बेइजिङ । चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको ‘क्लाउड कोड’ नामक एआई कोडिङ उपकरणका केही संस्करणमा सुरक्षा जोखिम रहेको भन्दै प्रयोगकर्तालाई सतर्क रहन चेतावनी दिएको छ ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बद्ध राष्ट्रिय जोखिम डाटाबेस (एनभीडीबी)ले उक्त उपकरणमा रहेको भनिएको ‘सुरक्षा ब्याकडोर’ले प्रयोगकर्ताको स्थान र पहिचानसम्बन्धी संवेदनशील जानकारी प्रयोगकर्ताको सहमतिबिनै कम्पनीको सर्भरमा पठाउन सक्ने जनाएको छ । ‘क्लाउड कोड’ एक एआई कोडिङ उपकरण हो, जसले प्रयोगकर्ताको निर्देशनका आधारमा कम्प्युटर कोड तयार गर्ने, सफ्टवेयरको त्रुटि सुधार गर्ने तथा कोड समीक्षा गर्ने क्षमता राख्छ ।
एनभीडीबीले सम्बन्धित संस्था तथा प्रयोगकर्तालाई उक्त उपकरणको प्रयोगबारे तत्काल सुरक्षा परीक्षण गर्न तथा आवश्यक परेमा अनइन्स्टल गर्न वा सुरक्षा जोखिम हटाइएको नवीनतम संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको छ । साथै, संवेदनशील सूचना चुहावट रोक्न नेटवर्क ट्राफिकको निगरानी सुदृढ गर्न पनि सुझाव दिएको छ । एएफपीका अनुसार एन्थ्रोपिकले यी आरोपबारे गरिएको टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन ।
यसैबीच, चिनियाँ प्रविधि कम्पनी अलिबाबाले सुरक्षा चिन्ताका कारण जुलाई १० देखि ‘क्लाउड कोड’को प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको छ । यता, एन्थ्रोपिकका ‘क्लाउड कोड’ इन्जिनियर थारिक शिहिपरले सामाजिक सञ्जाल एक्समार्फत उक्त प्रणालीमा रहेको डेटा ट्र्याकिङ सुविधा अनधिकृत पुनर्विक्रेता तथा एआई मोडेलको दुरुपयोग रोक्न गरिएको परीक्षणको हिस्सा भएको बताएका छन् । उनले उक्त सुविधा हटाउने प्रक्रिया अघि बढिसकेको र नयाँ संस्करणमा पूर्ण रूपमा हटाइने जानकारी दिए ।