Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएलन मस्कको यू–टर्न

एलन मस्कको यू–टर्न


टेक्सस । विज्ञापनका कट्टर विरोधी एलन मस्कले टेस्लाको विज्ञापन गर्ने बताएका छन् । मस्कको विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले इतिहासमै पहिलो पटक आफ्नो विज्ञापन गर्दैछ ।

यो कुरा मस्कले मंगलबार टेक्ससमा आयोजित वार्षिक साधारणसभामा सेयरधनीलाई बताएका हुन् । उनले विज्ञापन गरेर बिक्री बढाउन कोसिस गरिने र यसको नतिजा कस्तो आउँछ भनेर हेरिने बताएका छन् ।

मस्कले ट्विटर किनेपछि विज्ञापनबारे धारणा फेरिएको विश्लेषण गरिएको छ । किनभने मस्कले किन्नुभन्दा अगाडि ट्विटरको ९० प्रतिशत आम्दानी विज्ञापनबाटै हुन्थ्यो । यही कारण अहिले मस्कले पनि विज्ञापन आवश्यक भएको बताउन थालेका हुन् ।

सामाजिक सञ्जाल प्लेटफर्म विज्ञापनहरुमा अत्यधिक निर्भर रहने भएकाले उनले टेस्लाको विज्ञापन ट्विटरमा गर्न खोजेको देखिन्छ । उनले सभामा सबैले विज्ञापन गर्नुपर्ने धारणा राखेका छन् । उनको यो भनाइप्रति साधारणसभामा सहभागी सबै सकारात्मक देखिएका छन् ।

मस्कले आफू टेस्लाको सीईओको रुपमा रहिरहने बताए । मस्कले सभामा अन्य विषयवस्तु प्रस्तुत गर्नुभन्दा बढी विज्ञापनको कुरा गर्दा उत्साहित थिए ।

यसअघि मस्कले आफ्ना सवारीसाधनको माग धेरै रहेकोले विज्ञापनको आवश्यकता नरहेको बताउने गरेका थिए । उनले विज्ञापन गर्ने पैसा उत्पादन राम्रो बनाउन खर्च गर्ने बताउँदै आएका थिए । मस्कले बढ्दो प्रतिस्पर्धा र सुस्त अर्थतन्त्रले टेस्लालाई मूल्य घटाउन बाध्य बनाएको पनि बताए ।

चर्किँदै गएको प्रतिस्पर्धा, बढ्दो ब्याजदरलगायतका कारण टेस्लाले यस वर्ष सवारीसाधनको मूल्य घटाएको थियो । मूल्य घटाउनुपर्दा नाफा खुम्चिएको छ । तर पनि मस्कले आगामी वर्षभित्र थप दुई नयाँ उत्पादन ल्याउने घोषणा गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया