नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा र साहसिक पर्यटनका दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक हो । हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक विविधता, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू, बुद्ध जन्मस्थल लुम्बिनी, पशुपतिनाथ, जनकपुर, मुस्ताङ, रारा, शे–फोक्सुण्डो, अन्नपूर्ण र सगरमाथाजस्ता आकर्षणले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा विशिष्ट पहिचान दिएको छ । पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भए पनि यसको सम्भावनाअनुसार उपलब्धि हासिल हुन नसक्नु दुःखको कुरा हो । विशेषगरी धेरै पर्यटक भित्र्याउने मात्र होइन, बढी समय बस्ने, बढी खर्च गर्ने र दिगो पर्यटनलाई प्रवद्र्धन गर्ने गुणस्तरीय पर्यटक आकर्षित गर्नु आजको प्रमुख आवश्यकता बनेको छ ।
विश्व बजारमा फैलिएको कोभिड–१९ महामारीपछि नेपालको पर्यटन उद्योग पुनः लयमा फर्किने क्रममा रहेको छ । अन्तर्राष्ट्रिय हवाइ उडानको विस्तार, होटल तथा रिसोर्टमा बढ्दो लगानी, साहसिक तथा धार्मिक पर्यटनप्रति विश्वव्यापी आकर्षण र डिजिटल माध्यमबाट नेपालको प्रचार–प्रसारले सकारात्मक संकेत देखिएका छन्। पछिल्ला वर्षहरूमा विदेशी पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ भने आन्तरिक पर्यटन पनि विस्तार हुँदै गएको छ। यसले पर्यटन व्यवसायीमा नयाँ उत्साह थपेको छ । तर, संख्यात्मक वृद्धि मात्रै पर्यटनको सफलता होइन । नेपाल आउने पर्यटकको औसत बसाइ अवधि र प्रतिपर्यटक खर्च अपेक्षाकृत कम हुनु चिन्ताको विषय हो। धेरै पर्यटक नेपाललाई छोटो अवधिको गन्तव्यका रूपमा मात्रै लिने गरेका छन् । सीमित पूर्वाधार, कमजोर सेवा गुणस्तर, असहज यातायात, अन्तर्राष्ट्रिय स्तरको पर्यटन व्यवस्थापनको अभाव तथा योजनाबद्ध गन्तव्य विकास नहुनु यसका प्रमुख कारण हुन् ।
गुणस्तरीय पर्यटक भन्नाले बढी खर्च गर्ने मात्र होइन, स्थानीय संस्कृति र वातावरणप्रति संवेदनशील, लामो समय बस्ने, स्थानीय उत्पादन तथा सेवाको उपयोग गर्ने र दिगो पर्यटनलाई सहयोग गर्ने पर्यटकलाई बुझिन्छ । यस्ता पर्यटकले कम संख्यामा आए पनि स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछन् । त्यसैले अब नेपालको लक्ष्य पर्यटक संख्या बढाउने मात्र नभई पर्यटनबाट प्राप्त हुने आर्थिक प्रतिफल वृद्धि गर्नु हुनुपर्छ । यसका लागि सबैभन्दा पहिले पर्यटन पूर्वाधारमा सुधार आवश्यक छ । अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, आन्तरिक हवाइ सेवाको विश्वसनीयता, सुरक्षित र गुणस्तरीय सडक सञ्जाल, स्वच्छ सार्वजनिक शौचालय, व्यवस्थित पदमार्ग, सूचना केन्द्र, डिजिटल साइनबोर्ड तथा सहज इन्टरनेट सेवाले पर्यटकको अनुभवमा प्रत्यक्ष प्रभाव पार्छ । पर्यटकले पहिलो दिनदेखि अन्तिम दिनसम्म सहज, सुरक्षित र व्यवस्थित सेवा पाए मात्र नेपालप्रति सकारात्मक सन्देश विश्वभर फैलिन्छ ।
सेवा गुणस्तर सुधार अर्को महत्वपूर्ण पक्ष हो । होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ गाइड, चालक तथा पर्यटनसँग सम्बन्धित जनशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको तालिम आवश्यक छ । अतिथि सत्कार, भाषा सीप, व्यावसायिक आचरण, सुरक्षा तथा आपत्कालीन व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्न सके नेपालको प्रतिस्पर्धात्मक क्षमता उल्लेखनीय रूपमा बढ्न सक्छ । गुणस्तरीय सेवा नै पर्यटन उद्योगको सबैभन्दा बलियो प्रचार हो । नेपालले आफ्नो पर्यटन उत्पादनलाई पनि विविधीकरण गर्नुपर्छ । लामो समयसम्म हिमाल र ट्रेकिङमा केन्द्रित पर्यटनलाई अब स्वास्थ्य तथा वेलनेस पर्यटन, योग तथा ध्यान, धार्मिक पर्यटन, ग्रामीण पर्यटन, कृषि पर्यटन, सांस्कृतिक पर्यटन, वन्यजन्तु अवलोकन, सम्मेलन तथा व्यवसायिक पर्यटन, खेल पर्यटन र चलचित्र पर्यटनजस्ता नयाँ क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता छ । यसले पर्यटकको बसाइ अवधि बढाउनुका साथै नयाँ बजारसमेत सिर्जना गर्छ ।
प्रवर्द्धनको शैली पनि समयानुकूल हुनुपर्छ आजका पर्यटक डिजिटल माध्यमबाट गन्तव्य छनोट गर्छन्। त्यसैले सामाजिक सञ्जाल, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय ट्राभल प्लेटफर्म, प्रभावशाली सामग्री निर्माता (कन्टेन्ट क्रिएटर) तथा वृत्तचित्रमार्फत नेपालको प्रभावकारी ब्रान्डिङ गर्न आवश्यक छ । ’नेपाल’लाई केवल हिमालको देशका रूपमा होइन, संस्कृति, साहसिक अनुभव, आध्यात्मिक शान्ति, जैविक विविधता र आतिथ्यताको अद्वितीय गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत गर्न सक्नुपर्छ ।
दिगो पर्यटनमा पनि विशेष ध्यान दिनुपर्छ । अनियन्त्रित पर्यटनले वातावरणीय प्रदूषण, फोहोर व्यवस्थापन, प्राकृतिक सम्पदाको क्षति र स्थानीय संस्कृतिमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले पर्यावरण संरक्षण, स्थानीय समुदायको सहभागिता, स्थानीय उत्पादनको प्रयोग तथा पर्यटनबाट प्राप्त लाभको न्यायोचित वितरण सुनिश्चित गर्नुपर्छ । दिगो पर्यटनले मात्र नेपालको प्राकृतिक सम्पदा भावी पुस्ताका लागि सुरक्षित राख्न सक्छ । सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्छ । पर्यटन नीति, लगानीमैत्री वातावरण, कर प्रणाली, एकद्वार सेवा, सुरक्षा व्यवस्था तथा अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रर्र्वनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । स्थानीय सरकारलाई पनि आफ्ना गन्तव्यको पहिचान, संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका दिन आवश्यक छ ।
नेपालको पर्यटन विकासमा स्वच्छता र सुशासन पनि उत्तिकै महत्वपूर्ण छन् । पर्यटक ठगी, अनावश्यक शुल्क, अव्यवस्थित यातायात, फोहोर वातावरण तथा कमजोर नियमनले नेपालको छविमा नकारात्मक असर पार्छ । पारदर्शी, सुरक्षित र व्यवस्थित पर्यटन वातावरण निर्माण गर्न सके पर्यटकको विश्वास अझ बलियो बन्न सक्छ ।
नेपालमा विश्वलाई आकर्षित गर्ने सबै आधारहरू रहेका छन् । चुनौती सम्भावनाको अभावमा होइन, व्यवस्थापन, पूर्वाधार, सेवा गुणस्तर र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनमा छ । अबको रणनीति ‘धेरै पर्यटक’ भन्दा ‘गुणस्तरीय पर्यटन’ हुनुपर्छ । बढी समय बस्ने, स्थानीय अर्थतन्त्रमा योगदान गर्ने र नेपालको सकारात्मक सन्देश विश्वभर फैलाउने पर्यटक आकर्षित गर्न सकियो भने पर्यटन उद्योगले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, स्थानीय उद्यम विकास तथा समग्र आर्थिक समृद्धिमा अझ ठूलो योगदान पु¥याउनेछ । त्यसका लागि सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र पर्यटनसँग सम्बन्धित सबै सरोकारवालाले साझा लक्ष्यका साथ समन्वित प्रयास गर्न आवश्यक छ । यही मार्गबाट नेपालले आफ्नो पर्यटन सम्भावनालाई वास्तविक आर्थिक समृद्धिमा रूपान्तरण गर्न सक्छ ।