काठमाडौं । दम तथा दीर्घकालीन श्वासप्रश्वास अवरोध रोग (सीओपीडी)का बिरामीले प्रयोग गर्ने औषधि ‘सेरोफ्लो रोटाक्याप्स’सँग मिल्दोजुल्दो नक्कली उत्पादन नेपालका विभिन्न स्थानमा बिक्री–वितरण भइरहेको तथ्य खुलेको छ । योसँगै औषधि व्यवस्था विभागले अनुसन्धान थालेको जनाएको छ ।
विभागले गत सोमबार राजधानीको प्रमुख औषधि व्यापारिक केन्द्र क्षेत्रपाटीमा अनुगमन तथा छापा मार्दै औषधिको आपूर्ति स्रोतबारे जानकारी संकलन गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा अधिकांश व्यवसायीले ललितपुरको टिकाथलीस्थित लाइफलाइन फर्म एन्ड डिस्ट्रीब्युटर्समार्फत उक्त औषधि प्राप्त गरेको विवरण दिएपछि विभागले सो फर्मलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ ।
विभागद्वारा जारी सूचनाअनुसार ‘५एसए२१५०’ र ‘५एसए०७५९’ ब्याच नम्बरका, उत्पादन मिति अप्रिल २०२५ र म्याद समाप्ति मार्च २०२७ उल्लेख गरिएका ‘सेरोफ्लो रोटाक्याप्स’का नक्कली संस्करण बजारमा फेला परेका छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित औषधिको नक्कली कारोबारमा संलग्न रहेको आशंकामा आपूर्ति शृंखलासँग जोडिएका व्यक्ति तथा संस्थामाथि छानबिन तीव्र पारिएको विभाग स्रोतले जनाएको छ ।
अनुगमनका क्रममा नियन्त्रणमा लिइएका व्यवसायीसँग विभागले करिब पाँच घण्टासम्म सोधपुछ तथा बयान लिएको बताइएको छ । नियन्त्रणमा लिएका नक्कली औषधि कारोबारमा संलग्न व्यवसायीसँंग बयान लिने क्रमलाई विभागले निरन्तरता दिँदै आएको छ ।
विभाग स्रोतका अनुसार भारतको सिक्किमस्थित सिप्ला लिमिटेडद्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’को नक्कली संस्करण नेपालका विभिन्न औषधि पसल तथा थोक विक्रेतामार्फत फैलिएको देखिएको छ । नक्कली ‘सेरोफ्लो रोटाक्याप्स’ प्रकरणमा विभागले ठूलो परिमाणमा नक्कली औषधि बरामद भएको काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित एरिश फार्मास्युटिकल्स, सर्वश्रेष्ठ मेडिसिन डिस्ट्रीब्युटर्स, डम्बर मेडिसिन डिस्ट्रीब्युटर्स र हाइट टाइन मेडिसिन सप्लायर्स, ललितपुरको लाइफलाइन फर्म एन्ड डिस्ट्रीब्युटर्स, रुपन्देहीको सेनामैना हेल्थ सेन्टर तथा कैलालीको विष्णु मूर्ति मेडिको सप्लायर्स सम्बद्ध सञ्चालकसँग बयान लिँदै औषधि सप्लाई गर्ने मुख्य विन्दुको पहिचान गर्ने तयारी गरेको छ ।
यसैबीच भारतको सिक्किमस्थित सिप्ला लिमिटेडद्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’को नेपालका लागि आधिकारिक विक्रेता यति फर्माकेम डिष्ट्रिब्युटर्स प्रालिले बजारमा भेटिएको नक्कली सेरोफ्लो २५० रोटाक्याप्सका सम्बन्धमा कम्पनीले गत असार १२ गते सूचना जारी गर्दै विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख भएको ब्याच नम्बरको नक्कली सेरोफ्लो २५० रोटाक्याप्स औषधि कम्पनीमार्फत आयात वा वितरण नगरिएको प्रस्टीकरण दिँदै उक्त ब्याचका उत्पादनप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । साथै विभागले सक्कली वा नक्कली भन्ने विषयमा अन्तिम पुष्टि गरेपछि मात्रै आधिकारिक वितरकमार्फत बिक्री–वितरण गरिने जनाएको छ ।
त्यस्तै सेरोफ्लो रोटाक्यापसम्बन्धी अनुसन्धानको क्रममा औषधि व्यवस्था विभागले सार्वजनिक गरेको सूचनालाई लिएर नेपाल औषधि व्यवसायी संघ काठमाडौ जिल्ला शाखाले भने गम्भीर आपत्ति जनाएको छ । नक्कली औषधि नियन्त्रणका लागि सरकारले चाल्ने हरेक कदममा आफ्नो समर्थन रहने स्पष्ट पार्दै अनुसन्धान निष्कर्षमा नपुग्दै व्यवसायीको नाम सार्वजनिक गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भएको जनाएको छ । .
संघले जारी गरेको विज्ञप्तिमा सेरोफ्लो रोटाक्यापसम्बन्धी सूचना प्रकाशित गर्दा अनुसन्धान जारी रहकै अवस्थामा वैध आपूर्ति शृंखलामार्फत कारोबार गर्ने व्यवसायीहरूको नाम सार्वजनिक गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
संघका अनुसार औषधि व्यवसायीहरू सरकारी दर्ता, आयात अनुमति तथा आधिकारिक आपूर्ति प्रणलीमा विश्वास गरेर कारोबार गर्छन् । बजारमा उपलब्ध प्रत्येक औषधिको प्रयोगशाला परीक्षण गरेर मात्रै बिक्री गर्न व्यावहारिकरूपमा सम्भव नहुने भएकाले अनुसन्धानअगाडि व्यवसायीलाई दोषी देखिने गरी नाम सार्वजनिक गर्दा उनीहरूको प्रतिष्ठा, ग्राहकको विश्वास र दीर्घकालीन व्यवसायमा नकारात्मक असर पर्ने जनाएको छ ।
यद्यपि संघले नक्कली औषधिको उत्पादन, आयात, वितरण वा बिक्रीमा संलग्न जोसुकैलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्ने आफ्नो अडान दोहो¥याएको छ । तर अनुसन्धान पूरा नहुँदै वैध रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सार्वजनिक रूपमा शंकाको घेरामा राख्ने कार्यले नियामक निकाय÷व्यवसायी समुदायबीचको विश्वास कमजोर बनाउने र यसले भविष्यमा औषधि आपूर्ति प्रणालीमै असर पार्न सक्ने जिकिर गरेका छ ।
स्मरणीय पक्ष भनेको अनुसन्धान जारी रहेकै अवस्थामा वैध अवस्थामा वैध आपूर्ति श्रृंखलामार्फत कारोबार गर्ने व्यवसायीको नाम सार्वजनिक गरेकोप्रति असन्तुष्टि गर्न आफैँम स्वभाविक होला, तर मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने लाइफ सेभिङ ड्रग्सजस्तो संवेदनशील औषधिको कारोबार गर्दै मुनाफा कमाउन पल्केका कुनै पनि व्यवसायीको मानमर्दन हुन्छ भन्ने तथ्य किमार्थ स्वीकार्न सकिन्न ।
त्यस अर्थमा विभागले उल्लिखित ब्याच नम्बरका औषधि बिक्री गर्ने व्यवसायीमार्फत तत्काल मुल जडसम्म पुगेर कारबाही गर्न आवश्यक देखिन्छ । त्यस्तै काठमाडौंदेखि कर्णालीसम्म फैलिएको नक्कली औषधिको सञ्जाललाई निस्तेज बनाउन उच्च प्राथमिकताका साथ अनसुन्धान गर्न पर्ने देखिन्छ ।