Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्क र बेजोसको अन्तरिक्ष दौडमा थपिँदै क्यानडेली टेलिस्याट

मस्क र बेजोसको अन्तरिक्ष दौडमा थपिँदै क्यानडेली टेलिस्याट


ओटावा (क्यानडा) ।
क्यानडाको टेलिस्याटले लो अर्थ अर्बिट (एलईओ) अर्थात् पृथ्वीको तल्लो कक्षमा स्याटेलाइट प्रक्षेपणको तयारी गरेको छ । अन्तरिक्षबाट उच्चगतिको इन्टरनेट ब्रोडब्यान्ड उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले एलईओ स्याटेलाइट प्रक्षेपणको तयारी गरेको हो ।

योसँगै सन् १९६९ मा स्थापित कम्पनीले दुई अर्बपति एलन मस्क र जेफ बेजोसलाई माथ दिने तयारी गरेको हो । टेस्ला इन्कका प्रमुख कार्यकारी एलन मस्क टेलिस्याटले पहिलो स्याटेलाइट प्रक्षेपण गर्दा मात्र एक वर्षका थिए । तिनै मस्कले स्पेस एक्स कम्पनीमार्फत स्टारलिंक एलईओलाई पृथ्वीको कक्षमा राखिसकेका छन् । यता अमेजनका सीईओ बेजोसले पनि यस्तै किसिमको स्याटेलाइट प्रोजेक्ट कुइपर प्रक्षेपणको तयारी गरिरहेका छन् । बेजोसकै अर्को कम्पनी ब्लु ओरिजिनले रकेट बनाउँछ ।

अन्तरिक्षमा यस्तो प्रतिस्पर्धाका बीच टेलिस्याटका प्रमुख कार्यकारी डान गोल्डबर्ग योजना सफल हुनेमा विश्वस्त छन् । त्यसो त टेलिस्याटको एलईओ स्पेस एक्स र अमेजनको तुलनामा निकै कम खर्चिलो छ । यो कम्पनीले दशकौँदेखि स्याटेलाइटकै क्षेत्रमा अनुभव बटुलेको छ । स्पेस एक्स र अमेजनले उपभोक्ता बजारको खोजी गरिरहँदा यो कम्पनीले भने धनाढ्य ग्राहकलाई लक्षित गरेको छ ।

गोल्डबर्गले छ वर्षअघि नै व्यवसाय मोडल परिवर्तन गर्नुपर्नेबारे सोचेको बताए । टेलिस्याटको १५ जिओस्टेसनरी (जीईओ) स्याटेलाइटले टिभी प्रसारक, इन्टरनेट सेवा प्रदायक र सरकारी नेटवर्कलाई सेवा दिन्छ । तर ती सबैमा ढिलो सेवा (लेटेन्सी), ३५ हजार किमि माथि रहेका अर्बिटरबाट सिग्नल बाउन्सिङ हुने जस्ता समस्याले चिन्ता बढाइरहेको थियो ।

सोही समस्यालाई दृष्टिगत गर्दै कम्पनीले एलईओ प्रक्षेपणको तयारी गरेको हो । तल्लो कक्षबाट सेवा दिँदा यस्ता समस्याको हल हुनेछ । टेलिस्याटका एलईओ स्याटेलाइट जीईओ स्याटेलाइटको तुलनामा ३५ गुणा छिटो घुम्नेछन् । यसले इन्टरनेटको गति बढाउनेछ । टेलिस्याटकोक पहिलो प्रक्षेपण २०२३ को सुरुतिर गर्ने योजना बनाइएको छ । पृथ्वीको तल्लो कक्षमा मस्कका १ हजार २ सयवटा स्टारलिंक स्याटेलाइट अहिले नै घुमिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया