सबैभन्दा पहिले शैक्षिक परामर्शदाता भनेको के हो बुझ्नु जरुरी छ। वास्तवमा शैक्षिक परामर्शदाता भनेको चाहे देशमा होस् वा विदेशमा शिक्षा लिनका लागि कुन विषय पढ्ने, पढ्दा कति पैसा लाग्छ, देशमै पढ्दा के हुन्छ, विदेश जाँदा कस्तो होला, देशमै पढ्ने भए कस्ता–कस्ता विषय पढ्ने र विदेशमा जाने भए कुन देश जाँदा ठीक होला, कुन देशले आफूलाई चाहिने विषय पढ्दा बढीभन्दा बढी छात्रवृत्ति देला, भिसा प्रक्रिया कस्तो होला, भोलि पैसा तिर्दा कति तिर्नुपर्ला, आफूले त्यो पैसा तिर्न सक्छ कि सक्दैन होला, वा भिसा रद्द भएको खण्डमा कति पैसा खर्च होला, र तिरेको पैसा फिर्ता लिन कसरी लिन सकिएला, पढाइ सकिएपछिको भविष्य कस्तो होला, भोलि देश फर्किन पर्दा पढिसकेपछि कति समय त्यो देशमा बस्न पाइएला, भोलि भैपरी आउने समस्याका बारेमा परामर्शदाताको भूमिका के होला भन्ने यावत् विषयको जानकारी लिन शैक्षिक परामर्शदाताको भूमिका उल्लेखनीय हुन्छ।
एक किसिमको झुन्ड छ, जसले शैक्षिक परामर्शदाता भनेको नजान्ने विद्यार्थीहरूलाई पनि जबर्जस्ती विदेश पठाउने, लोभलालच देखाउने, अवैधानिक र कानुनविपरीत कार्य गर्ने, म्यानपावरको धन्दा चलाउने आदि इत्यादि भन्ने गर्छ। जसले जे भने पनि नेपालमा शैक्षिक परामर्शदाता भनेको विदेश पढ्न जान चाहने विद्यार्थीहरूलाई, उसको योग्यता, उसको भाषा सिकाइ, उसले पाउन सक्ने अवसरलाई मध्यनजर राख्दै, उसको घरपरिवारको आर्थिक अवस्था हेरी, उसको गच्छेअनुसारको देशमा पढ्न जानका लागि भाषागत योग्यता बनाइ, आवश्यक भर्ना प्रक्रिया पूरा गरी, सरकारसँग अनुमति लिई, नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) बनाउन मिल्ने विद्यार्थीलाई उसको भविष्यलाई समेत उज्ज्वल बन्ने गरी सही विषय छनोट गराइ, सकेसम्म छात्रवृत्तिमा पठाउने सल्लाह दिने निकाय नै शैक्षिक परामर्शदाता हुन्। यिनीहरूले सामान्य ज्ञान भएका विद्यार्थीलाई पनि उचित सल्लाह दिई गच्छेअनुसारको देशमा जान सल्लाह दिने गर्दछन्।
शैक्षिक परामर्शदाता भनेको के हो?
वास्तवमा शैक्षिक परामर्शदाता भनेको कुनै रोजगारदाता होइन, रोजगारीका लागि पठाउने निकाय पनि होइन। उज्ज्वल भविष्यका लागि पढ्न चाहने विद्यार्थीलाई सही गन्तव्य वा विद्यार्थीले चाहेको गन्तव्यमा पठाउनका लागि सरल तरिकाले बुझाएर भिसा प्रक्रियाको तर्जुमा मिलाउने प्रयास गर्दछ। परामर्शदाता भिसा दिने निकाय पनि होइन र भिसा दिन्छ भन्ने ग्यारेन्टी गर्ने निकाय पनि होइन।
यसले विषयगत जानकारी, आर्थिक जानकारी, स्थानको जानकारी, भविष्यमा पढाइ सकिएपछिका अवसरका बारेमा जानकारी, जाने देश, त्यहाँको शिक्षा प्रणाली र वातावरणका बारेमा जानकारी, भिसा प्राप्त भएपछि कसरी यात्रा गर्ने भन्ने तयारीसम्बन्धी जानकारी दिने निकाय हो। तर अन्य गलत सल्लाह दिने, अबुझ मानिसले सञ्चालन गर्ने, ठगी गर्ने नियत राख्ने जस्ता कार्य गरेको भन्ने जानकारी बेलाबेला आउने भएकाले यस क्षेत्रमा पनि केही विकृति छन् भन्न सकिन्छ।
यसले कतिपय ठाउँमा देखिएअनुसार अवैध कार्य पनि गरेको होला, तर सबैलाई एउटै ठाउँमा जोडेर सबै परामर्शदाताहरू सही छैनन् भन्नु अत्यन्त गलत बुझाइ हो।
परामर्शदाताले के–कस्ता काम गरी विद्यार्थीहरूलाई सहयोग गरेका छन् त?
संसारका यस्ता धेरै ठाउँहरू छन् जहाँ विद्यार्थीहरूले आफैँ प्रक्रिया पूरा गरी भिसा आवेदन दिन सक्छन्, छात्रवृत्तिका लागि आफैँ आवेदन दिन सक्छन्। तर कतिपय देशमा पढ्न जान विद्यार्थीहरूले भिसा स्वीकृत हुनुभन्दा पहिले नै पैसा भुक्तानी गर्नुपर्ने हुन्छ। तीमध्ये अस्ट्रेलिया, क्यानडा, युनाइटेड किङ्डम जस्ता देशमा भिसा आवेदन स्वीकृत हुनुभन्दा अगाडि नै कलेजको शुल्क बुझाउनुपर्छ, स्वास्थ्य बीमा (इन्स्योरेन्स) गरिसक्नुपर्छ र आवेदन शुल्क पनि तिरिसक्नुपर्छ। यदि भिसा अस्वीकृत भएको खण्डमा मात्र केही निश्चित रकम कटाएर, शिक्षण शुल्क (टिउसन फ्री) फिर्ता दिने गर्दछन्। तर भिसा शुल्क भने कुनै पनि देशमा फिर्ता हुँदैन। कतिपय देशमा त कलेज नै बन्द हुँदा विद्यार्थीहरूले तिरेको शिक्षण शुल्कसमेत फिर्ता नपाएको अवस्था पनि देखिएको छ। यस्तो अन्योलको अवस्थामा साना–तिना गल्तीले पनि विद्यार्थीहरूलाई ठूलो आर्थिक भार पर्न सक्ने जोखिम उत्तिकै हुन्छ तर परामर्शदाताको सही निर्देशनले विद्यार्थीहरूको राम्रो विश्वविद्यालय र गुणस्तरीय शैक्षिक संस्थामा अध्ययन गर्ने चाहना पूरा हुने गरेको छ।
हाल नेपालमा रहेका धेरै परामर्शदाताहरू अत्यन्तै बुझेका, आफैँ अध्ययन गरेका, पर्याप्त ज्ञान प्राप्त गरेका, विभिन्न विश्वविद्यालय तथा कलेजहरूको भ्रमण गरेका, विषयगत जानकारी भएका, विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी कार्यक्रमहरूमा सहभागी भएका तथा अत्यन्तै अनुभवी व्यक्तिहरू पनि यही समाजमा छन्। थोरै शुल्कमा पनि उच्चस्तरीय विश्वविद्यालयमा भर्ना गराइ धेरै नेपाली विद्यार्थीहरूको विश्वस्तरीय विश्वविद्यालयमा अध्ययन गर्ने सपना पूरा गरिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पनि एकपटक ऋणधन गरेर विदेश पठाएका धेरै विद्यार्थीहरूको आज करोडौँ र अर्बौँको सम्पत्ति त्यही विदेश अध्ययनकै कारण सम्भव भएको देखिन्छ। त्यसैले यो पेशालाई गलत दृष्टिले मात्र हेर्दा भोलि लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा पर्न सक्ने अवस्था पनि सिर्जना हुन सक्छ।
हो, सबै ठाउँमा सही मानिसले मात्र काम गर्छन् भन्ने छैन। गलत मानिस पनि हुन्छन्। तर सीमित व्यक्तिहरू गलत भए भन्दैमा यो पेशा नै गलत छ भन्नु मूर्खता मात्र होइन, गलत बुझाइ पनि हो। जानेकै मानिसले काम गर्दा त कहिलेकाहीँ समस्या पर्न सक्छ भने नजानी काम गर्नु भनेको झन् ठूलो अन्योलमा पर्नु हो।
परामर्शदाताले विभिन्न भाषागत ज्ञान दिई, कलेज तथा विश्वविद्यालयका आवश्यक मापदण्ड पूरा गराउन सहयोग गरी, विद्यार्थीलाई सक्षम र प्रतिस्पर्धी बनाइ विदेश अध्ययनका लागि पठाउनु कुनै पनि हिसाबले गलत कार्य होइन। शिक्षा सबैलाई चाहिन्छ, त्यो देशभित्र होस् वा विदेशमा। तर सबै विदेशी शिक्षा मात्र राम्रो हुन्छ भन्ने पनि होइन, र नेपालको शिक्षा पनि सबै विद्यार्थीको आवश्यकता तथा चाहनाअनुसार पर्याप्त छैन। त्यसैले नेपालमा उपलब्ध नभएका विषय अध्ययन गर्न पठाउनु, विद्यार्थीलाई सरकारले तोकेको मापदण्डभित्र रही उचित काउन्सेलिङ गर्नु परामर्शदाताको कर्तव्य हो। बरु जसले काम बिगारेको छ, जसले कन्सल्टेन्सीको नाममा अवैध कार्य गरेको छ, त्यस्तालाई कारबाही गर्नु राज्यको दायित्व हो। अरू सबैलाई एउटै दृष्टिले हेरेर दोषी ठहर गर्नु उचित होइन।
ज्ञान, सीप र अन्तर्राष्ट्रिय शिक्षाको आवश्यकता
मानिस आजको यो खुला समाजमा जता पनि जान सक्छ, जहाँबाट पनि ज्ञान हासिल गर्न सक्छ। यदि त्यो शिक्षा उचित छ, त्यहाँ अध्ययन गरेका व्यक्तिले अन्ततः आफ्नै देशलाई पनि योगदान गर्न सक्छन् भने त्यहाँ अध्ययन गर्नु कुनै गलत वा अनावश्यक कार्य होइन।
कि युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्यो, कि यहीँ सबै विषयको गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्यो। विदेशी विद्यार्थीलाई पनि नेपालमा अध्ययन गर्ने वातावरण सिर्जना गरी मिश्रित संस्कृति (मिक्स कल्चर) र विद्यार्थी आदान–प्रदान (स्टुडेन्ट एक्सचेन्ज) कार्यक्रम सञ्चालन गर्न सक्नुपर्यो।
नत्र आजको युगमा नेपालमा न पर्याप्त पूर्वाधार छ, न सबै ठाउँमा स्तरीय पुस्तकालय छन्, न त प्रायोगिक विषय अध्ययनका लागि आवश्यक प्रयोगशाला (ल्याब) नै छन्। केही सीमित संस्थाबाहेक अधिकांश स्थानमा यी सुविधाहरूको अभाव छ।
यस्तो अवस्थामा ज्ञान र सीप हासिल गर्न, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न तथा आधुनिक प्रविधिसँग परिचित हुन विदेशी शिक्षा आवश्यक देखिन्छ। पैसा बाहिर गयो भनेर मात्र चिन्ता गर्नुको सट्टा त्यो ज्ञान, सीप र पुँजीलाई कसरी पुनः नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरी अगाडि बढ्नु उपयुक्त हुन्छ।
समष्टिमा भन्नुपर्दा आजका शैक्षिक परामर्शदाता सबल र सक्षम छन्। उनीहरू नेपालबाट विद्यार्थीलाई विदेश पठाउन मात्र होइन, नेपालका विश्वविद्यालयहरूको पूर्वाधार उचित रूपमा विकास भएको खण्डमा आज नेपाली शैक्षिक परामर्शदाताहरूले अन्तर्राष्ट्रिय विद्यार्थी तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई समेत नेपाल ल्याउन सक्ने हैसियत र क्षमता विकास गरिसकेका छन्। पैसा बाहिर गयो भनेर मात्र चिन्ता गर्नुको सट्टा गएको पुँजीलाई नेपालमा कुन–कुन क्षेत्रमा लगानी गर्न सकिन्छ, त्यसका लागि खुला, सहज र झन्झटमुक्त वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा राज्यले दृढ संकल्प गर्नुपर्छ। उद्योग तथा लगानीको सुरक्षा सुनिश्चित गर्न सकिएमा शैक्षिक दूतका रूपमा रहेका विद्यार्थीहरूलाई नै नेपालमा लगानी ल्याउन प्रेरित गर्न सकिन्छ।
आज नेपालमा विदेशमा अध्ययन गरेर फर्किएका र विभिन्न क्षेत्रमा सफलतापूर्वक काम गरिरहेका सक्षम नागरिकहरूलाई हेर्दा परामर्शदाताले केवल ब्रेन ड्रेन मात्र गराएका छैनन्, बरु ब्रेन गेन हुने बाटो पनि देखाएका छन् भन्न सकिन्छ।
यसैगरी, धेरै नेपाली विद्यार्थीलाई विश्वका विभिन्न देशमा अध्ययन गर्न पठाई उनीहरूको आर्थिक अवस्था मजबुत बनाउन पनि परामर्शदाताहरूले महत्वपूर्ण भूमिका खेलेका छन्। कतिपय अवस्थामा आफ्नै आर्थिक कठिनाइ सहेर पनि विद्यार्थीको हितमा काम गरेका उदाहरणहरू प्रशस्त छन्।
व्यवसाय गरेपछि नाफा सबैलाई चाहिन्छ। तर राज्यलाई कर तिरेर, राज्यकै नियमभित्र बसेर काम गरेका परामर्शदातालाई अझ व्यवस्थित बनाउँदै यस पेशालाई गलत दृष्टिकोणले हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने समय आएको छ।
हिजोका विद्यार्थी आज अन्तर्राष्ट्रिय ज्ञान र शिक्षा हासिल गरेर विश्वस्तरमा बौद्धिक प्रतिस्पर्धा गर्न सक्षम भएका छन्। यो सम्भव हुनुको प्रमुख कारण गुणस्तरीय शिक्षा नै हो। उनीहरू आज अन्तर्राष्ट्रिय स्तरमा ठूला व्यवसाय सञ्चालन गर्न सक्ने भएका छन्, जसको आधार पनि त्यही ज्ञान, सीप र शिक्षा हो।
सामान्य परिवारका व्यक्तिहरूले पनि आज संसारका महँगा र विकसित देशहरूमा आफूलाई सफलतापूर्वक स्थापित गर्न सकेका छन्। यदि नेपालमा लगानीको वातावरण र आवश्यक अवसर सिर्जना गरियो भने उनीहरू नेपालमै लगानी गर्न पनि तयार छन्। वास्तवमा धेरैले नेपालमा लगानी गर्न सुरु गरिसकेको अवस्था पनि देख्न सकिन्छ।
शैक्षिक परामर्शदाताको योगदान र राज्यको दायित्व
लाखौँ विद्यार्थी विदेश जानु, उच्च शिक्षा हासिल गर्नु, देश फर्किनु वा कतिपयले उतै स्थायी बसोबास गर्नु, अन्तर्राष्ट्रिय स्तरमा काम गर्नु, नेपालमै नयाँ–नयाँ व्यवसाय सञ्चालन गर्नु वा देशलाई बौद्धिक ज्ञान प्रदान गर्नु—यी सबै कार्यमा शैक्षिक परामर्शदाताको उचित सल्लाह र मार्गदर्शनले महत्वपूर्ण भूमिका खेलेको छ। विदेशी डिग्री हासिल गरेर विद्यार्थीहरूले आफ्नो व्यक्तिगत जीवन मात्र परिवर्तन गरेका छैनन्, देशका लागि पनि विभिन्न क्षेत्रमा योगदान दिइरहेका छन्।
हुन त सक्षम, जान्ने र बुझ्ने विद्यार्थी आफैँ पनि विदेश जान सक्छन्। तर हाम्रो जस्तो देशमा सबै नेपाली विद्यार्थीका लागि सम्पूर्ण प्रक्रिया आफैँ पूरा गर्नु सम्भव हुँदैन। कतिपय देशको भिसा प्रक्रिया जटिल हुन्छ, आवश्यक कागजात, विश्वविद्यालय छनोट, छात्रवृत्ति, आर्थिक योजना तथा अन्य कानुनी प्रक्रियाका बारेमा पर्याप्त जानकारी नहुँदा धेरै विद्यार्थी अन्योलमा पर्न सक्छन्। उचित जानकारीको अभावमा धेरै काम बिग्रिने, आर्थिक नोक्सानी हुने वा अनावश्यक जोखिम लिनुपर्ने अवस्था पनि आउन सक्छ।
उचित परामर्शका कारण धेरै विद्यार्थीको जीवनमा उल्लेखनीय परिवर्तन र प्रगति भएको देखिन्छ। विगतका वर्षहरूको तथ्यांक हेर्दा लाखौँ विद्यार्थी विदेश अध्ययनका लागि गएका छन्, जसमा शैक्षिक परामर्श व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको स्पष्ट देखिन्छ।
यस व्यवसायलाई अझ व्यवस्थित बनाउने, प्रभावकारी रूपमा नियमन गर्ने तथा पारदर्शी बनाउने जिम्मेवारी राज्यको हो। त्यस्तै, परामर्श व्यवसायीहरूले पनि आफ्नो कामलाई अझ जिम्मेवार, पारदर्शी, व्यावसायिक र नैतिक बनाउनुपर्ने कर्तव्य छ। विद्यार्थीहरूले पनि सही परामर्शदाता छनोट गरी उचित सल्लाह लिएर मात्र विदेश अध्ययनको निर्णय गर्नु बुद्धिमानी हुनेछ।
अब समय आएको छ—विदेश गएका नेपालीहरूको बौद्धिक ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालमा भित्र्याउने। नेपालमै उद्योग–व्यवसाय स्थापना गर्न प्रोत्साहन गर्ने, विदेशमा रहेका नेपाली विद्यार्थीका सन्तानलाई पनि छोटो अवधिका अध्ययन कार्यक्रमका माध्यमबाट नेपालसँग जोड्ने वातावरण सिर्जना गर्ने तथा आर्थिक विकासमा ज्ञान र सीपलाई उपयोग गर्ने नीति निर्माण गर्न आवश्यक छ। बाहिर गएको पुँजीलाई पुनः नेपालमा ल्याउने वातावरण बनाउन सकियो भने शैक्षिक परामर्शदातालाई दोषी होइन, विकासका सहयात्री र सहयोगीका रूपमा हेर्न सकिन्छ।
अन्त्यमा भन्नुपर्दा, शैक्षिक परामर्शदाता देशका लागि घातक होइनन्। उनीहरू सहयोगी हुन् र नेपालमा होस् वा विदेशमा, विद्यार्थीलाई उचित शिक्षा हासिल गर्न सही परामर्श दिन सधैँ तयार छन्।
उनीहरू सामान्य विद्यार्थीको विदेश अध्ययनको सपना पूरा गर्ने नौका हुन्। कसले कति खर्च गर्न सक्छ, कुन विषय अध्ययन गर्न उपयुक्त हुन्छ, कुन देश उपयुक्त हुन्छ, कसरी प्रक्रिया पूरा गर्ने भन्ने विषयमा सही मार्गदर्शन गर्ने पथप्रदर्शक हुन्।
हो, केही व्यक्तिले गल्ती गरेका होलान्। त्यस्ता व्यक्तिलाई कानुनअनुसार कारबाही हुनुपर्छ। परामर्शदाताको गुणस्तर मापन गरिनुपर्छ, गलत कार्य गर्नेलाई सजाय दिइनुपर्छ र यस क्षेत्रलाई अझ व्यवस्थित बनाइनुपर्छ। तर केही व्यक्तिको कमजोरीका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई दोषी ठहर गर्नु न्यायोचित हुँदैन ।
नेपालको शिक्षा प्रणालीलाई अझ बलियो बनाउने, अन्तर्राष्ट्रियस्तरको अध्ययन–अध्यापनको वातावरण तयार गर्ने, विदेशी विश्वविद्यालयसँग सहकार्य बढाउने र विदेशबाट प्राप्त ज्ञान, सीप तथा लगानीलाई नेपालमै उपयोग गर्ने नीति अवलम्बन गर्न सकियो भने शैक्षिक परामर्शदाता देश विकासका महत्वपूर्ण साझेदारका रूपमा स्थापित हुनेछन्।