Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल इन्भेष्टमेन्ट बैंकद्वारा पैसा पठाउने एप सञ्चालन

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा पैसा पठाउने एप सञ्चालन


काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले पैसा पठाउने एप सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकका अनुसार भारतमा रहेका नेपालीलाई सहजरूपमा नेपालमा पैसा पठाउन पाउन भन्ने उद्देश्यले पैसा पठाउने एप सञ्चालनमा ल्याइएको हो ।

यो एपबाट भारतमा रहेका नेपालीले आफ्नो मोबाइलबाट २४सै घण्टा पैसा पठाउन सक्नेछन्, बैंकले भनेको छ । एपमार्फत पैसा पठाउँदा छिटो, सुरक्षित र कम सेवा शुल्कमा पैसा पठाउन सकिनेछ । बैंकका अनुसार भारतमा रहेको आफ्नो बैंक एकाउन्टबाट सजिलै नेपालमा रकम ट्रान्सफर गर्न सक्नेछन् ।

यो एपमार्फत एक पटकमा ८० हजार रुपैयाँ अर्थात् ५० हजार भारु समेत गरी वर्षमा १२ पटकसम्म पैसा पठाउन सकिन्छ, बैंकले भनेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड ६६ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब एक करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको बैंकमा चार दशमलव १४ प्रतिशतको स्प्रेड दर रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब आठ करोड २० लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब छ करोड ३३ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव १६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया