Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको शाखा आठराईमा

नेपाल बैंकको शाखा आठराईमा


काठमाडौं, फागुन १३
नेपाल बैंक लिमिटेडले आठराई शाखा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहका बीच डिजिटल प्रविधिबाट अपरेटिङ सिस्टम कनेक्ट गरी शाखाको उद्घाटन गरेका हुुन् । उद्घाटनपश्चात् तेह्रथुम जिल्ला, आठराई गाउँपालिका वडा नं.१, संक्रान्तिबजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ कारोबार सुचारु भएको छ । शाखाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको एक सय ७७औं शाखाको रूपमा पुनर्स्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ कारोबारमार्फत आर्थिक विकासमा मदत पुग्ने विश्वास गरे । प्रधानमन्त्री ओलीले बैंकसँग कारोबार गरी आफ्नो आर्थिक उन्नति गर्न सबैलाई आह्वान समेत गरे ।

शाखा उद्घाटनपश्चात् संक्रान्तिबजारमा आयोजित समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकहरूको तुलनामा नेपाल बैंकमा कर्जामा कम ब्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधाहरू उपलब्ध भएकोले बैंकिङ कारोबारमार्फत आफ्नो व्यावसाय विस्तार गर्न र उद्यमी बन्न सबै वर्ग समुदायलाई आग्रह गरे ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आम नागरिकहरूमा बैंकिङ पहुँच पु-याउने लक्ष्यअनुरूप देशका विभिन्न स्थानहरूमा विगतमा बन्द भएका शाखाहरूको पुनर्स्थापना तथा नयाँ शाखा कार्यालयहरू स्थापना गर्दै बैंकिङ कारोबार गर्दै सबैं नेपालीलाई बैंकिङ पहुँच पु-याउने अभियानमा बैंक रहेको बताए ।

बैंकका प्रमुखकार्यकारी अधिकृत कुष्णबहादुर अधिकारीले व्यावसायिक सभ्याव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजनाहरू ल्याई सबैसँग व्यावसायिक साझेदारीको रूपमा बैंक अगाडि बढेको बताउँदै बजारको मागअनुरूपका नयाँ–नयाँ कार्यक्रमहरूका साथ अत्याधुनिक बैंकिङ सेवा सुविधासहित बैंकले आफ्ना सबै सेवाग्राहिहरूलाई सन्तुष्टि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । आठराई उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमप्रसाद पौडेलले नेपाल बैंकको पुनर्स्थापनाले स्थानीय उद्यमी व्यवसायीहरूमा खुसीको लहर आएको बताउँदै बचत गर्ने संस्कृतिको विकास गर्न र परिश्रमी एवं उद्यमी बन्नमा बैंक सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकको प्रादेशिक कार्यालय प्रमुख उज्वलराज गौतमले स्वागत गरेका थिए । आठराई शाखाका शाखा प्रबन्धक शेखर न्यौपानेको टिमले बैंकिङ सेवा सुचारु गरिरहेको छ । विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत सेयर हिस्सा कायम रहेको छ ।

बैंकले देशको ६३ जिल्लामा रहेका एक सय ७७ वटा शाखाहरू, २६ बटा एक्स्टेन्सन काउन्टर तथा एक सय १९ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ र आगामी आवभित्र सबै जिल्लाहरूमा शाखा सञ्जाल पु-याउने लक्ष्यका साथ कार्यहरू अगाडि बढाइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया