मानिसहरूले दुर्गा प्रसाईँलाई आठ कक्षासम्म पढेको क्लासमा पढाउने हेडसरको व्यवहार चित्त नबुझेर मुडकीले बंगारा झारिदिएर पढ्न छोडेका, त्यसैले सुरुको एकचरण उनलाई भङ्जाहा, उच्च शिक्षा बञ्चित अपठित मेडिकल व्यावसायीका रुपमा नै धेरैले चिने । तैपनि पाथिभरा मातालाई भाकेर क्यान्सर पीडित आफ्नो शरीर जुनसुकै समय ढल्न सक्ने पाथिभरा माताकै चरणमा जिम्मा सुम्पेर देश, जनता र प्रणालीका लागि हिँडेका भन्ने एकखालको विश्वसनियता स्थापित भइसकेको प्रमाणित हुँदै जाँदा मानिसहरूले उनीमाथि भरोसा राखिरहे । अझसम्म पनि राखिरहेकै छन् । तथ्यमा भन्ने हो भने स्वयं दुर्गा प्रशाइँ र बालेन शाहलाई सत्ता र सरकारबीचको फरक (राज्यसत्ता र क्रान्ति — लेनिन) कति नलेज छ ? त्यो म अन्दाज लगाउँदिन । तर यति चाहिं के किटेर भन्छु भने सरकार प्रधानमन्त्री बालेन शाहको हातमा भए पनि असली सत्ता चाहिं दुर्गा प्रसाइँसँगै छ । भलै यतिखेर यो तथ्य स्वयं दुर्गालाई दृष्टि नपुगेको होस् । उनको पछिल्लो चरणको धवल शमशेरको लहैलहैमा लागेर नयाँ पार्टी खोल्न लागेका हर्कतले भने उनी पनि कस्तुरी मृगको नियती झेल्नेमा परेका देखिन्छ । तै पनि उनीभित्रको अन्तर्य पवित्र पाथिभरा मातामा शरणागत भरोसाले एकदिन अवस्य उनलाई आफ्नो विराएको बाटो साक्षात्कार बोध हुनेछ भन्ने कता–कता मलाई लागिरहन्छ ।
‘हनिमुनमै प्रजनन’ भन्ने बालेन सरकारबारे दुर्गाको यो बयान वक्तव्य शास्त्रीय हिसाबले व्याख्या भाष्यमा जाँदा धेरै चातुर्यपूर्ण स्तरीय छ भन्ने छर्लङ्ग हुन्छ । दुर्गाको यस चातुर्य र स्तरियताबाट एउटा तथ्य के प्रष्ट हुन्छ भने आजका मितिका दुरद्रष्टा टाढासम्म देख्ने दावेदार हार्वड अक्सफोर्ड डिग्रीधारी जमातको भन्दा उनको धेरै अग्लो आसनमा भेटिने छ ।
मलाई यस्तो लाग्नुको कारणमा थोरै भन्छु । राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान (कुच)मा दुर्गाका पुर्खा हजुरबा राम प्रशाईँले त्यस बखतको २५ हजार कम्पनी ढ्याक (रुपैयाँ) र गोर्खाली सेनालाई सेल्टर सहयोग पुर्याउनुभएको थियो । त्यस योगदानको पुरस्कार स्वरुप आफूलाई श्री ५ बाट बडामहाराजा स्थानमा आइपुग्न होस्टे हैसे गरिदिने लगौटिया यार सरह इज्जत दिएर पृथ्वीनारायण शाहले तक्मा लालमोहर बक्सेको दसी प्रमाण अभिलेख अहिले पनि दुर्गाले सम्हालेर राखेका छन् । राजनीतिमा यस्तो लिगेसी संस्कारको ठूलो महत्व हुन्छ । जिनको कुरा विज्ञानले पनि स्वीकारीसकेको छ । यस विषयमा दुनीयाभरी लाखौं पुस्तकहरू आइसकेका छन् । त्यसपछि दुर्गाको अर्को लिगेसी हेर्नुस् । धान चामल निर्यात कम्पनी सरकारी साइनबोर्ड तहत मिल खडा गरेर प्रतिष्ठित व्यापारी उद्योगपति उनका काका बडाबालाई मोहनचन्द्र अधिकारी, सिपी मैनालीहरूको नक्सलाइट आन्दोलनअन्तर्गत टाउको छिनालिदिए । त्यही इतिहासको दर्दलाई भाष्य दिन आमाले केराबारीमा बोडि टिप्ताटिप्तै जन्मेको भुँइमान्छे भन्ने गर्छन् । राजनीतिक हिसाबको चिन्तन दुरदृष्टि छैन भन्नेहरूलाई दुर्गाको यो भुँइमान्छे चिनारी एउटा नमूना वक्तव्य हो । दुर्गाका बारे योभन्दा बढी ७५ हजार सहकारीबाट ठगिएका ७५ लाख नेपाली जनले चिनेर जानेर विश्वास भरोसा गरेर मनको हृदयमा राखिसकेका हुनाले थप चिनारी आवश्यक परेन ।
‘हनिमुन पिरियड’लाई राजनीतिको भाषामा नवगठित सरकारलाई विना अवरोध सय दिन काम गर्न दिने र त्यही कामका आधारमा विरोध समर्थन थाल्ने भारतको यान्त्रिक अनुकरण नेपालमा चालू संसदीय प्रणालीको एउटा सर्वस्वीकृत शास्त्र भाष्य हो । जन्मिँदै नेपालीको टाउकोमा ३० खर्ब वैदेशिक ऋणको हिसाब किताब लुकाएर स्वघोषित सर्वज्ञाता राजनीति विश्लेषक दावेदार पूर्व व्युरोक्याट भेट्रान भलाद्मी भोजराज पोखरेल, द्वारिकानाथ ढुंगेल, विमल कोइराला, भीम उपाध्याय, उमेश मैनालीलगायत कति–कति गिन्ती गरेर साध्य छैन । तिनीहरूका दाँतबाट पसिना आउने र आँखाबाट कचेरा पखालिनेगरी लेख्न बसेका बेला शास्त्र र भाष्यसहित आउँला नै । यहाँको प्रसङ्ग चाहिं मात्र दुर्गा प्रसाईँले बुझेको संसदीय प्रणालीमा टेकेर उनले गरेको प्रधानमन्त्री बालेनबारेको टिप्पणी ‘हनिमुनमै प्रजनन’ धेरै उच्चकोटीको व्यङगात्मक पनि प्रतिपक्ष धर्म निर्वाहमा सटिक परिपक्व देखिएको बताउनु हो ।
शताब्दीयौंदेखि नेपाल भारत या भनौं एसियाली समाजमा अक्सर भइरहने घटना विवाह गरेर ल्याएकी बेहुलीले तीनचार महिनामै बच्चा जन्माइदिन्छिन् । त्यसमा भित्रभित्रै अरु कुरा पनि हुनसक्छ तर आम गाउँ समाज बस्तीले त ‘बेहुलीले अर्कैकी भुँडी बोकेर आएकी रहिछ’ भन्ने नै बुझ्ने भए । हो समाजको यही उदाहरणलाई टेकेर दुर्गाले बालेन सरकारको ‘हनिमुनमै प्रजनन’ भनेका हुन् । यसो भन्नुको नेपाली भाषामा प्रष्ट बुझिने अर्थ लाग्छ ‘बालेन सरकार अर्कैको भुँडी बोकेर आएकी बेहुली (प्रधानमन्त्री) हो जसको मुख्य काम नै हाम्रो घर भाँड्नु हामीलाई सिध्याउनु हुन्छ’ । दुर्गालाई राजनीति नजान्ने अपठित भन्ने प्राडाहरू सारा राजनीतिक विश्लेषकहरूलाई यो एउटा नमूना वक्तव्य बयान हुन पुगेको छ ।
र यो कुनै लुकेको कुरो पनि होइन कि जतिखेर बालेन्द्र शाह राजधानीका नगरप्रमुख थिए २३/२४ भाद्र ०८२ को गर्भाधान भएको १५ चैत ०८१को दुर्गा, नवराज सुवेदी राष्ट्रगानमा देउवा, ओली सरकारको अश्रुग्यास गोलीकाण्डको क्षतिपूर्तिमा सुवेदी र दुर्गालाई पुर्जी काट्नु पर्ने राजा ज्ञानेन्द्रलाई काटेको पाउँदा त्यहाँदेखि मानिसहरूले बालेनलाई विदेशीले बोकेका भन्ने ठान्न थालेका र अहिले पनि त्यो भाष्य प्रवल छ । दुर्गा प्रसाइँले अर्कैको भुँडी बोकेर आएकी बेहुली भन्नुको तात्पर्य पनि यही हो । अझ किटेर भन्दा अमेरिकाको भुँडी बोकेको पनि भन्छन् । प्रधानमन्त्री बालेनलाई पनि यस्ता प्रश्नहरूको भाषणबाजीबाट उत्तर र प्रष्टीकरण गर्नुको कुनै अर्थ हुन्न भन्ने राम्रोसँग थाहा छ । यस्ता प्रश्नहरू बोलेर भन्दा गरेर देखाएर उत्तर दिनु पर्दछ । बालेन शाहको यसप्रकारको सोच स्वागतयोग्य छ । घचघचाइ र जगाइरहने दुर्गाको प्रतिपक्षी हुंकार पनि स्वागतयोग्य छ । यतिखेर बालेन सरकारको प्रमुख प्रतिपक्षी दुर्गा मात्र हुन् । संसद्भित्रका प्रतिपक्षी कांग्रेस, एमाले, माओवादी आदि इत्यादिहरू त जनजनको मन अदालतमा देश बेच्ने मानवतस्करी गर्ने अपराधीका रुपमा दर्ज भइसकेका छन् ।
यहाँनेरि राजनीतिक टिप्पणी चातुर्यताका हिसाबले अर्काको भुँडी बोकेर हाम्रो घर भाँड्न आएको बालेन सरकार भन्ने दुर्गाको प्रतिपक्षी वक्तव्यलाई दाद दिएको भए पनि उनको अन्तर्य बुझाइसँग भने म सहमत छैन । या भनौं नेपालको इतिहासमा प्रधानमन्त्री हुनेहरू कहिलेदेखि अर्काको भुँडी बोकेर आएकी बेहुली हुने गरेका थिए भन्ने पाठ्यक्रम दुर्गालाई उपलब्ध थाहा छैन ।
पाठ्यक्रम लुप्त र लम्बेतान पनि छैन । बेलायती उपनिवेश भारतबाट जान लाग्दा तत्कालीन श्री ३ प्रधानमन्त्री पद्म शमशेरसमक्ष बेलायत सरकारले सुगौली सन्धीले गुमेको भूमि फिर्ता लिन लिखित प्रस्ताव गरेको थियो । सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता अनुकूल साँध सन्धी सबै खातापाता बेलायतले नै मिलाइदिने । प्रधानमन्त्री पद्म शमशेरले त्यतिखेर टाउको मात्र हल्लाइदिएका भए अहिले हामी सुगौली सन्धीले गुमेको भूमि भोगचलन गरिरहेका हुने थियौं । तर पद्म शमशेरले टाउको हल्लाएनन् । कसको भुँडी बोकेका कारण टाउको हल्लाउन नसकेका भन्ने लामो पाठ्यक्रम भएकाले यहाँ यति नै । सन् १९५० को असमान नेपाल भारत मैत्री सन्धी लाद्नका लागि मोहन शमशेर श्री ३ तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको भुँडी बोकेर प्रधानमन्त्री भएका थिए । त्यसवखत श्री ५ त्रिभूवनले ‘राणाको जेलबाट नेहरूको जेलमा आइपुगेको छु ।’ वयान दिएका बाट मोहन शमशेर नेपालको वीर्यबाट जन्मेका प्रधानमन्त्री थिएनन् भन्ने पक्का प्रमाण पुग्छ । मोहन शमशेरपछि प्रधानमन्त्री भएका मातृका प्रसाद कोइरालाले विसं. २००८ सालदेखि पहाडी जिल्लाका अठार ठाउँमा भारतीय सैनिक पोस्ट गाडेर परेड खेल्न दिए । यो भनेको पूर्ण रुपमा नेपालको सार्वभौमिकता स्वाभिमान भारतको मुठ्ठीको माखो भएको अवस्था हो । यो अवस्था ०२७ सालसम्म १९ वर्ष रह्यो । यस कालखण्डमा मातृकापछि प्रधानमन्त्री भएका टंकप्रसाद आचार्य, केआई सिंह, विश्वेश्वर प्रसाद कोइराला, सूर्यबहादुर थापा कसैले पनि नेपालआमाका छातिमा बलात्कार शैलीमा गाडीएका ती भारतीय सैनिक पोस्ट उखेल्ने सकेनन् । यिनीहरूलाई कस्को भुँडी बोकेर आएका बेहुली ठान्ने ? सोनीया गान्धी (नेहरूकी नातिनी बुहारी)ले पशुपतिनाथ मन्दिर छिर्न नपाएको झोकमा (१८ महिना नाकाबन्दी १७ हजार बढी माओवादी नाममा हत्या) आएको बहुदल गणतन्त्र कालखण्ड विगत ३७ वर्ष अवधिमा त वर्ष वर्ष दिनमा प्रधानमन्त्री फेरिने कति कति । के गरे ती अनगिन्ती प्रधानमन्त्रीहरूले विगत ३७ वर्षमा भन्दा ०४५ सालसम्म धान चामल निर्यात कम्पनीका सरकारी साइनबोर्डहरू देशव्यापी छ्यापछ्याप्ती भेटिन्थे । अहिले वर्षको चार अर्ब माथिको त चामल मात्र आयात गर्नुपरेको सरकारी आँकडा हो । ८३ प्रतिशत सम्पूर्ण उपभोग्य वस्तु बिहान बेलुकाको छाक टार्न पनि आयात निर्भर भनेपछि यस्तो देशलाई २१औं शताब्दीमा सार्वभौम मान्यता दिन मिल्दैन । एक प्रकारले विगत ३७ वर्षमा भएका प्रधानमन्त्रीहरूले नेपाल सिध्याइ रित्याइसकेका ठान्दा पनि हुन्छ । अब यी प्रधानमन्त्रीहरूलाई ककसका भुँडी बोकेर आएका बेहुली ठान्ने ? व्याख्या गर्ने ?
मैले यति विवरण ल्याउनुको एउटै मात्र तात्पर्य हो, त्यसो हुँदा प्रधानमन्त्री बालेन शाहलाई अमेरिका र पार्टी अध्यक्ष रवि लामिछानेलाई भारतले बोकेको राष्ट्रिय स्याल हुइया बन्द गरौं । चितवन महाधिवेशनमा आफ्नो राष्ट्रियताप्रति शंका नगर्न बालेनले अनुरोध गरेका छन्, त्यसलाई पत्याउँ । विगत १२ वर्षदेखि अस्पतालको शवगृहमा सडीरहेको अनसनकारी नन्दप्रसाद अधिकारीको लासमा रुपान्तरण भएको ७२ को संविधानलाई बालेनले छिट्टै नै घाटसम्म पु¥याएर अन्त्येष्टी गर्ने छन् भन्ने विश्वास गरौं । भर परौं । चितवन महाधिवेशनमा ‘प्रदेश खारेजी’को प्रस्ताव टेबल गरेबाट मलामी जुटाउन थालेका भरपर्दो विश्वास गर्ने आधार पनि देखिन थालेको छ । अस्तु ।