Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरुपन्देहीमा नौ महिनामा १७ सय साना तथा घरेलु उद्योग दर्ता

रुपन्देहीमा नौ महिनामा १७ सय साना तथा घरेलु उद्योग दर्ता


बुटवल । रुपन्देहीमा चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक हजार सात सय ७५ उद्योगहरू दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार उद्योगतर्फ छ सय ७९ र वाणिज्य फर्मतर्फ एक हजार ९६ उद्योगहरू दर्ता भएका हुन् ।

यस्तै, उद्योगतर्फ एक हजार पाँच सय ८४ र वाणिज्यतर्फ चार गरी जम्मा एक हजार पाँच सय ८८ उद्योगहरू नवीकरण भएका छन् । यसैगरी दुई सय छ वटा उद्योग तथा फर्महरूले लगत कट्टा गरेका छन् भने चार सय ६३ वटा उद्योग र ७४ वटा वाणिज्य फर्महरूले संशोधन गराएका छन् । कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत नेत्र भुषालले चालू आर्थिक वर्षमा दर्ता भएका उद्योग तथा वाणिज्य फर्महरूले दुई हजार सात सय २४ जनाभन्दा बढीलाई रोजगारी दिएको बताए । उनले सात सय ८२ उद्यमीहरू रहेको ती उद्योगहरूबाट आगामी दिनमा थप रोजगारी सिर्जना हुने बताए ।

चालू आर्थिक वर्षको नौ महिनामा उद्योगतर्फ एक अर्ब ९२ करोड ८५ लाख ९२ हजार नौ सय ४५ रुपैयाँ र वाणिज्यतर्फ एक अर्ब ७० करोड ४२ लाख ९० हजार रुपैयाँ लगानी भएको कार्यालयका लेखा अधिकृत बाबुराम ज्ञवालीले जानकारी दिए । उक्त उद्योगहरूमध्ये उद्योगतर्फबाट ८९ लाख ५२ हजार एक सय ९१ रुपैयाँ र वाणिज्यतर्फ ५४ लाख ६९ हजार तीन सय रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्लामा हालसम्म १७ हजार सात सय १३ वटा उद्योग तथा फर्महरू दर्ता भएका छन् । सोमध्ये लघु उद्यमतर्फ दुई सय एक वटा रहेका छन् भने घरेलु उद्योगतर्फ तीन सय २१ वटा रहेका छन् । यसैगरी घरेलु उद्योगतर्फ २६ वटा साझेदारी फर्महरू दर्ता भएका छन् भने प्रालितर्फ दश वटा रहेका छन् । कार्यालयका निमित्त प्रमुख भुषालका अनुसार साना उद्योगतर्फ जिल्लामा प्राइभेट फर्महरू १४ हजार नौ सय ४९ वटा दर्तामा छन् । यस्तै, साझेदारी फर्मअन्तर्गत नौ सय २५ वटा र प्रालितर्फ एक हजार दुई सय ८१ दर्ता भएको उनले बताए ।

जिल्लामा समग्रमा उत्पादनमूलक क्षेत्रमा सात हजार तीन सय ४७, सेवामूलकमा चार हजार चार सय ६६, पर्यटनमा दुई हजार पाँच सय ४२, कृषि तथा वन्यजन्तुमा तीन हजार तीन सय ५७, सूचना तथा सञ्चार प्रविधिमा एक उद्योग दर्ता भएका छन् । निमित्त प्रमुख उद्योग अधिकृत भुषालले गत आर्थिक वर्षको असार मसान्तसम्म १४ सय ५१ वटा उद्योगहरूले लगत कट्टा गरेका थिए । यस्तै, गत आवको असार मसान्तसम्म ९७ नाम संशोधन, ८७ प्रतिलिपि र पाँच सय ६९ उद्योगले पुँजी वृद्धि गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया