Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविकास बैंकहरूको झण्डै २८ प्रतिशतसम्म कर्जा खराब

विकास बैंकहरूको झण्डै २८ प्रतिशतसम्म कर्जा खराब


काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनका कारण आर्थिक गतिविधि सुस्त हुँदा यसको असर विकास बैंकहरुको खुद मुनाफामा परेको छ । अर्थतन्त्र ठोसरुपमा चलायमान हुन नसक्दा विकास बैंकहरुको निक्षेप, कर्जा प्रवाह एवं कर्जाको नियमित साँवाब्याज असुलीमा समस्या उत्पन्न हुँदा पछिल्लो समय विकास बैंकहरुको नाफा घटेको छ भने खराब कर्जा बढेर झण्डै २८ प्रतिशतसम्म पुगेको छ ।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमध्येमा हालसम्म १२ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा महालक्ष्मी, सांग्रिला, लुम्बिनी, गरिमा, कर्पोेरेट, शाइन रेसुंगा र मुक्तिनाथ विकास बैंकको खुद मुनाफा घटेको देखिएको छ । यस अवधिमा कामना सेवा, ज्योति, ग्रीन र सिन्धु विकास बैंकको खुद मुनाफा,गतआवको सोही अवधिको तुलनामा बढेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकले भने यस अवधिमा छ करोड ३८ लाख ६२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नोक्सानी एक करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ । गत आवको पुस मसान्तमा दुई दशमलव ८३ प्रतिशत कर्जा खराब रहेको नारायणीमा पछिल्लो अवधिमा खराब कर्जा बढेर २७ दशमलव ७५ प्रतिशत पुगेको छ । कामना सेवा विकास बैंकले भने चालू आवको दोस्रो त्रैमासमा २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै छ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कामनाले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । गत आवको पुस मसान्तमा तीन दशमलव ७० प्रतिशत कर्जा खराब रहेको कामनामा पछिल्लो अवधिमा यस्तो कर्जा पनि घटेर तीन दशमलव ४२ प्रतिशतमा झरेको छ । महालक्ष्मी विकास बैंकले चालूआवको दोस्रो त्रैमासमा २७ करोड ८० लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो ३१ करोड ५० लाख ४६ हजार रुपैयाँ रहेको थियो । गतआवको दोस्रो त्रैमासमा चार दशमलव ५७ प्रतिशत कर्जा खराब रहेको महालक्ष्मीमा पछिल्लो समय खराब कर्जाको मात्रा घटेर चार दशमलव २१ प्रतिशतमा झरेको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकले १० करोड दुई लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गतआवको सोही अवधिको तुलनामा छ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा १६ करोड ६५ लाख ५३ हजार रुपैयाँ रहेको थियो । गत आवको पुस मसान्तममा तीन दशमलव ३६ प्रतिशत कर्जा खराब रहेकोमा सांग्रिलामा पछिल्लो अवधिमा खराब कर्जा बढेर चार दशमलव ८९ प्रतिशत पुगेको छ । ज्योति विकास बैंकले पनि पछिल्लो अवधिमा १० करोड १० लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा तीन करोड ४७ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

गतआवको पुस मसान्तमा तीन दशमलव ५२ प्रतिशत कर्जा खराब रहेको ज्योतिमा अहिले पनि सोही अनुपातमा खराब कर्जा रहेको छ । लुम्बिनी विकास बैंकले भने यही पुस मसान्तसम्ममा २१ करोड २२ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो २६ करोड १० लाख ६७ हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा तीन दशमलव २४ प्रतिशत कर्जा खराब रहेको लुम्बिनीमा पछिल्लो समय खराब कर्जा बढेर तीन दशमलव ५५ प्रतिशत पुगेको छ । गरिमा विकास बैंकले पनि चालू आवको पुस मसान्तसम्ममा ४७ करोड ९६ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५१ करोड १० लाख १८ हजार रुपैयाँ रहेको छ ।

गत आवको पुस मसान्तमा एक दशमलव ८९ प्रतिशत कर्जा खराब रहेकोमा गरिमामा पछिल्लो समय खराब कर्जा बढेर दुई दशमलव ९५ प्रतिशत पुगेको छ । ग्रीन डेभलपमेन्ट बैंकले पछिल्लो अवधिमा एक करोड २६ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा २८ लाख २८ हजार रुपैयाँ रहेको थियो । गत आवको पुस मसान्तमा तीन दशमालव ४३ प्रतिशत कर्जा खराब रहेको ग्रीनमा पछिल्लो अवधिमा खराब कर्जा बढेर चार दशमलव ७० प्रतिशत पुगेको छ ।

No description available.

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले चालू आवको पछिल्लो अवधिमा ९१ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड १७ लाख ४७ हजार रुपैयाँ रहेको थियो । गत आवको पुस मसान्तमा चार दशमलव ५७ प्रतिशत कर्जा खराब रहेको कर्पोरेटमा पछिल्लो अवधिमा खराब कर्जा बढेर चार दशमलव ६६ प्रतिशत पुगेको छ । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिमा ३७ करोड १२ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको थियो । गत आवको पुस मसान्तमा एक दशमलव ३१ प्रतिशत कर्जा खराब रहेकोमा शाइनमा पछिल्लो अवधिमा यस्तो कर्जा बढेर दुई दशमलव ६२ प्रतिशत पुगेको छ ।

चालू आवको दोस्रो त्रैमासमा सिन्धु विकास बैंकले भने दुई करोड ५१ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले एक करोड ८७ लाख १४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । उक्त अवधिमा खराब कर्जा चार दशमलव ९० प्रतिशत रहेको सिन्धुले पछिल्लो अवधिमा खराब कर्जा घटाएर एक दशमलव शून्य पाँच प्रतिशतमा झारेको छ । मुक्तिनाथ विकास बैंकले भने पछिल्लो अवधिमा ४२ करोड १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा शून्य दशमलव ९८ प्रतिशत कर्जा खराब रहेको मुक्तिनाथमा पछिल्लो अवधिमा खराब कर्जा बढेर दुई दशमलव ५१ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया