Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र त्रिविको सहकार्यमा वृक्षरोपण

ग्लोबल आईएमई बैंक र त्रिविको सहकार्यमा वृक्षरोपण


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षरोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. सिवलाल भुषाल तथा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्युक्तरूपमा गरेका हुन् ।

विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत क्याम्पस परिसरको तीनकुनेदेखि घडी भवनसम्मको सडक छेउमा करिब तीन सय धुपी र चापको विरुवा रोपण गरी बिरुवाको सुरक्षाको लागि ‘ट्रि गार्ड’ समेत लगाइएको छ । कार्यक्रममा विश्वविद्यालय क्याम्पसका पदाधिकारी, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारी गरी एक सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

बैंकले हाल मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा बैंकको दुई सय ७३ शाखा, दुई सय ४७ एटीएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब आठ सय सेवा केन्द्रबाट २४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बैंकले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा तीन अर्ब ५७ करोड ८२ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रूपैयाँ अर्थात् ३२ दशमलव ४० प्रतिशत बढी हो ।

खुद मुनाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा राम्रो सुधार भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रूपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी, चालू आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रूपैयाँ पाँच पैसा कायम भएको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ५६ करोड ४५ लाख रूपैयाँ रहेको छ । बैंकले आफ्नो व्यवसायमा गरेको वृद्धि, सञ्चालन खर्चहरूमा अपनाएको मितव्ययिता, डिजिटाइजेसनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकताजस्ता नीतिहरूको सफल कार्यान्वयनबाट उल्लिखित वित्तीय प्रगति गर्न सफल भएको छ ।

विगत नौ महिनामा बैंकको निक्षेप दुई खर्ब २६ अर्ब ६४ करोड रूपैयाँबाट बढेर दुई खर्ब ५८ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी एक खर्ब ९८ अर्ब रूपैयाँबाट बढेर दुई खर्ब ३३ अर्ब ११ करोड रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको आसार मसान्तमा एक दशमलव ७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत्र मसान्तसम्म क्रमिकरूपमा सुधार भई एक दशमलव ६१ प्रतिशत रहेको छ ।

बैंकको आधार दर नौ दशमलव ४१ प्रतिशतबाट छ दशमलव ४० प्रतिशतमा र स्प्रेड दर पाँच दशमलव १८ प्रतिशतबाट चार दशमलव १७ प्रतिशतमा झरेको छ । बैंकको आधार दरमा आएको उल्लेख्य गिरावटबाट बैंकका ग्राहकहरू समेत प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । साथै बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको पुनर्कर्जाले आफ्ना ग्राहकहरूको व्यापार व्यवसायमा थप सघाउ पु-याउन सकेकोले बैंकको व्यावसायिक कदमहरू ग्राहकहरूको हितका लागि छ भन्नेमा बैंक विश्वस्त छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया