Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । बैंकका अनुसार सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आबद्ध रहेका उद्यमीहरूलाई महासंघले परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापश्चात् देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । श्रेष्ठले बैंकको सातवटै प्रदेश ७७ वटै जिल्लामा रहेको दुई सय ४१ वटै शाखा कार्यालयहरूबाट यो कर्जा लिन सकिने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष सिंहले बैंकसँगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरूको वित्तीय पहुँचमा थप सघाउ पुग्ने बताए । उनले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिसबमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृत देवेन्द्ररमाण खनाल, विभागीय प्रमुखहरू, महासंघका महासचिव डम्बरप्रसाद रेग्मीलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख राज्यलक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया