Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेसबुकले अस्ट्रेलियामा समाचार संस्थालाई पैसा दिने

फेसबुकले अस्ट्रेलियामा समाचार संस्थालाई पैसा दिने


क्यानबेरा ।
सामाजिक सञ्जाल फेसबुकले रुपर्ट मर्डोकको न्युज कर्प अस्ट्रेलिया(एनसीए)लाई स्थानीय समाचारका लागि पैसा तिर्ने भएको छ । अस्ट्रेलियाले समाचार संस्थालाई समाचार प्रयोगबापत पैसा तिर्नुपर्ने विवादास्पद कानुन ल्याएपछि फेसबुकले कम्पनीसँग सम्झौता गरेको हो ।

एनसीएले उक्त सम्झौताबारे अहिले नै पूरै खुलाइसकेको छैन । दुवै पक्षबीच तीन वर्षे सम्झौता भएको बीबीसीले जनाएको छ । गत महिना कम्पनीले गुगलसँग पनि यस्तै सम्झौता गरेको थियो । सम्झौतामा एनसीएको सबै समाचारहरु पर्नेछन् । एनसीएले अस्ट्रेलियामा ७० प्रतिशत पत्रपत्रिका सर्कुलेसन ओगट्छ । त्यसमा चर्चित पत्रिकाहरु द अस्ट्रेलियन, द डेली टेलिग्राफ र द हेराल्ड सन पर्छन् ।

न्युजडटकमडटएयू अनलाइन र फक्स न्युजकै मोडलको कन्जरभेटिभ टिभी नेटवर्क स्काई न्युज अस्ट्रेलियाको स्वामित्व पनि एनसीएकै स्वामित्वमा रहेको छ । अमेरिकामा पनि न्युज कर्पले यसअघि नै फेसबुकसँग फरकखाले सम्झौता गरिसकेको छ । विश्वका अन्य देशमा जस्तै अस्ट्रेलियामा पनि समाचार संस्थाहरुले पछिल्लो दशकमा विज्ञापन नै पाउनछोडेका छन् । विज्ञापनदाताहरु पछिल्लो समय सिधै फेसबुक र गुगलजस्ता कम्पनीतिर आकर्षित हुँदा समाचार प्रकाशक संस्थाहरु मारमा परिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया