विश्वमा समृद्ध देशमा भन्दा अल्पविकसित र अविकसित मुलुकहरूमा ठगी, बेइमानी, बदमासीका घटना तथा कारोबारहरू ज्यादा हुने गर्छन् । त्यहाँको प्रशासन पनि फितलो हुन्छ, साथै सरकार पनि कमजोर नै हुन्छ । त्यस्ता मुलुकको सरकार र प्रशासनले अपराधीहरूलाई कारबाही गरे जस्तो गर्छ र माथि–माथि मिलेर अपराधीलाई चोख्याउने गर्छ । जनतामा चेतनास्तर कम भएका कारण पनि यस्तो हुन जान्छ । जुन देशका जनता जागरुक हुँदैनन् त्यस देशको हालत सधैँ एउटै स्तरमा रहन्छ अर्थात् कमजोरी कायम भइरहन्छ । तसर्थ देशमा व्याप्त कुशासन, भ्रष्टाचारको विरोधमा लागेर सरकार र प्रशासनको घुँडा टेकाउन संगठीत भएर लाग्न कुनै पनि सचेत नागरिकको कर्तव्य हुन आउँछ । हिजो मात्र एक निकै तीतो समाचार प्रकाशन भएको छ– सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध करिब तीन करोड भ्रष्टाचारको आरोपमा मुद्दा दायर । अस्पताल जस्तो संवेदनशील संस्थामा त यस्तो गम्भीर अपराधका कुराहरू आउँछन् भने अन्य निकायहरूमा के हालत होला? सहजै अनुमान लगाउन सकिन्छ ।
चोर–डाँका–पाकेटमारः
नेपालमा चोर–डाँका–
पाकेटमारका आर्थिक कारोबार पारदर्शी हुने कुरै भएन । उनीहरूले जुनसुकै बेला पनि र जसको घरमा पनि चोरी–डँकैती गर्ने गर्छन् । साथै पाकेटमारहरूले अस्पतालको लाइनमा बसेका बिरामी र उनका आफन्तको व्यागबाट वा गोजीबाट नगद झिक्नेगरेका घटनाहरू भइरहेका हुन्छन् । एकपटक यात्रुवाहक चल्ती गाडीमा पाकेटमारहरूको समूहले कसैको पाकेटमारी गर्दैगर्दाको दृश्य यो लेखकले देखेपछि पाकेटमारीबाट एकजनाको नगद बचेको थियो । कारबाहीकै क्रममा माथि–माथि कसैले प्रभाव परेपछि पाकेटमारहरूलाई उन्मुक्ति दिने गरेको कुरा पनि यदाकदा सुन्नमा आउँछ ।
भ्रष्टाचारीहरूको धनः
भ्रष्टाचार शब्द खासगरी भ्रष्ट नेता र कर्मचारीहरूमा लागू हुन्छ । हुन त निजी संस्थाहरूका सञ्चालकहरूमा पनि भ्रष्टाचारका कुराहरू हुन्छन् । सरकारमा बस्ने नेता तथा केही प्रशासकहरू अनि कर्मचारीहरू कमिसन–घुसमा बढी केन्द्रित हुने गर्छन् । धन सम्पत्ति नै ठूलो हो भन्ने मान्यता राख्ने त्यस्ता नेता तथा कर्मचारीहरू मुलुकका लागि घातक मानिन्छन् । ठेक्कापट्टाबाट गरिने कामहरूमा मन्त्री, सचिव, लेखाका कर्मचारी र स्टोरका कर्मचारीहरूको भागबन्डा छुट्याइने गरिन्छ । उता सोझा र सिधा जनता विकासका काम भए भनेर मख्ख पर्छन् । तर टेण्डर वा कोटेसन मुताविक पक्का काम भयो कि भएन भन्ने कुराको हेक्का जनतामा हुँदैन ।
औद्योगिक र व्यापारिक घरानाहरूको नयाँ विकल्पः
पछिल्लो समय औद्योगिक र व्यापारिक घरानाहरू उद्योग र आयात निर्यात कम्पनी छोडेर निजी शैक्षिक संस्था तथा निजी स्वास्थ्य संस्थाहरूमा आकर्षित हुनेगरेको पाइन्छ । सरकारी विद्यालयमा भन्दा निजी विद्यालयहरूमा स्तरीय पढाइ हुन्छ भन्ठान्नेहरू घरखेत बेचेर भए पनि आफ्ना सन्तानहरूलाई निजीमै पढाउनुपर्छ भन्ने मान्यता राख्दछन् । सरकारी अस्पतालमा हुने ढिलासुस्तीका कारण कतिपय विरामीहरू छिटोछरितो उपचारका लागि निजी अस्पतार, क्लिनिक, उपचार केन्द्रमा धाउने गर्छन् । सरकारी अस्पतालमा एकदुई किसिमको रोग निदान (डायग्नोसिस) का काम हुन्छ भने निजी अस्पतालमा दर्जन किसिमका रोग निदानका लागि चर्को शुल्क तिर्नुपर्ने अवस्था छ ।
अध्यात्म शब्दको दुरुपयोगः
‘मुखमा रामराम बगलीमा छुरा’ उखान नेपालमा उहिल्यैदेखि प्रचलनमा छ । प्रवचनमा मीठा–मीठा कुराहरू अर्थात् ज्ञान–संस्कारका कुराहरू बताउने र भक्तहरूलाई लठ्याउने वाचकहरूको कमी छैन यहाँ । मीठामीठा बोल्नेहरूको पछाडि मान्छेको लर्को लाग्ने गर्छ । ती मीठा बोल्ने पण्डित वा वाचकका विगतका कुराहरू अर्थात् पृष्ठभूमि बारे जान्ने बुझ्नेतिर लाग्दैनन् मान्छेहरू । आध्यात्मिक ज्ञान र ध्यान–योग मान्छेलाई आवश्यक छ, तर त्यसैको बहानामा त्यस्ता संस्थाहरूमा चर्को व्यापार हुने गरेको पाइन्छ । साथै भक्तहरूलाई दास बनाउने परिपाटी पनि हुन्छ भन्ने कुरा पनि समाचारमा पढ्न पाइन्छ । आध्यात्मिक संस्थाहरूले गुन्डाहरू पनि पालेका हुन्छन् । धम्क्याएर, फकाएर कसरी हुन्छ भक्तहरूबाट तन–मन–धन तान्ने काम पनि हुन्छ र नभएका र नहुने कुराहरूको विचार लाद्ने गरिन्छ अन्धभक्तहरूलाई ।
केही वर्षपहिले एक आश्रम सञ्चालकले भक्तको हत्या गर्ने र बलात्कार गर्ने काम भएको र पक्राउ गरेर पछि झिनो धरौटीमा छोडिएका थिए भने अर्को आश्रमका सञ्चालकले आफ्नै चेलीमाथि यौन दुव्र्यवहार गर्दा मुद्दा खेपे, जेल परे । तर उनी पनि झिनो धरौटीमा रिहा भए । हालै मात्र एउटा आध्यात्मिक संस्थाका गुरुले एक किशोरीमाथि यौन शोषण गरेको कुरा बाहिरिएपछि उनलाई गरिने कारबाही बारे भविष्यले बताउला । धर्मको नाममा अधर्म गर्नेहरूलाई सरकारले खासै कडाइ गरेको पाइँदैन । किन कि त्यस्ता खालका संस्था चुनावताका भोट बैंक बन्ने गर्छन् ।
थैलीको मुख कसिलो पार्नूः
कोहीकोही धोकेवाज मान्छेहरू आफ्नो पोल्टामा धन प्राप्त गर्नका लागि अनेक तिकडमहरू गर्ने गर्छन् । यस्ता गैरजिम्मेवार अर्थात् असामाजिक तत्वहरूबाट बच्नु नै कुनै पनि सचेत नागरिकको कर्तव्य हुन आउँछ । एउटा रुद्राक्ष मालाको पाँचसयदेखि पाँच हजारसम्म भिडाएर आशीर्वाद दिएजस्तो गरेर धन लुट्ने काम भैरहेको हुन्छ जोगीको भेषमा । त्यसरी नभएको धन खर्चेर सुखशान्तिको आशा गर्नु बेकार हुन्छ । केही जोगीहरू चटकेको रुपमा घरघरमा र दैलोदैलोमा पुग्छन् । सामान्य भीक्षा लिएर जाने जोगी खास जोगी हो भने विभिन्न चटक देखाएर धन लुट्ने जोगी केवल भोगी हो । अहिले टिकटकमा झारफुकेहरूको व्यापार मजाले चलेको छ । एकजना विरामीसँग दशलाखसम्म लुटेका कुरा पनि आइरहेका छन् । अन्धविश्वासमा फसेर कोहीकोही मान्छे सर्वस्व गुमाउन तयार हुन्छन्, तर सजग हुन जान्दैनन् । काठमाडौँमा असी प्रतिशत ज्योतिषी नक्कली छन् भनेर समाचार आएको थियो । ज्योतिषीहरू पनि तान्त्रिक बनेर धन्दा चलाइरहेका हुन्छन् । ज्योतिषीको काम केवल ज्योतिष विद्यासँग सम्बन्धित हुनुपर्नेमा लुट्ने कसरी भन्ने ध्याउन्नमा हुन्छन् उनीहरू । पितृदोष र नागदोष हटाउने भन्दै केही ज्योतिषीहरू गरिबहरूबाट समेत धन तान्ने कोशिस गरिरहेका हुन्छन् । हाम्रो समाजमा ज्योतिषी र तान्त्रिकको अखडामा धाउनेहरूमा पुरुषको तुलनामा महिलाहरूको संख्या ज्यादा देखिन्छ । ज्योतिषीले बताएका आधा मिल्ने र आधा नमिल्ने हुन्छ । तर मिल्ने कुरातर्फ मात्र ध्यान दिइन्छ र उनको प्रचार बढ्नथाल्छ अनि उनकोमा नगद ओइरिदै जान्छ । कालान्तरमा उनी त्रिकालदर्शी कहलाइन्छन् र झनै धनको वर्षा हुन्छ उनको अखडामा । तसर्थ सबैले आआफ्नो थैलीको मुख कसिलो पार्न जरुरी छ ।
हातको सफाइ वा ट्रिक गरेर कुनै जोगीले भिक्षा दिनेवालालाई गलाउने र धेरै दानदक्षिणा दिन लगाउने गरेका पनि हुन्छन् । योग नजानेका योगीहरू धेरै देखिन्छन् सहर बजार अनि गाउँमा । बालकलाई फसाएर ठग्ने तरिका सिकाउदै गरेका जोगीहरूको पनि भण्डाफोर भएको पाइन्छ ।
नागदोष÷पितृदोष हटाउने भन्दै केही ज्योतिषी र तान्त्रिकहरूबाट सर्वसाधारणहरू ठगिँदैआएका छन् । साठी–पैँसठ्ठी लाख खर्च गरेर भएभरको सम्पत्ति सकाएर छोराछोरीलाई डाक्टर बनाएको के काम? जब कि ज्योतिषी र तान्त्रिकले जुनसुकै रोग पनि निको पार्नसक्नछन् भने । कुनै कुनै तान्त्रिकले त क्यान्सर पनि निको पार्ने रे । ‘डाक्टरले निको पार्न नसकेको रोग यहाँ निको पारिन्छ’ भनेर खुलमखुला साइनबोर्ड टाँगेका पनि देखिन्छन् यहाँका सहर बजारमा । सबैभन्दा ठूलो कमाइ हुने व्यापार भनेको धार्मिक व्यापार भएको देखिन्छ । भन्ने चाहिँ धार्मिक तर काम चाहिँ अधार्मिक । धर्मको आडमा ठगेर पैसा असुल्ने कामलाई पनि कहिँ धर्म भनिन्छ? यो त सरासर ढोँग वा पाखण्ड हो । भारतमा विभिन्न अपराधका कामहरू गरेका अर्थात् हत्यारा, बलात्कारी, ठगहरूलाई नेपालका केही अन्धभक्तहरूले जय–जयकार गर्दै भगवान्को रुपमा भक्ति गर्ने गरेको पनि पाइन्छ । जोगीको भेषमा सीमा वारपार गर्नेलाई नाकामा खासै चेकजाँच पनि गरिँदैन । आध्यात्मिक संस्था भनाउँदा कुनैकुनै संस्थाहरूले प्रकाशन गर्ने गरेका पुस्तक तथा पत्रपत्रिकाहरूमा नभएका र नहुने खालका कुराहरू उल्लेख गरेर अन्धभक्तहरूलाई आश्वस्त पारेर महंगो मूल्यमा माला–जन्तर–मन्तर–औँठी–कवच र अन्य प्रकारका वस्तुहरू बिकाएर करोडौँ–अर्बौँ रुपियाँ सीमापारी ओसार्दासम्म पनि सरकार मौन रहँदै आएको पाइन्छ । केटीलाई केटा बनाउने र केटालाई केटी बनाउने मन्त्र खरिद बिक्रीका लागि विज्ञापन भइरहँदा पनि यहाँ कोही पनि चुइँक्क बोल्ने अवस्था छैन । नेपालबाट भारतमा कुनै आश्रममा फोटो पठाएर फोटोबाट उपचारको नाममा रकम असुली गर्ने गरेको पनि पाइन्छ । कामाख्याका एकजना तान्त्रिकले भ्रष्टाचारी ठहर भई कारागारमा रहेका पदाधिकारीको सल्लाहमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तको आकृति बनाएर त्यसमा त्रिशूल प्रहार गरिएको पनि समाचार आएकै हो । भ्रष्टाचारी वा अपराधीले आफू बच्न तान्त्रिकको प्रयोग गरिन्छ भने अहिलेको वैज्ञानिक युग कहाँ छ भनेर प्रश्न उठ्नसक्छ । जतिसुकै ठूलो आम्दानी भए पनि बाबा–गुरु–माता–सन्त–तान्त्रिकको अखडामा कर लगाइँदैन र वैधानिकतामा आऊ पनि भनिदैन । यो नेपाल सरकारको ज्यादै नै कमजोरी हो भन्न सकिन्छ ।
कालो धन अरुलाई दिएर बच्नेहरूः
आफूले अवैध किसिमले कमाएको धनसम्पत्ति अरुको नाममा गरिदिएर भ्रष्टाचारको आरोपबाट बच्नेहरूका बारेमा यदाकदा समाचारहरू नआएका होइनन् । कुनै पार्टीका एकजना वरिष्ठ नेताले त एक वर्षअघि ‘अब भ्रष्टाचार छानबिन गरौँ’ भनेका थिए । जब कि ती नेताले पञ्चायतकालमा र पछि बहुदल आएपछि पनि पटकपटक आकर्षक मन्त्रालय सम्हाल्दैआएका थिए । उनी जस्ता अरु नेता पनि छन् जसले भ्रष्टाचार गरेर सातपुस्ता पुग्ने सम्पत्ति कमाउने अनि बुढेसकालमा र सत्तामा नरहेको अवस्थामा बरबराउने गर्छन् ।
कर छलीः
माथि विभिन्न किसिमका छट्टुहरू र उनीहरूबाट हुने कर छलीका बारेमा उजागर गर्ने जमर्को गरियो । जो कर छलीमा माहिर हुन्छ उसलाई विगतका सरकारहरूले सम्मान गर्दै आएको पाइन्छ र उसलाई पार्टीले विश्वासिलो पात्रको रुपमा पनि लिने गरेको पाइयो । जसले धेरै कर छलेर आर्थिक अपराध गर्दछ उसको घुमाउरो बाटोबाट माथिल्लोस्तरका नेताहरूसँग साँठगाँठ हुन्छ ।