Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई नेपाल ल्याउन आग्रह

लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई नेपाल ल्याउन आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन सहयोग गर्न चिनियाँ राजदूतसँग आग्रह गरेको छ ।

परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भएको लगानी एवम् व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत्, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानुनहरूमा सुधार गर्न लागेको पनि उनले जानकारी दिए । परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधारसम्बन्धी अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइसकेको उनले बताए ।

अध्यक्ष अग्रवालले पोखरा एवम् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न पनि आग्रह गरे । साथै, उनले चीन र भारतको बीचमा अवस्थित नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन सुझाव दिए । परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् (नेपाल–चाइना बिजनेस काउन्सिल)बीच व्यावसायिक छलफल अगाडि बढिरहेको जानकारी गराउँदै उनले काउन्सिलमार्फत नेपालमा चिनियाँ लगानी भित्र्याउन सहयोग हुने विश्वास व्यक्त गरे ।

छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको समृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताएका थिए । उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरू पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्नुपर्ने बताए । त्यसका लागि चीन सहकार्य एवम् सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोहीअनुरूप पूर्वाधार तथा सेवाको स्तरोन्नति गर्नुपर्ने उनको सुझाव थियो । ऊर्जा, जडीबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमूलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको उनले बताए । दुई देशबीच व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरूको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता पनि उनले जनाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया