Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारत–बंगलादेशबीच रेल र विद्युत् क्षेत्र परियोजनाको उद्घाटन

भारत–बंगलादेशबीच रेल र विद्युत् क्षेत्र परियोजनाको उद्घाटन


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बंगलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीनवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

परियोजनामा अखौरा–अगरतला क्रस बोर्डर रेल लिङ्क, खुलना–मोङ्गला पोर्ट रेल लाइन र बंगलादेशको रामपालमा मैत्री सुपर थर्मल पावर प्लान्टको युनिट–२ रहेका छन् । भारत र बंगलादेशबीच रेल र विद्युत् क्षेत्रको परियोजनाहरूको उद्घाटन दुवै मुलुकबीचको सम्बन्ध र साझेदारीलाई सुदृढ बनाउन केन्द्रित रहेको बताइएको छ ।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले महत्वपूर्ण परियोजनाहरूको संयुक्त उद्घाटनले दुई देशबीचको दृढ मित्रता र सहयोगलाई प्रकट गरेको बताइन् ।

अखौरा–अगरतला क्रस बोर्डर रेल लिंक परियोजना भारत सरकारले बंगलादेशलाई दिएको तीन अर्ब ९२ करोड ५२ लाख भारतीय रुपैयाँको अनुदान सहयोगअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो । बंगलादेशमा छ दशमलव ७८ किलोमिटर डबल गेज रेल लाइन र त्रिपुरामा पाँच दशमलव ४६ किलोमिटरसहित रेल लिंक गरी कूल लम्बाइ १२ दशमलव २४ किलोमिटर रहेको छ ।

खुलना–मोङ्गला पोर्ट रेल लाइन परियोजना भारत सरकारको सहुलियतपूर्ण ऋणअन्तर्गत ३८ करोड ८९ लाख २० हजार अमेरिकी डलरको लागतमा कार्यान्वयनमा ल्याइएको हो । यो परियोजनामा मोङ्गला बन्दरगाह र खुलनामा विद्यमान रेल नेटवर्कबीच करिब ६५ किलोमिटर ब्रोड गेज रेलमार्ग निर्माण समावेश छ । यसका साथै बङ्गलादेशको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह मोङ्गला ब्रोड गेज रेलवे नेटवर्कसँग जोडिएको छ ।

मैत्री सुपर थर्मल पावर परियोजना एक अर्ब ६० करोड अमेरिकी डलरको भारतीय सहुलियतपूर्ण ऋणअन्तर्गत बङ्गलादेशको खुलना डिभिजनमा रामपालस्थित एक हजार तीन सय २० मेगावाटको सुपर थर्मल पावर प्लान्ट हो । उक्त परियोजना भारतको एनटीपीसी लिमिटेड र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीचको आधा आधा लगानी भएको बङ्गलादेश–भारत मैत्री पावर कम्पनी लिमिटेडले कार्यान्वयनमा ल्याएको हो । यी परियोजनाले यस क्षेत्रमा कनेक्टिभिटी र ऊर्जा सुरक्षालाई सुदृढ पार्नेछन् ।

पछिल्लो दशकमा बङ्गलादेश–भारत मैत्री संवादले दुवै देशबीच द्विपक्षीय सम्बन्धहरूलाई सुदृढ बनाउन महत्वपूर्ण मञ्चका रूपमा काम गरेको छ । बीएनएन न्युजका अनुसार यो वर्षको संवादको विषय ‘बृहत् र पारस्परिकरूपमा लाभदायक साझेदारीलाई बढाउने’ छ । रासस


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया