मानिस जुनसुकै पेशा, व्यवसाय वा जिम्मेवारीमा रहे पनि सबैभन्दा पहिले ऊ एउटा सचेत नागरिक र सामाजिक प्राणी हो । कोही शिक्षक हुन्छन्, कोही चिकित्सक, इन्जिनियर, कर्मचारी, व्यापारी, किसान, गृहिणी वा विद्यार्थी; तर सबैको जीवनमा सफल, सम्मानित र स्वस्थ बन्न आवश्यक पर्ने आधारभूत गुण एउटै हो— अनुशासन । अनुशासनले व्यक्तिलाई सही समयमा सही निर्णय गर्न, आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न तथा आफ्नो जीवनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सिकाउँछ । यदि एउटा व्यक्ति अनुशासित हुन्छ भने त्यसको सकारात्मक प्रभाव उसको परिवारमा पर्छ, परिवारबाट समाजमा पर्छ र अन्ततः राष्ट्रको विकासमा समेत योगदान पुग्छ । त्यसैले अनुशासनलाई व्यक्तिको मात्र होइन, सभ्य समाजको पनि आधार मानिन्छ ।
सबै मानिसको शरीर, स्वास्थ्य अवस्था तथा रोगसँग लड्ने क्षमता समान हुँदैन । कतिपय मानिसहरूले अत्यधिक खाना खाने, अस्वस्थकर भोजन गर्ने, धूम्रपान तथा मदिरा सेवन गर्ने, राति अबेरसम्म नसुती बस्ने जस्ता बानी अपनाउँदा पनि लामो समयसम्म कुनै ठूलो स्वास्थ्य समस्या नदेखिन सक्छ । उनीहरू धेरै वर्षसम्म सामान्य जीवन बिताइरहेका देखिन सक्छन् । तर त्यसको अर्थ त्यस्तो जीवनशैली सबैका लागि उपयुक्त हुन्छ भन्ने होइन । त्यस्ता व्यक्तिको शरीर जन्मजात बलियो हुन सक्छ, रोग प्रतिरोधात्मक क्षमता बढी हुन सक्छ वा भाग्यले साथ दिएको हुन सक्छ । तर अधिकांश मानिसका लागि यस्ता बानीहरू भविष्यमा विभिन्न रोगको कारण बन्न सक्छन् । त्यसैले अरूलाई हेरेर आफ्नो जीवनशैली निर्धारण गर्नु बुद्धिमानी होइन । आफ्नो स्वास्थ्य जोगाउने सबैभन्दा भरपर्दो उपाय अनुशासित जीवनशैली नै हो ।
स्वास्थ्य बिग्रिएपछि मानिसको कार्यक्षमता घट्छ, आत्मविश्वास कमजोर हुन्छ र उसले आफ्नो लक्ष्य प्राप्त गर्न कठिनाइ अनुभव गर्न थाल्छ । त्यसैले अनुशासन र स्वास्थ्यबीच अत्यन्त गहिरो सम्बन्ध छ । स्वस्थ शरीरमा मात्र स्वस्थ विचारको विकास हुन्छ, र स्वस्थ विचारले नै सफलताको बाटो खोल्छ ।
अनुशासन कुनै एउटा क्षेत्रमा मात्र आवश्यक हुँदैन । बिहान उठेदेखि राति सुत्नेसम्म, घरमा, विद्यालयमा, कार्यालयमा, सार्वजनिक स्थानमा, परिवारसँग, साथीभाइसँग तथा समाजका हरेक क्षेत्रमा अनुशासनको आवश्यकता पर्दछ । साना–साना राम्रा बानीहरूले नै भविष्यमा ठूलो व्यक्तित्व निर्माण गर्छन् ।
सबैभन्दा पहिले, पर्याप्त निद्रा अनुशासित जीवनको आधार हो । सामान्यतया एक स्वस्थ वयस्क व्यक्तिले दैनिक सातदेखि आठ घण्टा गुणस्तरीय निद्रा लिनुपर्छ । समयमा सुत्ने र प्रत्येक दिन लगभग एउटै समयमा उठ्ने बानीले शरीरको जैविक घडी सन्तुलित राख्छ । पर्याप्त निद्रा नलिँदा थकान, चिडचिडापन, एकाग्रताको कमी तथा विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । त्यसैले राम्रो निद्रा सफल जीवनको एउटा महत्वपूर्ण आधार हो । हुन त आफ्नो काम विशेषले मानिसको सुत्ने र उठ्ने कुराको टुङ्गो हुँदैन, तथापि यसलाई व्यवस्थित भने गर्नै पर्छ ।
त्यसैगरी रातिको काम नगर्ने मानिसहरूले बिहान समयमै उठ्ने बानीले मानिसलाई दिनभर ऊर्जावान् बनाउँछ । बिहानको शान्त वातावरण अध्ययन, व्यायाम, ध्यान तथा दिनभरका कामको योजना बनाउनका लागि उपयुक्त हुन्छ । संसारका धेरै सफल व्यक्तिहरू बिहान चाँडै उठ्ने बानीका कारण पनि उदाहरणीय मानिन्छन् । बिहान अबेरसम्म सुत्ने बानीले समयको दुरूपयोग मात्र होइन, आलस्य र कामप्रतिको उदासीनता पनि बढाउँछ ।
व्यक्तिगत सरसफाइ पनि अनुशासनको अभिन्न अंग हो । दैनिक स्नान गर्ने, दाँत सफा गर्ने, नङ काट्ने, सफा कपडा लगाउने तथा शरीरको स्वच्छतामा ध्यान दिने व्यक्तिको स्वास्थ्य राम्रो रहन्छ । सरसफाइले केवल रोगबाट बचाउँदैन, आत्मविश्वास पनि बढाउँछ । मानिसको पहिलो छाप प्रायः उसको सरसफाइ र प्रस्तुतिबाट नै पर्ने गर्छ ।
आफ्नो घर, कोठा, कार्यस्थल तथा वरपरको वातावरण सफा राख्नु पनि अनुशासनको महत्वपूर्ण पक्ष हो । आफू बसेको स्थान व्यवस्थित राख्ने व्यक्तिको सोच पनि व्यवस्थित हुने सम्भावना बढी हुन्छ । सफा वातावरणले मानसिक शान्ति, सकारात्मक सोच तथा कार्यक्षमता बढाउन सहयोग पुर्याउँछ ।
मानिसको वास्तविक परिचय उसको बोली र व्यवहारबाट हुन्छ । नम्र भाषा प्रयोग गर्ने, अरूलाई सम्मान गर्ने, झूट नबोल्ने, रिसलाई नियन्त्रण गर्ने तथा कसैलाई अपमान नगर्ने व्यक्ति समाजमा सम्मानित हुन्छ । कठोर बोलीले वर्षौँको सम्बन्ध बिगार्न सक्छ भने मीठो व्यवहारले अपरिचित मानिसलाई पनि आफ्नो बनाउन सक्छ । त्यसैले बोल्ने कला पनि अनुशासनको महत्वपूर्ण रूप हो ।
त्यसैगरी लवाइ–खुवाइमा पनि अनुशासन आवश्यक छ । महँगो कपडा लगाउनु ठूलो कुरा होइन, सफा, सादगीपूर्ण र अवसरअनुकूल पोशाक लगाउनु नै वास्तविक सभ्यता हो । विद्यालय, कार्यालय, धार्मिक कार्यक्रम, विवाह वा शोकसभामा स्थान र अवसरअनुसारको पोशाक छनोट गर्न सक्नु व्यक्तिको परिपक्वताको चिन्ह हो । राम्रो पहिरनले आत्मविश्वास बढाउनुका साथै अरूको मनमा सकारात्मक प्रभाव पनि पार्छ ।
कामप्रतिको अनुशासन सफलताको मेरुदण्ड हो । समयमै कार्यालय वा कार्यस्थल पुग्ने, जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने, कामलाई अनावश्यक रूपमा नथाँती राख्ने तथा समयको मूल्य बुझ्ने व्यक्तिमाथि सबैको विश्वास बढ्छ । ढिलासुस्ती गर्ने, बहाना बनाउने र जिम्मेवारीबाट पन्छिने व्यक्तिले बिस्तारै अवसर गुमाउँदै जान्छ । सफलता चाहने प्रत्येक व्यक्तिले कामलाई पूजा सम्झेर अनुशासित रूपमा आफ्नो दायित्व पूरा गर्नुपर्छ ।
अनुशासन विद्यालयमा पनि उत्तिकै आवश्यक हुन्छ । समयमै विद्यालय पुग्ने, शिक्षकको सम्मान गर्ने, गृहकार्य पूरा गर्ने, विद्यालयको सम्पत्तिको संरक्षण गर्ने तथा साथीहरूसँग सभ्य व्यवहार गर्ने विद्यार्थीले भविष्यमा जिम्मेवार नागरिक बन्ने सम्भावना बढी हुन्छ । विद्यार्थी जीवनमा सिकिएको अनुशासनले नै भविष्यको चरित्र निर्माण गर्छ ।
त्यसैगरी साथीभाइसँगको सम्बन्धमा पनि मर्यादा आवश्यक हुन्छ । साथीको भावना, समय र व्यक्तिगत सम्मानको कदर गर्नु पनि अनुशासनको परिचायक हो । मित्रताको नाममा अपमान गर्ने, जिस्क्याउने वा गलत काममा दबाब दिने बानीले सम्बन्धलाई कमजोर बनाउँछ । त्यसैले साथीभाइसँग पनि अनुशासित हुनु जरुरी छ ।
ठूला–साना सबैसँग सम्मानपूर्वक बोल्ने बानी हाम्रो संस्कारको महत्वपूर्ण पक्ष हो । उमेर, पद, आर्थिक अवस्था वा शिक्षाको आधारमा कसैलाई सानो वा ठूलो व्यवहार गर्नु हुँदैन । साँचो अनुशासन भनेको सबै मानिसलाई समान सम्मान दिनु हो । सम्मान दिन जान्ने व्यक्तिले नै समाजबाट सम्मान प्राप्त गर्छ ।
खानपानमा अनुशासन पनि उत्तिकै आवश्यक छ । आवश्यकताभन्दा बढी खाना खानु, अत्यधिक तेल, चिल्लो, चिनी तथा जंक फुडको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अत्यधिक खानाले मोटोपना, मधुमेह, उच्च रक्तचाप तथा अन्य दीर्घरोग निम्त्याउन सक्छ । त्यसैले सन्तुलित, पौष्टिक र समयमै खाना खाने बानी बसाल्नु आवश्यक छ । स्वस्थ खानपानले शरीरलाई र मस्तिष्कलाई पनि सक्रिय राख्छ र सफल जीवनको आधार तयार गर्छ ।
खानपानपछि अर्को महत्वपूर्ण पक्ष हो आर्थिक तथा सामाजिक व्यवहारमा अनुशासन । मानिसको चरित्रको मूल्यांकन केवल उसको बोली वा शिक्षाबाट मात्र हुँदैन, उसले आफ्नो जिम्मेवारी कसरी पूरा गर्छ भन्ने कुराबाट पनि हुन्छ । विशेषगरी आर्थिक लेनदेनमा अनुशासन नहुँदा धेरै वर्षदेखिका सम्बन्धहरू पनि बिग्रिएका उदाहरण समाजमा प्रशस्त छन् । समयमै ऋण तिर्ने, सापटी लिएको वस्तु वा पैसा समयमा फिर्ता गर्ने, स्पष्ट हिसाब–किताब राख्ने तथा इमानदार व्यवहार गर्ने व्यक्तिले सबैको विश्वास जित्न सफल हुन्छ । एकपटक आर्थिक विश्वास गुमेपछि त्यसलाई पुनः प्राप्त गर्न निकै कठिन हुन्छ । त्यसैले आर्थिक अनुशासनलाई सफल जीवनको एउटा बलियो आधार मानिन्छ ।
लवाइ–खुवाइमा पनि अनुशासन आवश्यक हुन्छ । अवसरअनुसारको पोशाक छनोट गर्न सक्ने व्यक्तिलाई समाजले परिपक्व र सभ्य व्यक्तिका रूपमा हेर्छ । विद्यालय, कार्यालय, धार्मिक कार्यक्रम, विवाह, शोकसभा वा औपचारिक कार्यक्रममा फरक–फरक प्रकारको पोशाक उपयुक्त हुन्छ । त्यसैगरी अस्वस्थकर भोजन, अत्यधिक चिल्लो, बोसोयुक्त तथा जंक फुडको निरन्तर सेवनले शरीरमा अनावश्यक बोसो जम्मा हुन्छ र विभिन्न रोग निम्त्याउन सक्छ । स्वस्थ जीवनशैली अपनाउने व्यक्तिमा आत्मविश्वास, कार्यक्षमता र सकारात्मक सोच पनि बढ्दै जान्छ ।
आजको युगमा मोबाइल फोनको प्रयोगमा पनि अनुशासन आवश्यक छ । कसैले गम्भीर कुरा गरिरहेको बेला मोबाइल चलाउनु, बैठक वा कक्षामा सामाजिक सञ्जालमा व्यस्त हुनु वा निरन्तर मोबाइल हेर्दै बस्नु अर्को व्यक्तिप्रतिको असम्मान हो । अनुशासित व्यक्तिले आवश्यक समयमा मात्र मोबाइल प्रयोग गर्छ र आफ्नो उपस्थितिलाई प्राथमिकता दिन्छ । यसले सम्बन्धमा विश्वास र सम्मान बढाउँछ ।
त्यसैगरी अरूको कुरा धैर्यपूर्वक सुन्ने बानी पनि अनुशासनको एउटा महत्वपूर्ण गुण हो । धेरै मानिसहरू अरूको कुरा पूरा नसुनी बीचमै काट्ने वा आफ्नो विचार मात्र सही ठान्ने गर्छन् । यस्तो व्यवहारले सम्बन्धमा दूरी बढाउँछ । राम्रो श्रोता बन्न सक्ने व्यक्तिले अरूको भावना बुझ्न सक्छ, समस्याको समाधान खोज्न सक्छ र विवादलाई सहज रूपमा समाधान गर्न सक्छ । बोल्न जान्नु ठूलो कुरा हो, तर सुन्न जान्नु त्योभन्दा पनि ठूलो गुण हो ।
अनुशासित व्यक्तिले आफू मात्र धेरै बोल्ने बानी राख्दैन । ऊ आवश्यक मात्र बोल्छ, सान्दर्भिक बोल्छ र अरूलाई पनि आफ्नो विचार व्यक्त गर्ने अवसर दिन्छ । आफ्नो ज्ञान वा उपलब्धिको अनावश्यक प्रदर्शन गर्नुभन्दा विनम्र भएर प्रस्तुत हुनु नै वास्तविक सभ्यता हो ।
सार्वजनिक स्थानमा अनुशासन सभ्य समाजको महत्वपूर्ण परिचय हो । सडक, पार्क, बसपार्क, विद्यालय, अस्पताल, सरकारी कार्यालय, धार्मिक स्थल वा अन्य सार्वजनिक स्थानहरू सबै नागरिकका साझा सम्पत्ति हुन् । त्यसैले त्यस्ता स्थानमा जथाभावी फोहोर फाल्नु, सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु वा वातावरण प्रदूषित गर्नु गैरजिम्मेवार व्यवहार हो । अनुशासित नागरिकले आफूले प्रयोग गरेका प्लास्टिकका बोतल, चकलेटका खोल, चुरोटका ठुटा वा अन्य फोहोर तोकिएको स्थानमा मात्र फाल्छ । यदि डस्टबिन उपलब्ध छैन भने पनि उचित स्थान नभेटेसम्म फोहोर आफूसँगै राख्ने संस्कार विकास गर्नुपर्छ । यस्ता साना बानीहरूले नै सफा, स्वस्थ र सभ्य समाज निर्माण गर्न मद्दत गर्छन् ।
त्यसैगरी सार्वजनिक रूपमा थुक्ने, जथाभावी नाक सफा गर्ने, मुख नछोपी खोक्ने वा हाच्छ्युँ गर्ने, ठूलो आवाजमा डकार्ने वा अरूलाई असहज हुने व्यवहार गर्नु सभ्य समाजमा स्वीकार्य हुँदैन । यस्ता बानीहरूले रोगको संक्रमण फैलाउने सम्भावना बढाउनुका साथै वरपरका मानिसहरूलाई पनि असुविधा पु¥याउँछन् । अनुशासित व्यक्तिले सधैं आफ्नो व्यवहारले अरूलाई असर नपरोस् भन्ने कुरामा ध्यान दिन्छ ।
आजकल सार्वजनिक स्थानमा अत्यन्त ठूलो स्वरले मोबाइलमा कुरा गर्ने वा साथीभाइसँग ठूलो आवाजमा गफ गर्ने प्रवृत्ति पनि बढ्दो छ । अस्पताल, बैंक, कार्यालय, बस वा विमानमा यस्तो व्यवहारले अरूलाई असहज बनाउँछ । अनुशासन भनेको आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरूको अधिकारको पनि सम्मान गर्नु हो । त्यसैले सार्वजनिक स्थानमा संयमित स्वरमा बोल्नु सभ्य नागरिकको पहिचान हो ।
सार्वजनिक सवारीसाधनमा अनुशासन झन् बढी आवश्यक हुन्छ । चढ्ने र ओर्लने क्रममा धक्का–मुक्का नगर्ने, लाइनको पालना गर्ने, वृद्धवृद्धा, गर्भवती महिला, अशक्त व्यक्ति तथा साना बालबालिकालाई प्राथमिकता दिने बानीले समाजमा पारस्परिक सम्मानको भावना विकास हुन्छ । सानो सहयोगले पनि कसैको यात्रा सहज र सुरक्षित बनाउन सक्छ ।
कसैको गरिबी, शारीरिक बनावट, भाषा, जात, पेशा वा शिक्षाको आधारमा होच्याउनु वा जिस्क्याउनु सभ्य व्यवहार होइन । मजाकको नाममा अरूको आत्मसम्मानमा चोट पु¥याउनु अनुशासनविपरीत कार्य हो । अनुशासित व्यक्तिले सबैलाई सम्मान गर्छ, प्रोत्साहन दिन्छ र आवश्यक पर्दा सहयोग पनि गर्छ । सम्मान बाँड्ने व्यक्तिले नै समाजबाट सम्मान प्राप्त गर्छ ।
लोभ–लालच मानिसलाई अनुशासनबाट विचलित बनाउने अर्को प्रमुख कारण हो । धेरै भ्रष्टाचार, ठगी, अपराध र विश्वासघातको जड अत्यधिक लोभ नै हो । अनुशासित व्यक्तिले इमानदारीपूर्वक कमाएको आम्दानीमा सन्तुष्ट हुन सिक्छ । उसले अरूको अधिकार हनन गरेर आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गर्दैन । इमानदारीबाट कमाएको सानो उपलब्धि पनि बेइमानीबाट कमाएको ठूलो सफलताभन्दा धेरै मूल्यवान् हुन्छ ।
भोज, पार्टी तथा सामाजिक कार्यक्रममा पनि अनुशासनको आवश्यकता उत्तिकै हुन्छ । कतिपय मानिसहरू आवश्यकताभन्दा धेरै खाना थालमा लिएर आधाभन्दा बढी फाल्ने, लाइन नमानी अघि बढ्ने वा अत्यधिक खाने गर्छन् । यसले खाद्यान्नको अपव्यय मात्र होइन, सामाजिक असभ्यता पनि देखाउँछ । संसारमा आज पनि करोडौँ मानिसहरू पर्याप्त भोजन नपाएर भोकै सुत्न बाध्य छन् । त्यसैले आफूलाई आवश्यक पर्ने मात्र खाना लिनु, सकेसम्म खेर नफाल्नु र खाद्यान्नको सम्मान गर्नु प्रत्येक नागरिकको दायित्व हो ।
त्यसैगरी मदिरा तथा अन्य नशालु पदार्थको अत्यधिक सेवनले मानिसको विवेक, निर्णय क्षमता र सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्न सक्छ । कतिपय व्यक्तिहरू नशाका कारण आफूले के बोले, कसरी व्यवहार गरे वा कसको अपमान गरे भन्ने समेत सम्झन सक्दैनन् । यस्तो व्यवहारले परिवार, साथीभाइ, कार्यस्थल तथा समाजमा विश्वास गुम्ने सम्भावना बढाउँछ । स्वस्थ शरीर, शान्त मन र सफल जीवनका लागि नशालु पदार्थबाट टाढा रहनु वा अत्यन्त संयम अपनाउनु बुद्धिमानी हुन्छ ।
वास्तवमा मानिसको सबैभन्दा ठूलो सम्पत्ति धन, पद वा प्रतिष्ठा मात्र होइन, विश्वास र अनुशासन हो । अनुशासित व्यक्तिले आफ्नो वचन पूरा गर्छ, समयको सम्मान गर्छ, जिम्मेवारीबाट भाग्दैन र इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्छ । यही कारणले समाजले त्यस्ता व्यक्तिमाथि विश्वास गर्छ । विश्वास जित्न वर्षौँ लाग्न सक्छ, तर गुमाउन केही क्षण मात्र पर्याप्त हुन्छ । त्यसैले अनुशासन र चरित्रलाई सधैं जोगाइराख्नु आवश्यक छ ।
साँचो अर्थमा अनुशासित व्यक्ति केवल आफ्नो हित मात्र सोच्दैन । उसले परिवार, साथीभाइ, सहकर्मी तथा समाजप्रति पनि उत्तिकै जिम्मेवारी महसुस गर्छ । उसले कार्यस्थलमा सकारात्मक वातावरण सिर्जना गर्छ, सबैलाई सम्मान गर्छ, सहयोगको भावना विकास गर्छ र आफ्नो व्यवहारबाट अरूका लागि उदाहरण बन्छ । अनुशासित व्यक्ति आफू पनि सुरक्षित रहन्छ र अरूलाई पनि सुरक्षित राख्न प्रेरित गर्छ । उसले समस्या देखेर दोषारोपण मात्र गर्दैन, समाधान खोज्ने प्रयास पनि गर्छ । यस्ता व्यक्तिहरूको कारणले नै समाजमा शान्ति, सद्भाव, विश्वास र विकास सम्भव हुन्छ ।
अनुशासन सफल, स्वस्थ, सम्मानित र जिम्मेवार जीवन जिउने कला हो । मानिसको स्वास्थ्य, व्यक्तित्व, सम्बन्ध, अध्ययन, व्यवसाय, सामाजिक प्रतिष्ठा र सफलताको जग नै अनुशासन हो । प्रतिभा, धन वा अवसर सबैसँग समान हुँदैन, तर अनुशासित बन्ने अवसर भने सबैसँग हुन्छ । समयको सम्मान गर्ने, स्वस्थ जीवनशैली अपनाउने, इमानदार बन्ने, अरूलाई सम्मान गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, आफ्नो जिम्मेवारी पूरा गर्ने र संयमित व्यवहार गर्ने साना–साना बानीहरूले नै ठूलो व्यक्तित्व निर्माण गर्छन् ।
अनुशासित बनौँ । समाज, राष्ट्र, घर स्वयंबाट देश बनाउने संकल्प गरौँ । अनुशासनमार्फत मानसिक र शारीरिक स्वास्थ्यमा ध्यान दिऔँ र सफलताको वातावरण निर्माण गरौँ ।