Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगाउँ–गाउँमा सिंहदरबार : जनता झनै दुःखी

गाउँ–गाउँमा सिंहदरबार : जनता झनै दुःखी


सन्तोष पौडेल
बीरगञ्ज, असार ३१
देशमा संघीयता आउँदा जनताको घर–आँगनमा सिंहदरबार जाँदैछ भन्ने अभिव्यक्ति एकताका खुबै चर्चामा थियो । आफ्नै सत्ता, आफ्नै सरकार, आफ्नै नेता, आफ्नै विकास भनेर विश्लेषण गरिन्थ्यो । तर ती सबै हावादारी गफ मात्र थियो भन्ने साबित भएको छ । पर्साको ग्रामीण भेगलाई वीरगञ्जसँग जोड्ने वीरगञ्ज–पोखरिया–हरिहरपुर सडकको अहिले बेहाल छ । पोखरियादेखि लंगडीसम्म ५ किलोमिटर सडक पूर्ण हिलाम्मे बन्दा वीरगञ्जबाट गाउँ र गाउँ क्षेत्रबाट वीरगञ्ज एम्बुलेन्स समेत हिँड्न सक्ने अवस्था छैन । दैनिक मोटरसाइकल, जिप, सुमो र ट्र्याक्टर हिलाम्मे बाटोमा फस्ने गरेका छन् भने हजारौं मानिस आवतजावतमा उत्पन्न समस्याले आजित बनेका छन् । ‘

पोखरियाबाट औषधि किनेर हरिहरपुर फर्किँदै छु, बाटोको अवस्था देखेर मन रोइरहेको छ’, बाटोमा भेटिएका हरिहरपुरका किशोरी महतोले भने, ‘भोट माग्ने बेलामा नेताहरू घर–घर पुगेर सहयोग गर्छु भन्छन्, अहिले जनताको दुःख हेर्ने कोही छैन, माननीयहरूलाई लाज लाग्दैन, जनतालाई दुःखमा पारेर ?’ उनले पर्सामा ठेकेदार नै नेता बनेपछि जनताले यस्तो दुर्दशा भोग्नुपरेको गुनासो गरे । ‘जिल्लाका प्रदेश सांसदको ठेकेदार कम्पनीले सडक निर्माणमा चरम लापरबाही गरेको छ’, बसन्तपुरका रामबालक साहले भने, ‘गाउँमा कोही बिरामी भयो भने कहाँ कसरी लैजाने, सरकारले चाँडै सडक बनाइदिनुप-यो ।’

दुई सातादेखि सडक बिगँ्रदा दर्जनौं गाडी हिलोमा फसेर खराब भएको छ । प्रदेश २ भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब १४ करोडको बजेटमा १३ किलोमिटर लामो सडकमा माटो पुरेर पोखरियादेखि हरिहरपुरसम्म ७ किलोमिटर चौडा कालोपत्रे सडक निर्माण गर्नुपर्ने छ भने हरिहरपुरदेखि मिर्जापुरसम्म साढे ५ मिटर कालोपत्रे गर्नुपर्ने गरि ठेकेदार कम्पनीले सम्झौता गरेको छ ।

रोशन/रन्जन/सागर जेभी कम्पनीले उक्त सडक निर्माण गर्न ठेक्का पाएको थियो । ठेकेदार कम्पनीका अनुसार हालसम्म ३५ प्रतिशत काम भएको जनाएको छ । आगामी एक वर्षमा काम सकाउने लक्ष्य रहेको कम्पनीको दाबी छ । ‘गत असारमा ठेक्का लाग्यो, कात्तिकसम्म केही काम भएन । फागुनदेखि कोरोना महामारी सुरू भयो, जसले गर्दा काममा ढिलाइ भएको हो’, ठेकेदार कम्पनीका प्रतिनिधिले भने, ‘जबसम्म घाम लाग्दैन, बाटो बनाउन सकिँदैन ।’ सोही ठेकेदार कम्पनीले पर्साको दक्षिणी सडक सबैठवा–भिस्वा–जयमंलापुर–मिर्जापुर १० किलोमिटर लामो सडक अलपत्र पारेर जनतालाई दुःख दिएको नेपाली कांग्रेस पर्साका सदस्य नवीन सिंहको आरोप छ ।

उनले ठेकेदार सांसदले आफ्नै निर्वाचन क्षेत्रमा बजेटको दुरूपयोग गरी प्रभावकारी काम नगर्दा जनताले सास्ती खेप्नुपरेको आरोप लगाए । सबैठवा–भिस्वा–मिर्जापुर सडकमा साढे ५ मिटर चौडा कालोपत्रे गर्न ११ करोडमा ठेक्का भएको छ । पोखरिया–मिर्जापुर सडक २२ करोड र सबैठवा–मिर्जापुर १८ करोड लागतको सडक भए पनि ३५ प्रतिशत घटेर ठेकेदार कम्पनीले ठेक्का सकार गरेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x