Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसेती नदीमा जथाभावि माछा मार्न नपाइने

सेती नदीमा जथाभावि माछा मार्न नपाइने


आशिषबहादुर सिंह
बझाङ, जेठ १८
सेती नदीमा जथाभावि माछा मार्न नपाइने भएको छ । जलचर संरक्षण गर्ने भन्दै बझाङको सुवेडामा जथाभावि माछा मार्न प्रतिबन्ध लगाइएको हो । अत्यधिक माछा मार्दा माछाको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै सुवेडाका स्थानीयले हप्तामा दुई दिन माछा मार्न नपाइने निर्णय गरेका छन् । जयपृथ्वी नगरपालिका वडा नं ७ का करिब ८५ घरधुरी सदस्य रहेको तमैल कचाला धौलाबगर जलचर संरक्षण समूहले आफ्नो भूगोलभित्र पर्ने (धौलाबगरदेखि तमैलसम्म) सेती नदी र कचाली खोलामा सोमबार र बिहीबारका दिन माछा मार्न बन्देज लगाएको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ संक्रमणको कारण धेरै मानिसहरू गाउँ फर्किएको र उनीहरूले दैनिक नदी खोलामा गएर माछा मार्दा जलीय जैविक विविधता नै विग्रने अवस्था हुन थालेपछि माछा मार्न प्रतिबन्ध लगाएको यहाँका स्थानीयले बताएका छन् । लकडाउन भएसँगै माछा मार्नेहरूको संख्यामा पहिलेको तुलनामा अत्याधिक वृद्धि भएपछि हप्तामा दुई दिन भए पनि नदी खोलालाई विश्राम दिने सोचका साथ यो निर्णय गरिएको समूहकी सचिव पूर्णिमा विकले बताइन् । ‘अहिले बाहिर भएका मानिसहरू सबै घर आएका छन् । लकडाउनले गर्दा धेरै जसो युवाहरूको काम माछा मारेर दिन काट्ने भएको छ’ उनले भनिन् ‘यति धेरै मान्छेले लगातार माछा मार्दा माछा नै सकिने चिन्ता भयो । हप्तामा दुई दिन भए पनि बन्द गर्न सके बीउ त बचाउन सकिएला भनेर यो निर्णय गरेका हौं ।’

यूएसएड पानी कार्यक्रमको सहयोगमा गठन गरिएको उक्त समूहले निर्णय कार्यान्वयन गर्नका लागि समूहका सबै घरपरिवारमा सूचना जारी गरिएको अध्यक्ष सुरेन्द्र सिंहले बताए । उनले समूहभन्दा बाहिरका मानिसहरू आएर माछा मार्ने काम गर्नसक्ने भएकाले हप्ताको दुई दिन समुदायले गस्ती गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । ‘उसै पनि सेतीमा पाइने धेरै प्रजातीका माछा लोप भैसकेका छन्’ उनले भने ‘यो लकडाउनले गर्दा हुलका हुल मानिसहरू नदीमा जान थालेपछि भएका माछा पनि सखाप हुने डरले प्रतिबन्ध लगाएका हौँ ।’ समूहको निर्णय उलंघन गर्नेलाई जयपृथ्वी नगरपालिकाको जलचर तथा जैविक विविधता संरक्षण ऐन २०७६ ले दिएको अधिकार प्रयोग गरेर कारबाही गरिने उनले बताए । यसअघि पानी परियोजनाका विज्ञहरूको सहयोगमा जयपृथ्वी नगरपालिकाले नगर क्षेत्रभित्रका नदी खोलामा रहेको जलीय जैविक विविधता संरक्षण गर्नका लागि जलीय जैविक विविधता तथा जलचर संरक्षण ऐन २०७६ बनाएको थियो । यूएसएड पानी परियोजनालले ऐन कार्यान्वयनको लागि समुदायको क्षमता विकासका लागि पनि सहयोग गरिरहेको जयपृथ्वी नगरपालिकाले जनाएको छ ।

यस ऐनले समुदायको सहभागितामा जलचरहरूको संरक्षण गर्ने र व्यवस्थापन गर्ने अधिकार समुदायलाई दिएकोले उनीहरूले आफ्नो क्षेत्रमा पर्ने नदी खण्ड व्यवस्थापनको गर्न नियम बनाउन पाउने नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मंगलबहादुर शाहीले बताए । ‘समुदायले परम्परादेखि उपयोग गर्दै आएको नदी खण्डको व्यवस्थापनको जिम्मा पनि समुदायकै हुने गरी ऐन बनाएका छौँ’ उनले भने, ‘सुवेडाका स्थानीयले यो ऐनले दिएको अधिकार प्रयोग गरेर उक्त निर्णय गरेका हुन् ।’ उनले नगर क्षेत्रभित्र रहेका सबै समुदायमा जलचर संरक्षण समूह गठन गरेर संरक्षणको काम गरिने बताए ।

बझाङको सेती नदीमा पाइने असला माछा स्वादका हिसाबले देशै भर प्रख्यात भए पनि पछिल्लो समय यसको संख्या निकै घटेको मछवारहरूले बताउने गरेका छन् । यसबाहेक सेती र यसका सहायक नदीहरूमा १३ प्रकारका माछा पाइने यूएसएड पानी परियोजनाको अध्ययनले देखाएको छ । अव्यवस्थित तरिकाले भैरहेका विकास निर्माण र मानवीय गतिविधिका कारण सेतीका माछालाई खतरा उत्पन्न भैरहेको बेला सुवेडाका स्थानीयले थालेको यो प्रयासको स्थानीयस्तरमा प्रसंशा हुन थालेको छ ।

सानो आँखा भएका जालको प्रयोग, करेन्ट लगाउने, विष्फोटक पदार्थको प्रयोग गर्ने गरेका कारण साना माछाहरू पनि मर्ने भएकोले माछाको संख्या घट्दै गएको बेला यो निर्णय गरेर राम्रो गरेको सुवेडाका कृण्णबहादुर थापाले बताए । यस्तै खिरोगडेरोलगायतका जैविक विषादी हालेर माछा मार्ने, घनको प्रयोग गर्ने, खोला नै अर्काे तिर फर्काउने गरेर दुवाली थुन्ने गरेको कारण जलचरहरूको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकोले विनासकारी तरीकाले माछा मार्न रोक्नतर्फ पनि समुदायको ध्यान जानु पर्ने उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया