Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१० वर्षभित्रै क्रिप्टो महाशक्ति बन्नसक्छ भारत

१० वर्षभित्रै क्रिप्टो महाशक्ति बन्नसक्छ भारत


सीएनएन । भारतीय व्यवसायी स्वाती दागाले सन् २०१७ मा पहिलोपटक बिटक्वाइन् किनेकी थिइन् । जतिबेला यसको मूल्य ३ हजार अमेरिकी डलरभन्दा कममा कारोबार भइरहेको थियो । डिजिटल मुद्रामा लगानी गर्ने उनको निर्णयप्रति परिवारलाई भने चिन्ता थपेको बताउँछिन् उनी ।

‘मेरो परिवारका सदस्यले त पैसा यसै नफ्याँक है पनि भन्नुभयो’, नयाँदिल्लीनजिकै खाद्य व्यवसायरत उनी भन्छिन् । तर ३३ वर्षीया उनलाई बिटक्वाइन किनेकामा कुनै पश्चात्ताप भने छैन । हुने कुरा पनि भएन । अहिले उनले किनेभन्दा १५ गुणाले बढेको छ यसको मूल्य । अहिले त उनी क्रिप्टोकरेन्सीहरुमा आफ्नो बचतको १० प्रतिशतसम्म रकम लगानी गरिरहेकी छिन् । एथेरियम र बिटक्वाइनसहितका भर्चुअल मुद्रामा उनको लगानी छ । ‘मलाई सेयरबजार साह्रै दिक्कलाग्दो लाग्छ’, उनी भन्छिन्, ‘मूल्यमा हलचल आइरहने यी क्षेत्रमा लगानी गर्दा आनन्द लाग्छ ।’

डिजिटल मुद्रामा लगानी गर्ने उनी एकमात्र होइनन् । नियमनकारी निकायले डिजिटल मुद्रामा लगानीलाई लिएर सशंकित भइरहँदा र कारोबारमा प्रतिबन्ध लगाउने चेतावनी दिइरहँदा समेत महामारीको सुरुदेखि यता नै भारतमा क्रिप्टो कारोबार निकै फस्टाएको छ । औद्योगिक क्षेत्रका उद्यमीहरु त भारत क्रिप्टो महाशक्ति बन्नसक्ने प्रबल सम्भावना रहेको बताउँछन् ।

भारत विश्वमै ठूलो इन्टरनेट बजार हो । यहाँ ७५ करोड प्रयोगकर्ता रहँदा सयौँ लाखौँ अरु धेरै अनलाइनमा आउँदै छन् । अक्टोबरमा ब्लकचेन डेटाप्लेटफर्म चेनालाइसिसले प्रकाशित गरेको प्रतिवेदनअनुसार क्रिप्टोकरेन्सी स्वीकार्ने दर भारतमा द्रुतगतिमा बढिरहेको छ । गत वर्षको उक्त तथ्यांकअनुसार त यस हिसाबले भारत भियतनामभन्दा मात्रै पछि छ ।

सरकारले कति नागरिकले क्रिप्टोकरेन्सीहरु कारोबार गरिरहेका छन् भन्ने तथ्यांक नराखे पनि औद्योगिक क्षेत्रका विज्ञहरुका अनुसार भारतमा अहिले २ करोड क्रिप्टो लगानीकर्ता छन् । त्यसमा पनि धेरै युवा लगानीकर्ता छन् जो ३५ वर्षमुनिका हुन् । तीमध्ये धेरै ससाना सहरी क्षेत्रका रहेका भारतको ठूलो क्रिप्टो एक्सचेन्जका दुई संस्थापक बताउँछन् ।

क्रिप्टो एक्सचेन्ज क्वाइनडीसीएक्सका सहसंस्थापक तथा सीईओ सुमित गुप्ताका अनुसार धेरै युवा भारतीयले क्रिप्टोमा लगानी थालेका छन् । उनीहरुको सुरुवाती लगानी नै क्रिप्टोबाट भएको छ । ‘जब कि तिनका परिवारले २० वर्षअघिसम्म लगानी गर्न सुनलाई छान्थे तर अहिलेका युवा आफ्नो पोर्टफोलियो बिटक्वाइनलाई बनाउँछन्’, गुप्ता भन्छन्, ‘परम्परागत हिसाबले भन्ने हो भने पहिले पैसा कि सुनमा लगानी गरिन्थ्यो, कि बैंकमा बचत खातामा ।’

यसो त सुन किन्ने र त्यसमा लगानी गर्ने चलन भारतमा पुरानो हो । यस हिसाबले भारत बहुमूल्य धातुको ठूलो बजार भएको वर्ल्ड गोल्ड काउन्सिल बताउँछ । हिन्दू र जैन समाजमा त यसले धेरै धार्मिक पर्वहरुमा महत्वपूर्ण भूमिका पनि खेल्छ । मुम्बईमा रहेको क्वाइनडीसीएक्स गत वर्ष क्वाइनबेस भेन्चर्स र बी क्यापिटल ग्रुपबाट लगानी भित्र्याउँदै १ अर्ब १० करोड डलर मूल्यांकनसहित भारतको पहिलो क्रिप्टो युनिकर्न बनेको थियो । अहिले यसका १ करोड प्रयोगकर्ता छन् भने यसको १० प्रतिशत प्रयोगकर्ता १८–३४ उमेरसमूहका छन् ।

त्यस्तै यसको प्रतिस्पर्धी वाजिरएक्सको तथ्यांकले पनि यही भन्छ । यसका पनि १ करोड प्रयोगकर्ता छन् । कम्पनीका अनुसार सन् २०२१ मा क्रिप्टो व्यापार भारतमा फस्टाएको थियो । यो कम्पनी सन् २०१९ मा संसारकै ठूलो क्रिप्टो एक्सचेन्ज कम्पनी बाइनान्सले प्राप्ति गरेको थियो । वाजिरएक्सका कुलमध्ये ६५ प्रतिशत प्रयोगकर्ता ३५ वर्षमुनिका रहेको उसकै प्रतिवेदनले जनाएको छ । यसमा साना सहर गुवाहाटी, कर्नाल, बरेलीबाट कारोबारमा सामेल हुने संख्या ७ सय प्रतिशतले बढिरहेको छ । यसबाहेक ग्रामीण र अर्धसहरी क्षेत्रबाट पनि क्रिप्टोमा आउनचाहने धेरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

राजस्थानका एक क्रिप्टो कारोबारी प्रितिश कुमावात उनको क्षेत्रका चियापसलमा समेत क्रिप्टोकै गफ हुनथालेको बताउँछन् । यस्ता गफ गर्नेमा कलेज विद्यार्थी धेरै छन् । गत वर्ष बिटक्वाइनको मूल्य आकाशिनुमा भारतमा बढेको यसप्रतिको रुचिलाई कारण रहेको दाबी गर्छन् उनी । त्यतिबेला नोभेम्बरमा बिटक्वाइन आकाशिएर ६८ हजार ९ सय ९० डलरसम्म पुगेको थियो । त्यसयता भने घटेर ४३ हजार अमेरिकी डलरमा आइपुगेको छ ।

भारतमा त बिटक्वाइन मात्र नभई डजक्वाइन, शिवा इनुजस्ता अन्य भर्चुअल मुद्रा पनि निकै चर्चित रहेको वाजिरएक्सको प्रतिवेदनले देखाएको छ । साना सहरका लगानीकर्तासँगसँगै दुवै कम्पनीमा सानै लगानीमा भए पनि महिला प्रयोगकर्ताको संख्या पनि १ हजार प्रतिशतले बढेको छ । गुप्ता पनि बितेको १८ महिनायता क्रिप्टो कारोबारमा भारतीय महिलाको संख्या उल्लेख्यमात्रामा बढेको बताउँछन् । कम्पनीको तथ्यांकले पनि कुलमध्ये १५ प्रतिशत प्रयोगकर्ता महिला रहेको देखाउँछ ।

भारत सरकारले डिजिटल करेन्सीबारे फरक फरक कुरा गर्दै आएको छ । तर यसका बाबजुद भारतमा यसप्रतिको चाहना बढ्दोक्रममा छ । भारतीय केन्द्रीय बैंकले त क्रिप्टोकरेन्सी सम्पत्ति शुद्धीकरणमा प्रयोग हुने डर रहेको बताइसकेको छ । भारतीय संसदको वेबसाइटले गत वर्ष सरकारले सबैखाले क्रिप्टोकरेन्सी भारतमा प्रतिबन्धित गरिने योजना बनाइरहेको उल्लेख गरेको थियो । यो वर्ष भने यसप्रति चासो राख्नेहरु अझ धेरै उत्साहित भएका छन् ।

मार्चकै सुरुतिर भारत सरकारले भर्चुअल डिजिटल सम्पत्तिबाट हुने आयमा ३० प्रतिशत कर लगाउनसक्ने बताएको थियो । यसको मतलब सरकारले क्रिप्टो कारोबारलाई प्रतिबन्धित नगर्ने संकेतका रुपमा लिइरहेका छन् औद्योगिक क्षेत्रका विज्ञहरु । त्यसो त भारत सरकारले आफ्नै डिजिटल मुद्रा ल्याउन सक्ने पनि बताइसकेको छ ।

‘भर्चुअल डिजिटल सम्पत्तिमा कर लगाउने कदम ठीक दिशा हो’, गुप्ताले त्यो घोषणाकै बेला भनेका थिए, ‘यसले उद्योगहरुमा बहुप्रतीक्षित स्पष्टीकरण र विश्वास दिलाउँछ ।’ वाजिरएक्सका सहसंस्थापक सिद्धार्थ मेननले त्यो घोषणापछि आफ्नो प्लेटफर्मममा दैनिक साइनअप गर्ने संख्या ५० प्रतिशत बढीले वृद्धि
भएको बताए । उनका अनुसार भारतीय डेभलपर्स र अन्य व्यावसायिक व्यक्तिहरुले समेत क्रिप्टो कारोबारमा रुचि बढाइरहेका छन् ।

‘म भारतमा वरिष्ठ कार्यकारीहरुबाट लिंक्डइन सन्देशहरु पाइरहेको छु, उनीहरु यो व्यवसायमा निकै आशावादी बनिरहेका छन्’, उनले भने । पहिले पहिले भने भारतीय एक्सचेन्जहरुले अनुभवी मानिसलाई हायर गर्न स्पष्ट नियमनको अभावमा धेरै झन्झट व्यहोर्नुपथ्र्यो । यद्यपि भारतले क्रिप्टोकरेन्सीहरुलाई भारतमा अहिले पनि अवैध नै मानिरहेको छ ।

‘म यसलाई वैध वा अवैध बनाउन केही गरिरहेको छैन’, करदर घोषणा गरेको केही दिनपछि संसदमा बोल्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भनेकी थिइन्, ‘प्रतिबन्ध लगाउने वा खुलाउने कुरा आउँदै गर्ला…तर म करचाहिँ लगाउँछु, यो सार्वभौमिक अधिकार हो ।’ ‘नीतिगत पक्षबाट सरकारले यही गर्ने भन्ने सुनिश्चित छैन’, प्रविधि कानुनी फर्म इकिगा लका संस्थापक अनिरुद्ध रास्तोगीले भने, ‘सरकारलाई थाहै छ कहाँ कसरी कस्तो गर्ने भन्ने । ब्लकचेन र अन्य प्रविधिमा विश्वले गरेको प्रगतिबाट नअलग्गिने गरी सन्तुलित ठाउँमा बस्न चाहन्छ तर यसलाई लिएर भएका ध्यानाकर्षलाई भने सरकारले सम्बोधन गर्न चाहन्छ ।’

रास्तोगीका अनुसार असाधारणरुपमा लगाइएको क्रिप्टोसम्बन्धी उच्च कर छोटो अवधिका लागि हो र यसले लगानीकर्तालाई अवरोध गर्नसक्छ । कर लगाउने बताए पनि सरकारले यसलाई आर्थिक उत्पादनमूलक हिसाबले भने नलिएको उनको भनाइ छ । स्वपुँजीमा भारतले एक वर्षभन्दा कम अवधिमा सेयर बेच्दा छोटो अवधिका लागि १५ प्रतिशत र १ वर्षपछि बेच्दा १० प्रतिशत कर लगाउँछ ।

जे होस् सरकारले चाडै यसबारे स्पष्ट नीति लिने गुप्ताको आशा छ । युवा, डेभलपरको बढ्दो सहभागिताले आगामी १० वर्षभित्र भारत क्रिप्टो सुपरपावर बन्न सक्ने उनको भनाइ छ । ‘अहिले ठ्याक्कै अभाव भनेको स्पष्ट नियामकीय फ्रेमवर्कको हो’, उनले थपे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x