Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानका विश्वविद्यालयमा महिला अझै पनि प्रतिबन्धित

अफगानिस्तानका विश्वविद्यालयमा महिला अझै पनि प्रतिबन्धित


काबुल । अफगानिस्तानका विश्वविद्यालयहरू जाडो विदापछि सोमबारदेखि खुलेका छन्, तर तालिबान अधिकारीहरूले उच्च शिक्षामा महिलाहरूमाथि प्रतिबन्ध लगाएपछि पुरुषहरू मात्र कक्षामा फर्केका छन् ।

सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि महिलामाथि लगाइएको प्रतिबन्धमध्ये विश्वविद्यालयको प्रतिबन्ध पनि एक हो । ‘आफूहरू घरमै बस्नुपर्ने अवस्था र केटाहरूमात्र विश्वविद्यालय गएको देख्दा मन खिन्न हुन्छ’, मध्य प्रान्त घोरकी २२ वर्षीया रहेलाले भनिन् ।
उनले भनिन्, ‘यो बालिकाहरूविरुद्ध लैंगिक भेदभाव हो, किनकि इस्लाम धर्मले हामीलाई उच्च शिक्षा हासिल गर्न अनुमति दिन्छ । हामीलाई सिक्नबाट कसैले रोक्नु हुँदैन ।’

तालिवान सरकारले महिला विद्यार्थीहरूले कडा ड्रेस कोड र क्याम्पसभित्र र बाहिर पुरुष नातेदारको साथमा हुनुपर्ने आवश्यकतालाई बेवास्ता गरेको आरोप लगाउँदै छात्राहरूलाई विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।अधिकांश विश्वविद्यालयहरूले पहिले नै लैंगिक–पृथक् प्रवेश द्वार र कक्षाकोठाहरू सुरु गरिसकेका  साथै महिलाहरूलाई महिला प्रोफेसरहरू वा वृद्ध पुरुषहरूले मात्र पढाउन अनुमति दिएका थिए ।

अफगानिस्तानको सबैभन्दा ठूलो काबुल विश्वविद्यालयमा इञ्जिनियरिङका विद्यार्थी एजातुल्लाह नेजातीले यो महिलाको पढ्न पाउने मौलिक अधिकार भएको बताए । नेजातीले भने, ‘उनीहरू छुट्टाछुट्टै दिनमा कक्षामा उपस्थित भए पनि यो कुनै समस्या होइन । उनीहरूलाई शिक्षाको अधिकार छ र त्यो अधिकार उनीहरूलाई दिनुपर्छ ।’

हेरातमा पत्रकारितामा अध्ययनरत वहीदा दुर्रानीले गत वर्ष विश्वविद्यालयबाट वञ्चित हुनुअघि तालिबान सरकारले महिलाहरू अशिक्षित रहून् भन्ने चाहेको बताइन् ।  उनले भनिन्, ‘यदि अफगानी बालिका र महिलाहरू शिक्षित भए भने उनीहरूले इस्लाम र कुरानको शोषण गर्ने सरकारलाई कहिल्यै स्वीकार गर्ने छैनन् र उनीहरू आफ्नो अधिकारको पक्षमा उभिनेछन् भनी तालिवान सरकारको डराएको र महिलालाई शिक्षाबाट वञ्चित गर्न प्रतिबन्ध घोषणा गरेको छ ।’ रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया