा यस्तो चरण हो । जहाँ मानिसले लामो जीवनको अनुभव, परिपक्वता र ज्ञान हासिल गरेको हुन्छ । तर, यही उमेरमा शारीरिक शिथिलता, रोगप्रतिरोधात्मक क्षमतामा ह्रास र मानसिक एकांकीपन जस्ता समस्याहरू पनि देखा पर्छन्। आधुनिक चिकित्सा विज्ञानले मानिसको आयु त बढाएको छ, तर दीर्घायु सँगसँगै स्वस्थ र गुणस्तरीय जीवन पाउनु आजको मुख्य चुनौती हो । यो परिप्रेक्ष्यमा पूर्वीय दर्शन र स्वास्थ्य विज्ञानको अनुपम उपहार योग साधना वृद्धावस्थाका लागि एउटा सञ्जीवनी बुटी सावित हुन सक्छ । योग केवल शारीरिक व्यायाम मात्र नभएर; यो शरीर, मन र आत्मालाई जोड्ने र सन्तुलनमा राख्ने पूर्ण जीवनपद्धति पनि हो । स्वास्थ्य वृद्धावस्थाका लागि योग साधना कसरी सहयोगी हुन सक्छ र यसलाई कसरी सुरक्षित रूपमा अपनाउने भन्ने विषयमा यहाँ विस्तृत चर्चा गरिएको छ । योग शब्दले अनेकानेक अर्थ बोकेको छ । सामाजिक व्यवहारमा योगले दुई वा दुईभन्दा बढी पक्षहरूलाई एक गरेको अर्थ दिन्छ भने दर्शनमा आत्मा र परमात्माबीच योगको कुरा गर्दछ । मानिस भौतिक अवस्थाबाट अभौतिकमा विलीन हुने विधिको अर्थ दिन्छ । सांसारिकताबाट मुक्ति वा मुक्तिको विधि स्पष्ट गर्दछ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।
वृद्धावस्थासंगै मांसपेशीको क्षमता घट्ने (सार्कोपेनिया), हड्डी कमजोर हुने (ओस्टियोपोरोसिस) र सन्तुलन क्षमतामा कमी आउने समस्या देखिन्छ । योगका विभिन्न आसन, प्राणायाम र ध्यान अभ्यासले यी समस्याहरूलाई सम्बोधन गर्न सहयोग पु¥याउँछ । यसमा खासगरीकन विभिन्न अनुसन्धानहरूले योगले वृद्धवृद्धाको हिँड्ने गति र खुट्टाको मांसपेशी बलियो बनाउन मध्यमस्तरीय प्रमाण प्रदान गरेको पाइएको छ । यसर्थ ६०–८० वर्ष उमेर समूहमा गरिएको एक यादृच्छिक नियन्त्रित परीक्षणले २६ हप्ताको योग आधारित जीवनशैली हस्तक्षेपपछि सहभागीहरूको शारीरिक क्षमता, विशेषगरी हिँड्ने गति र मांसपेशी बल, उल्लेखनीय रूपमा सुधारिएको देखायो । त्यसैगरी, ७० वर्षको औसत उमेर भएका वृद्ध महिलाहरूको अध्ययनले ४ हप्ताको संरचित योग अभ्यासले उनीहरूको शारीरिक कार्यसम्पादन ९.२३ प्रतिशतले सुधार गरेको र हातको मुठी बल १३.२८ प्रतिशतले बढाएको पुष्टि गरेको छ । यसले दैनिक क्रियाकलापहरू जस्तै उठ्न–बस्न, हिँड्डुल गर्न र सामान बोक्न सजिलो बनाउँछ । जसले स्वतन्त्र जीवनयापनमा सहयोग पु¥याउँछ । जुन ६५ वर्षभन्दा माथिका धेरैजसो मानिसहरूमा उच्च रक्तचाप, मधुमेह, वा अर्थराइटिस जस्ता एकभन्दा बढी पुराना रोगहरू हुन्छन् । जेन्टल इयर्स योग कार्यक्रम, जुन विशेषगरी वृद्धवृद्धाका लागि डिजाइन गरिएको छ, अत्यन्तै सुरक्षित पाइएको छ र यसले १२ महिनाको अनुगमनमा पीडा कम गर्न मद्दत गरेको पाइएको छ । यद्यपि, यसले स्वास्थ्य–सम्बन्धित जीवनको गुणस्तरमा तथ्यांकीय रूपमा ठूलो फरक नपारे पनि, सहभागीहरूले आफ्नो शारीरिक र भावनात्मक स्वास्थ्यमा सुधार महसुस गरेको बताएका थिए ।
नेपालमा पनि वृद्ध जनसंख्या क्रमशः बढ्दै गएको छ । जसमा परिवार संरचना परिवर्तन, युवाको विदेश पलायन र जीवनशैली परिवर्तनका कारण वृद्धहरूको स्वास्थ्य र आत्मनिर्भरता महत्वपूर्ण विषय बनेको छ । योगलाई गाउँदेखि सहरसम्म स्वास्थ्य प्रवद्र्धनको माध्यम बनाउन सकिन्छ । यसमा पनि सम्भावित उपायहरूमा ज्येष्ठ नागरिक केन्द्रमा योग कक्षा सञ्चालन, स्थानीय तहबाट स्वास्थ्य सचेतना कार्यक्रम, विद्यालय तथा समुदायमा योग संस्कृतिको विकास, अस्पताल र स्वास्थ्य संस्थामा योगसम्बन्धी परामर्श आदि रहेका छन् । वृद्ध अवस्थामा योग गर्दा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । योग गर्दा अपनाउनुपर्ने सावधानी कठिन आसन जबर्जस्ती नगर्ने, स्वास्थ्य अवस्था अनुसार अभ्यास गर्ने, दुखाइ भए रोक्ने, प्रशिक्षकको मार्गदर्शन लिनु राम्रो, नियमित तर मध्यम अभ्यास गर्ने आदि हुन । यसमा पनि उच्च रक्तचाप, मुटु रोग, हड्डीसम्बन्धी समस्या भएका व्यक्तिले चिकित्सकीय सल्लाहअनुसार अभ्यास गर्नु उपयुक्त हुन्छ ।
आजको २१औं शताब्दीमा प्रस्तुत वैज्ञानिक प्रमाणहरूले योग मात्र शारीरिक व्यायामको एक माध्यम नभई समग्र स्वास्थ्य वृद्धावस्थाको लागि एक शक्तिशाली, किफायती, र सहजै उपलब्ध जीवनशैली उपकरण हो भन्ने पुष्टि गर्छन् । वस्तुतः आणविक स्तरमा टेलोमियर जोगाउनेदेखि लिएर दैनिक जीवनमा हिँडडुल र सम्झनाशक्ति सुधार गर्नसम्म, योगले व्यक्तिलाई मात्र नभएर, सम्पूर्ण समाजलाई स्वस्थ र सक्रिय बनाउन योगदान दिन्छ । डब्लूएचओको आह्वान अनुसार, योगलाई नियमित दिनचर्यामा समावेश गर्नु आजको आवश्यकता हो । दीर्घायु केवल वर्ष थप्ने होइन, ती वर्षहरूमा जीवन थप्ने हो र योगले त्यो सम्भावना प्रदान गर्दछ । जबकि वृद्धाश्रमदेखि घरसम्म, अनलाइनदेखि सामुदायिक केन्द्रसम्म, योगको अनुकूलन क्षमताले यसलाई सबै उमेर र क्षमताका मानिसहरूका लागि सुलभ बनाएको छ । जसले गर्दा हामी सबै सशक्त रूपमा वृद्ध हुन सक्छौं । स्वस्थ वृद्धावस्थाका लागि योग साधन अत्यन्त महत्वपूर्ण अभ्यास हो । जसले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुदृढ बनाउँछ । यसर्थ नियमित योगाभ्यासले वृद्धावस्थामा देखिने रोगहरूको जोखिम घटाउँछ, आत्मनिर्भरता बढाउँछ र जीवनलाई गरिमामय बनाउँछ ।
समग्रमा भन्नुपर्दा वृद्धावस्थामा योग अभ्यासले जीवनलाई स्वस्थ, आत्मनिर्भर र गरिमामय बनाउँछ । योग केवल व्यायाम नभई जीवनशैली हो । जसले शरीर, मन र आमालाई सन्तुलित राख्छ । नेपाल र भारतमा अन्तर्राष्ट्रिय योग दिवसको सन्देश यही हो । यसरी स्वस्थ वृद्धावस्थाका लागि योग अति आवश्यक भइसकेको छ । मूलतः वृद्धावस्था जीवनको अन्तिम चरण मात्र नभएर, अनुभव, ज्ञान र आत्मिक विकासको महत्वपूर्ण समय पनि हो । स्वस्थ वृद्धावस्था प्राप्त गर्न शरीरलाई सक्रिय, मनलाई शान्त र जीवनलाई अनुशासित राख्न आवश्यक हुन्छ । योग साधना यसका लागि सरल, प्राकृतिक र प्रभावकारी माध्यम हो । यसमा नियमित योगासन, प्राणायाम, ध्यान र सकारात्मक जीवनशैलीले वृद्ध व्यक्तिलाई रोगबाट मात्र होइन, निर्भर जीवनबाट पनि टाढा राख्न सहयोग गर्न सक्छ । अतः स्वस्थ वृद्धावस्था भनेको केवल लामो आयु मात्र नभएर सक्रिय, सम्मानित र आत्मनिर्भर जीवन हो । त्यसैले स्वस्थ शरीर, शान्त मन र सकारात्मक सोचको आधारमा योगलाई जीवनको अभिन्न हिस्सा बनाउनु आजको आवश्यकता हो ।