सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न चितवन महाधीवेशनले लादिएको (८० प्रतिशतले संघीयता र ९० प्रतिशतले धर्म निरपेक्षता चाँहिदैन भनेका थिए) ०७२ को संविधान अन्तरगतको प्रदेश संरचना खारेज गर्ने प्रस्ताव पास गरेको छ । यो धेरै ठूलो सकारात्मक ठीक पाइला हो । ‘गलत ठाउँमा टेकीएका कोशौं पाइलाहरूले पनि कहीं पुगिँदैन भने ठीक ठाउँमा टेकिएको एउटा पाइलाले पनि इतिहास निर्माणमा निर्णायक काम गरिरहेको हुन्छ’ भन्ने स्थापित शास्त्र छ ।
नेपालमा संघीयता लादिएको पृष्ठभूमि र उद्देश्यको तथ्यपरक ठीक अध्ययन गरियो भने नेपालको सार्वभौमिकता र उन्नत भविष्यका लागि यसको खारेजी कति धेरै अपरिहार्य छ भन्ने छर्लङ्ग हुन्छ । यसमा एउटा सुविधा के छ भने इतिहासका ती तथ्यपरक घटना पृष्ठभूमि र उद्देश्य लुकेको अप्राप्त भने छैन । मात्र अभाव कति मात्र हो भने ०७ साल र खासगरी ०४६ सालको बहुदल यताका भीसी र राजदूतका दावेदार राष्ट्रिय शिक्षा नीतिका पाठ्यक्रम निर्माता प्राडाहरूले (प्रा.डा. सुरेन्द्र के.सी.देखि लोकराज बरालसम्म चार हजारको सङ्ख्या रहेका सुन्दै छु) आम जनजागरणसम्म (प्राइमरी स्कुलदेखि नै) पाठ्यक्रम आइपुग्न नै लुकाइदिए । या भनौँ देश, जनता, प्रणाली प्रति गद्दारी या आत्मघात गरे । प्रा.डा. जगतको आजसम्मको उल्लिखित गद्दारी र आत्मघातको पाठ्यक्रम अब जेनजी पुस्ताले इन्टरनेट गुगल खगाँल्न थालेका छन् । प्रधानमन्त्री बालेन शाहले चितवन महाधीवेशनको ‘प्रदेश खारेजी’को प्रस्तावलाई ओन गरेर राज्यसत्ताको प्राथमिक लक्ष बनाइदिएबाट यो तथ्य पुष्टि र प्रमाणित हुन्छ । यसर्थ यति खेर यस खालको पाठ्यक्रम आम जनजागरणसम्म पुर्याउनु र पुग्नु अति आवश्यक भएको छ ।
दोस्रो विश्वयुद्धपछि बेलायत भारतबाट गएपछि त्यहाँ ६ सय बढी राज्य रजौटाहरू थिए । हाम्रा गोरखाका राजा श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहले २२से २४से राज्यलगायत राजा रजौटाहरूलाई एकीकरण गरेर नेपाल राष्ट्र निर्माण गरेको इतिहासबाट पाठ सिकेर स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू, गृहमन्त्री बल्लभभाइ पटेलहरूले ती ६ सय बढी राज्य रजौटाहरूलाई एकीकरण गरेर २५/३० प्रान्तको आजको भारत जन्म भएको हो । जुन भारतका राष्ट्रपिता महात्मा गान्धीलाई मानिन्छ । हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाहका राजगद्दी उत्तराधिकार प्रताप सिंह शाह गद्दीसीन साल विसं. १८३१लाई आजको नेपालको जन्म मान्दा विसं. २००४ साल (सन १९४७)मा जन्म भएको आजको भारत नेपाल भन्दा १७३ वर्ष कान्छो देखिन्छ । यसमा नेपाल भारत जन्ममितिमा मैले साल मात्र उल्लेख गरेँ । खोज्ने हो भने तिथि मिति बार घडी पला कुण्डली नै उपलब्ध हुन्छ । नेपालभन्दा १७३ वर्ष कान्छो भारतलाई नेपालले कहिलेदेखि कसले किन ‘ठूलो दाजु’ भन्न मान्न थालेका हुन् ? फेरि अर्को पृथ्वीनारायण शाह जन्मनुपर्ने नेपालमा कहिल्यै उठ्नु नपर्ने संघीयताको गर्भाधान कहिले भएको र त्यसको जन्म कसरी भयो ? आम जनजागरणसम्म पाठ्यक्रम पुग्नु आवश्यक हुन्छ ।
ठूलो भारतभन्दा नेपाल १७३ वर्ष जेठो रहेको यो एउटा नेपालको ऐतिहासिक जगको तथ्य हो । राष्ट्रियताका दृष्टिले १७३ वर्ष जेठो हुनु भनेको सभ्यता, संस्कृति, नवचेतना, अनुभव, जागरण हरेक दृष्टिले जेठो हुनु हो । यद्यपि त्यति खेरसम्म ‘ठूलो दाजु’को भाष्य मनोविज्ञान थोपरिएको थिएन, नेपालको यस ऐतिहासिक जगलाई हल्लाउने काम राणा प्रधानमन्त्री श्री ३ पद्म शमशेरका पालामा (विसं. २००३ साल) अलिकति भयो । या भनौँ धुरी हल्लिने गरी ९० सालको जस्तो भुइँचालो गयो । बेलायत सरकारले भारत छाड्दा (१) पाकिस्तान फुटाइदिने र (२) सुगौली सन्धिले गुमेको भूमि फिर्ता दिने दुइटा रणनीति लिएको थियो । बेलायतको यो रणनीति पद्म शमशेरले बुझ्न नसक्दा नेपाललाई भारत (प्रधानमन्त्री नेहरू)को जिम्मा सुम्पेर जान बाध्य भयो । यसैलाई मैले नेपालको वज्रसमान ऐतिहासिक जगमा धुरी हल्लिने गरी भुइँचालो भनेको हुँ । त्यही भुइँचालोको भग्नावशेषमा उभिएर नेहरूले नेपालमाथि बलात्कार शैलीमा सन ५०को असमान ‘नेपाल भारत मैत्री सन्धि’मा श्री ३ प्रधानमन्त्री मोहन शमशेरको हस्ताक्षर (ल्याप्चे) गराए । नेहरूको यो हर्कत तत्कालीन परिवर्तनका नायक जननेता बीपी कोइरालालाई सह्य भएन । त्यसमा बीपी र नेहरूबीच कत्रो लफडा भयो भन्ने सन्दर्भमा लामो पाठ्यक्रम भएकाले संक्षिप्तमा बुझ्न ‘नेहरू डक्ट्रिन’ भन्ने गरेको हुँ । ‘नेहरू डक्ट्रिन’ अन्तरगत नै नेपालको चीनसँग सीमाक्षेत्र १८ ठाउँमा भारतीय सैनिक पोस्ट गाडियो । यो भनेको नेपालको सार्वभौमिकता स्वाभिमानमाथि पूर्ण रूपको क्याप्चर थियो, जुन ०२७ सालसम्म १९ वर्ष बन्धक रह्यो । माआत्सेतुङको आड लिएर राजा महेन्द्रले ती सैनिक पोस्ट उखेल्दा (महेन्द्र डक्ट्रिन) उनको हत्या भए पनि नेपालले १९ वर्षसम्म फेर्न नपाएको सार्वभौमिकताको सास फेर्न पायो । नेपाल रहुन्जेल अमर रहने श्री ५ महेन्द्रको इतिहास पाठ्यक्रम बन्यो । नेपाल जोगिएको यो पाठ्यक्रम त्यस यताका पाठ्यक्रम निर्माता प्राडाहरूले अहिलेसम्म किन लुकाएका र लुकाइ रहेका हुन् ? यो प्रश्न अझै अनुत्तरित रहे पनि उत्तर खोज्नु पनि एक अनिवार्य काम हुन पुगेको छ ।
राजा महेन्द्रको स्वर्गारोहण पछि गद्दीशीन भएका श्री ५ वीरेन्द्र समक्ष ‘सिक्किम विलयको लगत्तै नेपालको तराइ भाग भारतमा गाभ्नु’ भन्ने प्रधानमन्त्री इन्दिरा गान्धीको भारतीय सेनालाई लिखित आदेश एउटा ठूलो संकट उपस्थित भयो । विश्व समक्ष हारगुहार गर्नु सिवाय त्यतिखेर उनलाई अर्को उपाय सुझेन र आफ्नो राज्यभिषेक अवसरमा ‘नेपाललाई शान्ति क्षेत्र प्रस्ताव’ अगाडि सारे । त्यसमा चीन, रुस, अमेरिका, बेलायत, फ्रान्स, जापानलगायत ११३ मुलुकहरूले समर्थन जनाएर मान्यता दिएका भए पनि भारत चुँ बोलेन । आफूलाई लेन्डुप दोर्जे बनेर आजिवन प्रधानमन्त्री प्रस्ताव (जगजीवन राममार्फत इन्दिराको प्रस्ताव–आत्मवृत्तान्त) गर्ने भारतको नियत बुझेका बीपीले ‘राजाको गर्दनमाथि मेरो गर्दन’ भनेर अडान देखाए । यसैलाई मैले वीरेन्द्रको ‘शान्तिक्षेत्र’ र बीपीको ‘मेलमिलाप’ एक सिक्काका दुई पाटा भनेको हुँ ।
त्यतिखेर सिक्किम विलय पछिको भारतीय सेनाले एक कुच मात्र गर्न पाएको भए यतिखेर हाम्रो ‘एक मधेश एक प्रदेश’ हामीसँग रहँदैन थियो । जोगिएको राजाको शान्तिक्षेत्र प्रस्ताव र बीपीको मेलमिलाप नीतिले भन्ने ठान्यौ भने त्यो अतिरञ्जना हुन्छ । त्यतिखेर हाम्रो मधेश भाग जोगिएको ‘नीति’ले नभएर ‘नियति’ले थियो । बङ्गलादेश जन्माएको अहंकार उन्माद थेग्न नसकेर प्रधानमन्त्री इन्दिरा गान्धीले सर्वसत्तावादी इमरजेन्सी लादिन् । यसलाई मैले ‘लेनीनको फेलियर स्टालीन’ भए जस्तै ‘महात्मा गान्धीको फेलियर इन्दिरा गान्धी’ भनेको छु । स्टालीन र इन्दिरा एक सिक्काका दुई पाटा । जस्तो हामीकहाँ देउवा र प्रचण्ड–ओली एक सिक्काका दुई पाटा परिणाम देखिए । इन्दिरा गान्धीको त्यस ‘स्टालीनपथ’ विरुद्ध जयप्रकाश नारायणले डा. राममनोहर लोहियाको सप्तक्रान्ति (सम्पूर्ण क्रान्ति)को जन आन्दोलन उठाए । इन्दिरा चुनावमा पनि र अदालतमा पनि पछारिइन् । यसरी त्यस बखत नियतिले जोगिएको पुष्टी प्रमाणित हुन्छ ।
विसं. २०४६को आन्दोलनका बखत ‘भूटानको राजा बन्न तयार भए आन्दोलन रोकिदिने’ भारतको प्रस्तावलाई ‘नेपाली जनता समक्ष झुक्छु, तर भारतका सामु घुँडा टेक्दिनँ’ भन्ने राजा वीरेन्द्रको सार्वजनिक जवाफ नै कालक्रममा उनको काल बन्यो । राजसंस्था मासेर जातिय, क्षेत्रीय, धार्मिक द्वन्द्वको अराजकता मच्चाएर नेपाललाई कमजोर (आर्थिक रूपमा पूर्ण रूपको परनिर्भरता) तुल्याउँदै सिध्याउने रणनीतिक तहत विसं. २०७२को संविधान लादिएको हो । चीन फ्याक्टरका कारण आजसम्म नेपाल जोगिएकोमा सिध्याइहाल्न नसकेका भए पनि गिरिजा, देउवा, प्रचण्ड, ओली, माधव नेपाल, रामचन्द्र पौडेल, कृष्ण सिटौला, सुभाष नेम्वाङ, शेखर कोइराला, अमरेशकुमार सिंह आदि इत्यादि देश बेच्न, मानिस तस्करी गर्न तत्पर पात्रहरू थोपरिएर बर्बाद तुल्याउने काम भइरहेको थियो । विसं. २०८२ भाद्र २३÷२४को जेन्जी क्रान्ति र २१ फागुनको चुनाव परिणामले विगत ३७ वर्षको राष्ट्रघात जनघातको गन्दगी फोहोर कण्टेनरसम्म पुर्याउने हाल काम भइरहेको छ । देउवा, ओली, आरजु, विष्णु पौडेल, जनार्दन शर्मा, दीपक खड्का, दीपक भट्ट, अजय सुमार्गीलगायत ६६ पूर्वमन्त्री आदि इत्यादि ८०० माथिलाई कानुनी डण्डा सुरु भएबाट त्यसको प्रक्रिया प्रारम्भ भएको देखिन्छ । पुरै फोहोर कानुनको कण्टेनरमा लोड गरेर डम्पिङ साइटमा नपुर्याउँदासम्म यो प्रक्रिया चलिरहन्छ ।
अन्त्यमा, भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ‘सिक्किम विलय लगत्तै नेपालको तराइ भाग भारतमा गाभ्नु’ भन्ने भारतीय सेनालाई दिएको लिखित आदेश नै ‘एक मधेश एक प्रदेश’को गर्भाधान थियो । जसको भुँडी गिरिजा, प्रचण्ड, ओली, सुशील कोइराला, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराइ, शेरबहादुर, खिलराज रेग्मी आदि इत्यादिले बोकेका थिए । कृष्ण सिटौला, शेखर कोइराला, अमरेशकुमार सिंह, सुभाष नेम्वाङ आदि इत्यादिले सुडेनीको काम गरेर ७ प्रदेशको बच्चा जन्माएका हुन् । जसको मूल प्रारब्ध (छैंठौको लिखत) नेपाललाई क्षेत्रीय, जातीय, धार्मिक द्वन्द्व मच्चाएर भूटान हुँदै सिक्किम पुर्याउनु हो । बीचमा चीन तगारो बनेकाले अहिलेसम्म जोगिएका छौँ । यस तथ्यको अनिवार्य शिक्षा पाठ हो छिटो भन्दा छिटो १०० दिनमा नभ्याए पनि वर्ष दिन भित्रसम्म त चालु संघीयता (०७२को संविधान)को अन्त्येष्टि अनिवार्य छ । यो पाइला नचालि अरू कुनै पनि पाइलाले कुनै गति नपाउने पक्का छ । पृष्ठभूमिका नायक उदाहरण गिरिजाप्रसाद त गइहाले । जिउँदा उदाहरण रास्वपाको प्रदेश खारेजी प्रस्ताव आए पछि प्रचण्ड र माधवकुमार नेपाल कुदेर गिरिजा लिगेसी शेखर कोइरालाको घरमा पुग्नु र कांग्रेस, एमाले, राप्रपा, प्रचण्ड, माधव आदि इत्यादि सबै मिलेर रास्वपा फुटाउने अभियानमा जुटेका प्रचण्डको उछलकुद सबै छर्लङ्गै छ । दुवै हत्केलाले लङ्गौटीको काम गरेर सर्वाङ्ग नाङ्गिएका प्रचण्ड एक प्रतिक उदाहरण प्रधानमन्त्री बालेनलाई चुस्की लिई लिई रमिता हेर्न मिलेको छ । मधेशबाट आगो लगाएर बालेन लखेट्ने ओली, प्रचण्ड, माधव नेपाल, विद्यादेवी भण्डारी, त्यसमा पछि देउवा–रामचन्द्र थपिने ‘मोर्चा’ले बालेनलाई भात पचाउन काम लाग्ने पक्का छ । अस्तु ।