क्यानबेरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्वपूर्ण खनिज र युरेनियम सुरक्षासम्बन्धी वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा गएको जनाइएको छ । मेलबर्नमा बिहीबार आयोजित सामुदायिक र्यालीमा मोदीलाई रकस्टार स्वागत गर्ने तयारी गरिएको तथा यस कार्यक्रममा २० हजारभन्दा बढी मानिसहरू सहभागी हुने अनुमान गरिएको जनाइएको छ ।
पछिल्लो समयमा भारत र अष्ट्रेलिया निकै नजिक हुँदै गएको जनाइएको छ भने युद्धको समयमा भारत र अस्ट्रेलियाको स्थितिलाई ध्यानमा राख्दै यो ऐतिहासिक रूपमा निकै कठिन सम्बन्ध रहेको अस्ट्रेलिया भारत इन्स्टिच्युटकी तिस्ता प्रकाशले बताएका छन् । विश्वसनीय युरेनियम पाइपलाइन सुरक्षित गर्न प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँग बिहीबारको बैठकमा छलफल गर्ने अपेक्षा गरिएको छ । उच्च जनसंख्या भएको देश भारतले आफ्नो आणविक ऊर्जा क्षमता तीव्र रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ भने विश्व आणविक संघका अनुसार अस्ट्रेलियाले विश्वको युरेनियम स्रोतको २८ प्रतिशत ओगटेको अनुमान गरिएको छ । यसअघि भारत र अष्ट्रेलियाले सन् २०१५ मा आणविक सहयोग सम्झौता गरेर युरेनियम निर्यातको लागि मार्गप्रशस्त गरे पनि कानुनी अवरोधहरू बाँकी रहेकाले हालसम्म व्यापार सहज हुन नसकेको जनाइएको छ । रासस/एएफपी