संघीय राजधानी काठमाडौँ नजिकको ‘कर्णाली’ भनेर चिनिने रसुवा जिल्लाका पाँच गाउँपालिकाहरुमध्येको कालिका गाउँपालिकाको विभिन्न वस्तुस्थतिका बारेमा अध्ययन, अबलोकन र लेखन कार्यका लागि हामी लोमस वाङ्मय प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुको समूह त्यहाँ पुग्नका लागि २०८३ जेठ २३ गते बिहान ६ः३० बजे सामाखुशीचोकमा भेला भयौँ। सुरुमै हामी चढ्ने माइक्रो बसका चालकलाई खादा ओढाएर अनौपचारिक रुपमा यो लेखको रचनाको यातायात गीत (ट्राफिक गीत) ‘बसमा सरर ....’ बजाउने काम भयो। वरिष्ठ संगीतकार बुलु मुकारुङको संगीतमा उहाँकै स्वरका साथै मेरो पनि स्वर रहेको उक्त गीतमा अञ्जु गौतम, विनोद दनुवार र रितु कँडेलको संयुक्त स्वर रहेको छ। संगीतकार बुलु मुकारुङको नाम मैले साढे दुई दशकअघि नै सुनेको थिएँ। भर्खरै मात्र रेकर्डिङ भएको ट्राफिक गीत ‘बसमा सरर ..’ रेकर्डिङका लागि यातायात व्यवस्था विभागले ढिलासुस्ती गरिदिँदा गत वर्ष भदौँ २३–२४ मा भएको जेन–जी विद्रोहका कारण विभागको टेबुलको घर्राभित्र खरानी बनेको सो गीत अहिले दियो बनेर आएको छ। गत असार ३ गते यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन समारोहमा उक्त गीतको सार्वजनिक गरिएको थियो। महासंघका नवनिर्वाचित अध्यक्ष सरोज सिटौला म र गायिका रितु कँडेलले गीतको कभर व्यानर दर्शदीर्घातर्फ देखाएर साउन्ड युनिटबाट गीत बजाएर सार्वजनिक गरिएको थियो। सवारी साधनका चालक सहचालक र यात्रुहरुले पालना गर्नुपर्ने विषयहरु समेटिएको सो गीतको छायांकन केही दिनमा हुने कुरा काठमाडौँ उपत्यका ट्राफिक कार्यालय, बग्गीखानाले जनाउ दिएको छ। रसुवा प्रस्थान गर्ने हाम्रो टोली चढेको माइक्रो बसमा सो गीत सुन्दै चक्रपथ छोड्दै अनि टोखा नगरपालिका छिचोल्दै शिवपुरी डाँडा अर्थात् नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा पुग्यो।
शिवपुरी गाउँपालिकाको वडा नं. ८ मा रहेको छहरे पुग्दासम्म हामीलाई गर्मी महसुस भएको थिएन। ढलानघरबाट छहरे ७.५ किमि रहेको सडक किनाराको एक मुड्कोले जनायो। गाडी बेसीतिर झरेपछि चैतमा पनि खेतका फाँटहरुमा धान पाकेको देख्दा मन नै रमाउने गरायो यात्राले। शिवपुरी गाउँपालिका सकिएपछि लिखु गाउँपालिका सुरु हुँदोरहेछ। लिखु गाउँपालिका सुरुमै वडा नं ६ बाट सुरु हुँदोरहेछ। यो नुवाकोटको सबैभन्दा सानो गाउँपालिका हो। ढिकुरेबाट विदुर नगरपालिकाका लागि ७ किलोमिटर दूरीमा रहेको छ। धान चैतमा रोपेर असारमा काट्ने, असारमा रोपेर कार्तिकमा काट्ने, कार्तिकमा रोपेर फागुनमा काट्ने कुरा सुन्दा मलाई अचम्म लाग्यो। त्यहाँ धान पाकेर पहेँलपुर भएको मनोरम दृश्यले हामीहरुलाई आकर्षण गरिरहेको थियो। लिखु र तादी खोलाको संगम आएपछि र गठारको पुल नजिकैबाट दुप्चेश्वर मन्दिर जाने बाटोका बारेमा थाहा भयो। चौघडा भएर दुप्चेश्वर २५ किमि दूरीमा रहेछ। नुवाकोट दरबार टाढैबाट देख्ने काम मात्र भयो। ढिकुरेबाट गंगटे ६ किमि र दोभानपछि विदुर १० किमि रहेछ। बाटो छेउँछाउँमा पिडालु आकारका वनस्पति देखिन्थ्यो, जसलाई स्थानीय भाषामा फ्याक्से भनिदोरहेछ। सडकका दायाँबायाँ सालघारी पनि देखिन्थ्यो। हामी केही छिनमा नुवाकोटकै गंगटे पुगेर त्यहाँ रहेको गंगटे पार्कमा एकछिन बितायौँ। गंगटे पार्कको पुरानो नाम बीपी पार्क रहेछ। त्यसपछि बट्टार आएपछि अलिक गर्मी महसुस भयो। समुद्र सतहबाट छ सय मिटर उचाइमा रहेकै कारण त्यहाँ निकै गर्मी हुँदोरहेछ। यो कुरा मैले २०५६ सालमा निजामती जागिरको पहिलो हाजिरीका लागि रसुवाको धुन्चे जाँदा गर्मीको महसुस गरेको थिएँ। विदुर नगरपालिकाको वडा नं. १० सकिएपछि उत्तरगया गाउँपालिका सुरु हुँदोरहेछ। बेत्रावतीबाट नुवाकोटको सीमा समाप्त हुने र रसुवाको सीमा प्रारम्भ हुनेरहेछ। फिकुरी–माझगाउँ हुँदै गाडी अगाडि बढ्दै जाँदा उत्तरगयाबाट लहरेपौवा २.५ किलोमिटर रहेको जानकारी भयो। फिकुरी रसुवा–नुवाकोटको सीमाना रहेछ। कालिका गाउँपालिकाको स्वागतद्वार वडा ३ मा देखियो। बेतिनी–बछलादेवी पुग्दा आफ्नै जिल्ला रोल्पाको सुलिचौरबाट लिबाङतिर गए झैँ लागेको थियो मलाई। धारापानीमा सुन्धरा आधारभूत विद्यालय देखियो। कटुन्जेबाट कालिकाथान ५ किमि बाँकी भन्ने जानकारी भयो। भोगटेनी वडा नं ३ मै त्यहाँ कालिका हिमालय क्याम्पस रहेको पनि देखियो। कालिका सहित रसुवा जिल्लामा पाँच गाउँपालिका रहेको छ। कालिका बाहेक बाँकी चार गाउँपालिकाहरुमा उत्तरगया, गोसाइँकुण्ड, नौकुण्ड, आमाछोदिङ्मो हुन्। लहरेपौवाबाट स्याफ्रुबेसी ४९ किमि रहेको जानकारी भयो। संयोगको कुरा यो छ कि मेरो यातायात गीतमा ‘.....रक्षा गर भगवति कालिका’ उल्लेख छ भने हाम्रो गीत बजेको गाडी हाम्रो गन्तव्य रसुवाको भगवती कालिकामा पुग्यो। काठमाडौँको चक्रपथबाट रसुवाको कालिका गाउँपालिकाको दूरी पचहत्तर किलोमीटर रहेछ। साढे तीन घन्टाको दूरीमा रहेको कालिका गाउँपालिकामा पुग्दा त्यहाँ पालिकाका पदाधिकारी, शिक्षक, समाजसेवीबाट हामीलाई स्वागतको कार्यक्रम भयो। त्यसअघि हामी तीर्थस्थल उत्तरगयामा केही बेर अलमलियौँ र राम मन्दिरमा दर्शन ग¥यौँ। त्यसपछि हामी त्रिशूलीको किनारमा गएर रमायौँ आन्तरिक पर्यटक झैँ भएर। कालिका गाउँपालिकाको कार्यालयमा प्रवेश गरेपछि सभाहलमा पुग्यौँ। लगत्तै पालिका कार्यालयको तर्फबाट स्वागत र परिचयात्मक कार्यक्रम पनि गरियो। पालिका प्रमुख हरिकृष्ण देवकोटाले हामीहरुलाई केही कुराहरु बताउनुभएपछि हामी खाना खाएर राम्चेतर्फ लाग्यौँ। ठाउँठाउँमा शिक्षक रामबाबु पौडेलबाट पालिकाभित्र रहेका विभिन्न स्थानका विभिन्न विवरणका साथै तथ्यांकहरु पनि बताउनुयो। स्थानीय बुद्धिजीबी तथा वयोवृद्धहरुबाट पनि जानकारी लिने काम भयो। जसले गर्दा हामीहरुलाई अध्ययन, अनुसन्धान तथा लेखन कार्यमा सहयोग पुग्यो। काठमाडौँबाट कालिकास्थानसम्म पुग्नका लागि तीनवटा मार्ग छन्– १. कलंकी–नागढुंगा–गल्छी २. टोखा–छहरे–विदुर र ३. बालाजु माछापोखरी ककनी। हामी पुगेको कालिका गाउँपालिका रसुवा जिल्लाको सदरमुकामबाट २४ किमि दक्षिणपूर्वमा पर्छ भने रसुवा जिल्लाको दक्षिणी सीमानामा अवस्थित छ। फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूवनौटमा फैलिएको छ। उक्त गाउँपालिका साविक धैबुङ गाउँ विकास समिति लहरेपौवाको वडा नं ८ राम्चे गाविस र भोर्ले गाविसको वडा नं. १, ६, ८, ९ वडा मिलेर बनेको रहेछ। पाँचवटा वडा रहेको यस गाउँपालिकाका मुख्य स्थानहरुमा बेतिनी, धारापानी, कछुञ्जे, राम्चे, ग्राङ र पलेप रहेका छन्। २०३२ सालमा नुवाकोटबाट रसुवामा गाभिएको रहेछ कालिका गाविस ।
१८११ मा नेपाल तिब्बतबीच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेपछि मन्दिरमा बास बसेका रहेछन्। नजिकै घलेगढी, कमारेगढीमा त्यतिबेला युद्ध सामग्री भण्डार गर्ने ढुंगेगुफा रहेका छन्। कालिकामाईको मन्दिर कालिका गाउँपालिकाको वडा नं २ को कालिका बजार नजिकै अवस्थित छ। यसलाई धैबुङकालिका पनि भनिन्छ। २०७२ सालको भूकम्पमा रसुवा जिल्लामा सबैभन्दा बढी मानवीय क्षती भएको ठाउँ कालिका गाउँपालिकाको वडा नं. १ रहेछ। २०७८ सालको जनगणना अनुसार कालिका गाउँपालिकाको कुल जनसंख्या १०,११५ रेहो छ जहाँ २,४४७ घरधुरी रहेको तथ्यांकले जनाउँछ। कालिकामा कृषि, पर्यटन, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक महत्वहरुको प्रचार प्रसार भएमा अझ विकासको प्रबल सम्भावना रहेको देखिन्छ। संस्कृतिलगायत कैयन पाटाहरु यस गाउँपालिकामा मिश्रित अवस्थामा रहेको देखिन्छ। एक किसिमले भन्नुपर्दा यो गाउँपालिका स्वर्गको टुक्रा हो कि जस्तो भान हुन्छ। अति रमणीय लाग्ने यस गाउँपालिकाबाट अन्य पालिकाहरुले सिको वा अनुशरण गर्न जरुरी देखिन्छ। कालिका गाउँपालिका रसुवाकै उत्कृष्ट उर्बर भूमि हो। सानासाना सुर्काहरुमा समेत मकैका बोटहरु रहेको देख्दा लाग्छ कि यहाँ जमिनको भरपूर उपयोग भएको छ। तरकारी तथा फलफूल मौसमी तथा बेमौसमी रुपमा खेती गर्न सकिन्छ। यहाँको कृषि उपजले रसुवा जिल्लाका स्थानीय बजारलाई केही हदसम्म बजार माग पूरा गर्न सक्षम भएको देखिन्छ भने रसुवाको केरुङसम्म पनि बजार प्रवर्धन गर्न सकिने सम्भावना रहेको छ। हावापानी पनि सितल खालको भएकोले गर्मी मौसममा यहाँ बसोबास गर्नेहरुलाई असहज महसुस हुँदैन।
कुनै बखतसम्म पालिकामा सञ्चालनमा रहेका धुपबत्ती र दालमोट उद्योग हाल बन्द अवस्थामा रहेका छन्। अनाज र फलफूल खेतीमा बाँदरबाट जोखिम भएकोले घाँस र दूध उत्पादनमा जोड दिइएको छ र गाउँपालिकाको सम्बन्धित शाखाबाट प्राविधिकसहित भेटनरी सेवा उपलब्ध रहेको कुरा पालिकाबाट जानकारी भयो। यस पालिकाकाका कालिकास्थान, राम्चे, कटुञ्जे, धारापानी, बेतिनी र धैबुङकोटलगायतका ठाउँहरुलाई आलु उत्पादनका लागि मुख्य पकेट क्षेत्र हुन्। कृषक टेक प्रसाद लामिछानेको भनाइअनुसार यस पालिकाका कृषिमा आवद्ध किसानहरुबाट उत्पादित कृषि उपजहरु २०२० सालदेखि नै कालिका स्याफ्रुबेसी धुन्चेमा आपूर्ति हुने गरेको बताउनुभयो। काठमाडौँको बिगमार्टसँग चाइनिज साग छ करोडको सम्झौता भएको पनि बताइयो।
कालिका मन्दिर क्षेत्रले १.९ हेक्टर जमिन ओगटेको रहेछ। समुद्र सतहबाट सरदर १००० मीटर उचाइमा रहेको कालिका गाउँपालिकामा एक सुविधा सम्पन्न विद्यालय निर्माणाधीन अवस्थामा रहेको देखियो। जलविद्युत उत्पादनमा भने यो पालिका कमजोर छ। कालिका गाउँपालिका बजार क्षेत्रमा पर्यटक बस्ने राम्रा होटल तथा त्यस नजिकै वनभोज गर्ने स्थान रहेको छ। वनभोज गर्नका लागि वागमती प्रदेशका केही जिल्लाहरुबाट समेत मानिसहरु त्यहाँ आउने गरेको पाइयो। आलु तथा तरकारी चिस्यान भवनभित्र प्रवेश गरेर बोराबन्दी उपजको अबलोकन गर्ने काम भयो। त्यहाँ तरकारी धेरै परिमाणमा भण्डारन गरिएको पाइयो। भ्रमणको अन्तिम दिन कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र उपाध्यक्ष मीरा तामाङ लगायबाटबाट मायाको चिनो दिएर विदाइको कार्यक्रम भयो। समग्रमा नियाल्दा कालिका गाउँपालिका रसुवा जिल्लाका अन्य गाउँपालिकाहरुको तुलनामा आर्थिक दृष्टिले समृद्ध रहेछ ।