Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुलुकमा वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आईएमई बैंकको पहल

मुलुकमा वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आईएमई बैंकको पहल


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र सिर्जनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरूपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरूलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए । ‘यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषाकार्ड तथा मास्टर कार्डमार्फत यहाँहरूले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ’, उनले भने ।

नेपालको प्रतिष्ठित व्यावसायिक समूह आईएमई समूहका अध्यक्ष ढकालले आईएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकताअनुरूप आफ्ना व्यावसायिक गतिविधिहरू अगाडि बढाउँदै आएको उनको भनाइ थियो । आईएमई रेमिट हामीले सुरु गरेको २२ वर्ष पुगेको छ । विगत २२ वर्षमा आईएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ । हामीले रेमिट्यान्स सेवा सुरु गर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो ।

आज आईएमई नाम आफैँमा रेमिटको पर्यायवाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरूमा जाने ग्राहकहरूले पनि पैसा पठाउन प-यो भने आईएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ’, उनले भने । त्यसैगरी, अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्र्उनुपर्नेछ, यसमा पनि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहन्छौँ, उनले भने । उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताए ।

‘यसका लागि तपाईँहरूले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुप-यो । नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनु प-यो’, उनले भने । गैरआवासीय नेपाली संघसँग आफूहरूको सहकार्य सुरु भइसकेको बताउँदै उनले गैरआवासीय नेपालीहरूले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ जिल्लामा २७ मेगावाटको जलविद्युत् आयोजना निर्माण सकिएर टेस्टिङको चरणमा रहेको बताएका छन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सिर्जनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरू, गैरआवाशीय नेपाली संघका प्रतिनिधिहरू तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो । यसअघि नेपलिज एकाउन्टेन्स एसोसिएसन, यूकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि यूकेका व्यवसायी तथा लगानीकर्ताहरूलाई सहजीकरण गर्न एसोसिएसनलाई आग्रह गरेका छन् ।

लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उनले धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउन यूकेमा रहेका नेपालीहरूले नै भूमिका निभाउनुपर्ने बताए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया