Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम

‘उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम


विराटनगर । उद्योग संगठन मोरङले नवीन व्यावसायिक सोचविचार तथा अवधारणा भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न आवश्यक प्राविधिक एवम् व्यावसायिक विकास कार्यक्रमको शुुभारम्भ गरेको छ ।

उद्योग संगठन मोरङले नवउद्यमीका लागि वित्तीय एवम् अन्य लगानीको पहुँचका लागि सहजीकरण तथा समन्वय गरी नयाँ व्यवसायको सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमअन्तर्गत तेस्रो ब्याचका लागि स्टार्टअपको आवेदन आह्वान गरेको जनाएको छ ।

आगामी कात्तिक १५ गतेसम्म अनलाइन आवेदन गर्न सकिने अनलाइन आवेदन फारम संगठनको वेब साइटबाट पनि प्राप्त गर्न सकिने उद्योग संगठन मोरङले जनाएको छ । संगठनले यसअघि पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस कार्यक्रमअन्तर्गत स्टार्टअप व्यवसायलाई निःशुल्करूपमा व्यावसायिक योजना तर्जुमा, व्यावसायिक योजना अनुरूप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना, बिजनेस क्यानभास मोडेल, बिजनेस हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवम् विभिन्न विषयगत कार्यक्रमहरू सञ्चालन गरिने संगठनले जानकारी दिएको छ ।

संगठनले स्टार्टअप उद्यमीलाई व्यावसायिक विकासका सेवा प्रदान गर्न चार जना बिजनेस कोच तथा १५ जना मेन्टरर्सको क्षमता अभिवृद्धि गरिएको जनाएको छ । स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पुँजीको सहजीकरणका लागि विराटनगर एञ्जल इन्भेस्टर्स नेटवर्क नै स्थापना गरिएको उद्योग संगठन मोरंगका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायीहरू रहने गरी तेस्रो ब्याचका लागि प्रस्ताव आह्वान गरिएको उपाध्यक्ष राठीले बताए । यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रालि, नेपाल युवा उद्यमी मञ्च, नेपाल चार्टर एकाउन्टेन्ट्स संघलगायतका संस्थासँगको सहकार्य रहेको उनले बताए । १० महिनाको अवधि रहने तेस्रो चरणको कार्यक्रममा नवीन व्यावसायिक अवधारणा भएका तथा स्तरोन्नतिको सम्भावना भएका सुरुवाती अवस्थाका उद्यमीहरू सहभागी हुन पाउने बताइएको छ ।

कार्यक्रमले नवीन व्यावसायिक अवधारणा, स्तरोन्नति तथा अनुशरण गर्ने, चालू उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरू, वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको आइडियालाई विशेष ग्राह्यता दिने जनाइएको छ । स्टार्टअप व्यवसायको प्रवर्द्धन र विकासका लागि सरकार, अनुसन्धानमूलक संस्थाहरू एवम् निजी क्षेत्रबीच समन्वय गरी विराटनगरलाई स्टार्टअप व्यवसाय विकासको हबका रूपमा विकास गर्दै व्यवसाय विकासका व्यवस्थापकीय एवम् प्राविधिक सेवाको दिगो इकोसिस्टमको जग बसाल्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया