Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहकारी बैंक बागलुङ शाखाको मुनाफा एक करोड २५ लाख

सहकारी बैंक बागलुङ शाखाको मुनाफा एक करोड २५ लाख


काठमाडौं, साउन १९
राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा आइतबार सम्पन्न भएको छ । बैंकका शाखाहरुमध्ये दोस्रो शाखाका रुपमा स्थापित बागलुङ शाखाले गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

साबिक धौलागिरी क्षेत्रका दुुई सय ९३ वटा सहकारी संघ संस्थाहरु सेयर सदस्य रहेको बैंकको शाखामा १० करोड १६ लाख सेयर पुँजी, एक अर्ब ४६ करोड निक्षेप र १८ करोड कर्जा लगानी रहेको शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिए । सहकारी संघ संस्थाहरु मात्रै सदस्य रहने र सहकारी ऐनअनुसार सदस्यहरुसँग मात्रै कारोबार गर्ने प्रावधानअनुसार यस क्षेत्रका सबै सहकारीहरुको कारोबार सहकारी बैंकमा ल्याउने योजनाका साथ शाखाले काम गरेको शाखा प्रमुख त्रिपाठीले बताए ।

बैंकले आफ्ना सदस्यहरुलाई वित्तीय सेवाका साथै शिक्षा तथा तालिम, सहकारी संघ संस्थाहरुको स्तरीकरणलगायत सहकारी प्रवर्द्धनका विभिन्न क्षेत्रमा काम गर्दै आएको त्रिपाठीले जानकारी दिए । छलफल कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकमा शेयर खरिद गर्न, सेयर थप गर्न र सबै कारोबार सहकारी बैंकमै गर्न आह्वान गरे । सो अवसरमा बैंकमा एक करोडभन्दा बढी सेयर खरिद गर्ने ४ वटा सहकारी संस्थालाई सम्मान गरिएको थियो ।

राष्ट्रिय सहकारी बैंकमा बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले दुई करोड ५५ लाख, सीवाइसी वचत तथा ऋण सहकारी संस्थाले दुुई करोड १० लाख, आदर्श सञ्चार सहकारी संस्थाले एक करोड ५० लाख र प्रगति बहुउद्देश्यीय सहकारी संस्थाले एक करोड रुपैयाँको सेयर खरिद गरेका छन् ।

सहकारी बैंकमा सेयर खरिद गरेर बैंकको प्रवद्र्धनमा सहयोग गरेको भन्दै बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारी, सीवाइसी साकोसको अध्यक्ष चण्डीप्रसाद शर्मा, आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) र प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा (कुमार)लाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र नेपाल सूचना तथा सञ्चार सहकारी संघका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य मनकुमारी केसी जिसीले सम्मान गरेका थिए ।

सहकारी अभियानलाई व्यवस्थित गर्दै आर्थिक सामाजिक रुपान्तरणमा योगदान गर्नका लागि सबै सहकारीहरुले आफ्नो बैंकमै कारोबार गर्नुपर्नेमा संघीय सांसद मनकुमारी केसीले जोड दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य नरबहादुर थापा, स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) बागलुङका अध्यक्ष दिपक राजभण्डारीलगायतले सहकारी बैंकको शाखाले गत वर्षमा उत्कृष्ट कारोबार गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिन थप समन्वय र सहकार्यका साथ अगाडि बढ्न सुझाव दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x