Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम

नबिल बैंकको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम


काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम सुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको हो । स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नबिल एसईईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ । सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्नलिखित स्कुल/कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक सात सय विद्यार्थीहरूलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछ । त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौँमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले आजै गरेको छ ।

Open photo

यसैगरी एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनोटमा परेका व्यक्तिहरूलाई उद्यमशीलताको तालिम दिइनेछ । उनीहरूका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

नबिल एसईईका दुवै कोर्स पूरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरुवात गर्नसक्ने अपेक्षा गरिएको छ । उनीहरूले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, ऊर्जा र जलवायु परिवर्तनजस्ता क्षेत्रहरूमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् । सहभागीहरूले सामाजिक उद्यम सञ्चालनको तरिकासँगै आधारभूत कानुनी तथा करसम्बन्धीका ज्ञान पनि पाउनेछन् । उनीहरूले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरूको समेत व्यावहारिक ज्ञान र सीप पाउनेछन् ।

Open photo

लघुवित्त, संस्था व्यवस्थापन, परियोजना सञ्चालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरणजस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ । यसले गर्दा यो तालिम व्यवसाय सुरुवात तथा सञ्चालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ । यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्नेछ ।

नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रवर्द्धन गर्न यो कार्यक्रमले निजी, सार्वजनिक, शैक्षिक संस्था र समुदायबीचको रचनात्मक सामूहिकतालाई प्रवर्द्धन गर्ने प्रयास गरेको छ । दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौँ आवधिक योजनालगायतका दस्ताबेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्नेछ । यो कार्यक्रम पूर्ण व्यावसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा सानाभन्दा साना सीप र रोजगारी गरी जीवन निर्वाह गरिरहेकाहरूलाई पनि उद्यमी बनाउन एक नयाँ सुरुवात हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया